समाचार

देशभर २७ प्रतिशत रोपाइँ

दमक/धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिए । उनले कर्णाली प्रदेशमा छिटो रोपाइँं थालिने भएका कारण पनि सबैभन्दा बढी रोपाइँ सकिएको जानकारी दिए ।
प्रमुख श्रेष्ठका अनुसार प्रदेश नं १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४९ हजार ६२३ हेक्टरमा धानबाली रोपिएको छ । यो धान रोपाइँ हुने कूल क्षेत्रफलमध्ये १७ दशमलव ९९ प्रतिशत रहेको छ । त्यस्तै प्रदेश नं २ मा १० दशमलव ५५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म यो प्रदेशमा ३८ हजार ५८६ हेक्टरमा मात्र धानबाली रोपाइँ सकिएको छ । वाग्मती प्रदेशको एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २१ दशमलव ०७ अर्थात् २४ हजार २८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।
यसैगरी गण्डकी प्रदेशमा १० लाख आठ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ दशमलव ३४ प्रतिशत अर्थात् १६ हजार ६१२ हेक्टरमा, लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ प्रतिशत अर्थात् एक लाख ३९ हजार ४५६ हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत अर्थात् २३ हजार ८५० हेक्टर क्षेत्रफलमा र सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८ दशमलव ३१ प्रतिशत अर्थात् ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको प्रमुख श्रेष्ठले जानकारी दिए । गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो ।
यसैबीच कृषि तथा पशुपंक्षी विकासमन्त्री बसन्तकुमार नेम्बाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् । मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्बाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशका समृद्धि हासिल हुने बताए । कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने उनको भनाइ छ ।

धान दिवसमा हिले दौड
भद्रपुर/ कृषि ज्ञान केन्द्र झापाले १८ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७८ को अवसरमा मंगलबार कचनकवल गाउँपालिका–१ मा हिले दौड प्रतियोगिता गराएको छ । दौड प्रतियोगितामा महिलातर्फ भूमिका गणेश प्रथम, संगीता गणेश दोस्रो, ललिता गणेश र रेणुका राजवंशी तेस्रो भएका थिए भने पुरुषतर्फ लक्ष्मण गणेश प्रथम, अजय गणेश दोस्रो र प्रद्वग गणेश तेस्रो भएका छन् । प्रथम र द्वितीय हुने महिला तथा पुरुषलाई स्प्रे ट्यांकी, प्राङ्गारिक मल, र तेस्रो हुनेहरुलाई प्लाष्टिकको त्रिपाल पुरस्कार स्वरुप दिइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताए ।
जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर १ का सांसद बसन्त बानियाँले सरकारले किसानलाई प्रोत्साहन गर्न र उत्पादन बृद्धिमा सहयोग पु¥याउन कृषि औजारहरु अनुदानमा दिइरहेको बताए । स्थानीय गणेश कृषक समूहको जग्गामा सामूहिक रोपाइँ गरिएको थियो । झापामा ८७ हजार ५०० हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये २० प्रतिशतमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले जानकारी दिए ।

Author

You may also like