समाचार

दमकमा १ अर्व ३८ करोडको बजेट प्रस्तुत

दमक/ झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व ३८ करोडको ४५ लाख ९९ हजार बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार शुरु भएको नवौं नगरसभामा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्  ।
बिहीबारदेखि सुरु नगरपालिकाको नवौँ नगरसभामा नगरपालिकाकी उपप्रमुख अधिकारीले पेश गरेको बजेटमा चालूतर्फ ७० करोड ५९ लाख ९९ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । यस्तै, पुजीँगततर्फ ६७ करोड ८६ लाख रुपैयाँ अनुमान गरिएको छ । दमक नगरपालिकाले आन्तरिक स्रोतबाट २८ करोड २३ लाख ६० हजार उठाउने प्रक्षेपण गरेको छ । यस्तै, दमक अस्पतालबाट ११ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । नगरले कोभिड १९ सँग लड्न स्थापना गरेको कोषमा रकम बढाउँदै क्वारेन्टाइन, आइसोलेशन निर्माणको कामलाई अझ व्यवस्थित बनाउँदै लैजाने जनाएको छ । यसको नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनका लागि बजेटको व्यवस्था गरिएको उपप्रमुख अधिकारीले त्यस अवसरमा जानकारी गराइन्  ।
नगरसभामा बोल्दै केही नगर सदस्यहरुले नगरमा भएको विकास निर्माणका कामको अनुगमन राम्रो नभएको र गुणस्तरमा कमजोर देखिएको, नगरका ढल व्यवस्थित नभएको लगायतका गुनासो गरेका थिए । नगरसभा सदस्य श्याम कार्कीले नगरपालिकाको बैठक भत्तालाई व्यवस्थित गर्न आग्रह गरे  । त्यसैगरी अर्का नगर सदस्य बुद्धिमान कार्कीले कोरोना नियन्त्रणका लागि भएको खर्च विवरण सार्वजनिक गर्न माग गरे । नगरसभा सदस्य नरेश सुनुवारले विपन्न र गरिब नागरिकको जीवनस्तर उकास्न कार्यक्रम ल्याउन आग्रह गरे  । नगर सदस्य कृतिका भट्टराईले नगरका ढल व्यवस्थित नभएको भन्दै तिनलाई व्यवस्थित बनाउनुपर्ने कुरामा जोड दिइन् ।

Author

You may also like