दमक/राप्रपा दमक नगर समितिले विभिन्न बेथिति हटाउन माग गर्दै झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नगरपालिकाको कार्यकक्षमा नगर प्रमुख ओलीलाई सो समितिका अध्यक्ष हेमराज सुवेदीले राप्रपाका प्रदेश समिति अध्यक्ष राम थापा, झापा क्षेत्र नम्वर ख का अध्यक्ष यिशुराज दाहाल, नगर सचिव अर्जुनकृष्ण रेग्मी, राप्रपा झापा क्षेत्र नम्वर ख का सचिव नेत्र चम्लगाई, दमक नगर समिति राजु बुढाथोकी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य हरि तिवारी लगायत राप्रपाका नेता कार्यकर्ताहरुको टोलीसहित सो ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा नगरपालिका मातहतको दमक अस्पतालमा स्वास्थ्य बिमा गरेका विरामीहरुलाई अन्य अस्पतालमा रिफर गर्न छोडिएकोमा सो लाई खुला गर्नुपर्ने, कोरोनाको महामारीका बेला बजारमा बढेको महंगी र कालोबजारी नियन्त्रण गर्नुपर्ने, कोरोनाविरुद्धको खोप पारदर्शी ढंगबाट लगाउने व्यवस्था गर्नुपर्ने, एकपटक खोप लगाएकालाई फेरि दोश्रो पटकको खोपको व्यवस्था गर्नुपर्ने, व्यापारी व्यवसायीहरुबाट लिइने व्यावसायिक कर ५० प्रतिशत छुट गर्नुपर्ने, बाढीपहिरोबाट पीडित जनतालाई उद्धार, उपचार र राहतको व्यवस्था गर्नुपर्ने, सरकारी विद्यालयमा लिन थालिएको प्रवेश शुल्क लगायतका शुल्क हटाउनुपर्ने, वास्तविक सुकुमबासीहरुको पहिचान गरी जग्गाको स्वामित्वको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।