समाचार

कोरोनाबाट सुत्केरीको मृत्यु

दमक/ कोरोना संक्रमणबाट दमकस्थित लाइफलाइन अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । चुलाचुली–५ इलामकी ३१ वर्षीया महिलाको मंगलबार विहान उपचारका क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।
दमककै ओम मेची अस्पतालमा २५ दिन अघि बच्चा जन्माएकी उनीमा स्वास्थ्य समस्या देखिएपछि गत असार ३ गतेदेखि लाइफलाइन अस्पतालमा उपचाररत थिइन् । सुत्केरी भएको एकसातापछि जाँचका लागि जाँदा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले बच्चाको भने अहिलेसम्म कोरोना जाँच भएको नभएको बताए । पछिल्लो समयमा एन्टिजेनमार्फत् जाँच गराएर मात्र गर्भवती महिलाहरुको अस्पतालले सुत्केरी गराउँदै आएको छ ।
दमकमा नीजि स्तरमा लाइफलाइन अस्पतालले ३० बेड क्षमताको कोभिड उपचार केन्द्र सञ्चालन गरेको छ । यहाँ दमकसहित बाहिरी जिल्लाका बिरामीहरु पनि उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल डाइरेक्टर सूर्यनारायण साहले बताए । यसैबीच जिल्लामा कोरोना संक्रमणबाट सोमबार बेलुका अबेरसम्मको विवरण अनुसार ३४६ जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय झापाका विवरण अनुसार झापामा ५७ हजार ७ सय १८ जनाको पिसिआर जाँच गर्दा १३ हजार ५ सय ५७ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ ।
यसमा दोस्रो लहरमा ८ हजार ९ ३४ जनामा पिसिआर पोजेटिभ र २ हजार २२ जनामा एन्टिजेन गरी १० हजार सय ५६ जनामा कोरोना सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालयले उल्लेख गरेको छ । झापामा परीक्षण गरिएकाहरुमा कोरोना संक्रमणदर अहिले पनि उच्च छ । नियमित परीक्षणको नतिजा आँउदा परीक्षण गरिएकामध्ये ३० देखि ४० प्रतिशतसम्ममा कोरोना संक्रमण देखिएको पनि जनाइएको छ ।

Author

You may also like