दमक/राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले विहीबार झापाको दमक नगरपालिकामा युवाका समस्या सम्बन्धी विभिन्न माग राख्दै तिनलाई पूरा गर्न नगर प्रमुख रोमनाथ ओलीको ध्यानाकर्षण गराएका छन् । देशभरिका स्थानीय तहमा यस्तो ध्यानाकर्षण गराउने कार्यक्रम अन्तर्गत दमकमा पनि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई आगामी आर्थिक वर्षको बजेटमा ती कुराहरु समेटन माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउन राष्ट्रिय युवा संघका दमक नगर कमिटीका अध्यक्ष तथा केन्द्रीय सदस्य राम पौडेल, अन्य केही केन्द्रीय सदस्यहरु र नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु नगरपालिका गएका थिए । उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा खासगरी युवाको स्वरोजगार, युवा सहभागिता र नेतृत्व विकासका लागि विभिन्न माग राखिएको छ । मागमा राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ का निर्देशक सिद्धान्त, रणनीति र योजनालाई आत्मसात गरी नगरको वार्षिक नीति तथा कार्यक्रम बनाउन पनि भनिएको छ । माग पत्रमा उद्यम गर्नका लागि आर्थिक तथा प्राविधिक रुपमा सहयोगको व्यवस्था मिलाउन, युवाहरुलाई व्यावसायिक कृषिः नगरको उत्पादन वृद्धि
दमक नपासँग…. भन्ने नारा अन्तर्गतमा गाईभैंसीपालन, बंगुरपालन, मौरीपालन, कुखुरापालन, तरकारी खेती लगायतका व्यवसायमा आर्थिक सहयोग गर्न, बैदेशिक रोजगारीबाट फर्किएकालाई व्यवसाय गर्ने उपयुक्त वातावरण मिलाउन, होम स्टे निर्माणका लागि अनुदानको व्यवस्था मिलाउन, लागुऔषध दुव्र्यसनमा फसेकालाई नगर स्तरीय सुधार केन्द्र स्थापना गर्न, सूचनाको हकसम्बन्धी तालिमको व्यवस्था मिलाउन, युवा रोजगार प्रवद्र्धन केन्द्र स्थापना गर्न, युवा आइटी पार्क स्थापना गर्न, लोपोन्मुख पेशा र सीपलाई प्रवद्र्धन गर्न, युवा प्रतिभा प्रोत्साहन कोष स्थापना गर्न, नगर स्तरीय युवा सम्मेलन तथा महोत्सव गर्न, एचआइभी एड्स रोगविरुद्ध सचेतना कार्यक्रम संचालन गर्न, युवा स्वयंसेवक कार्यक्रम प्रभावकारी बनाउन, सामुदायिक विद्यालयमा खेल प्रशिक्षकको व्यवस्था गर्न तथा प्रतिभावान खेलाडीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने कुरा उल्लेख गरिएको छ । यो ध्यानाकर्षण पत्रको बोधार्थ दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी पौडेल र प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिमिल्सिनालाई पनि उपलब्ध गराइएको युवा संघ दमकका अध्यक्ष पौडेलले जानकारी गराए ।