समाचार

सार्वजनिक जग्गा खोज्दै स्थानीय सरकार

कमल/ सार्वजनिक जमिन अतिक्रमण भइरहेका बेला झापाको कलम गाउँपालिकाले भने यस्ता जमिनको खोजी र संरक्षण कार्यलाई अघि बढाएको छ ।

सर्वदलीय समिति बनाएर हालै रतुवा खोला किनारामा रहेको जमिनको अवलोकन गरिएको हो । ती सार्वजनिक जग्गालाई उपयोगमा ल्याउन गाँउपालिकाले व्यवस्थित तटबन्धन गरी ग्रीनबेल्ट बनाउने योजना बनाएको गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

यसैक्रममा कमल गाँउपालिका वडा नम्बर ५ स्थित पाडाजुँगी चौक पश्चिम रतुवा खोला नजिकका बस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको छ । रतुवा खोलाको बहाब पश्चिमतर्फ मोडिएपछि कमल गाँउपालिका तर्फका सार्वजनिक जग्गामा अनाधिकृत रुपमा जग्गा विक्री गर्ने कार्य भएको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न पहल थालिएको कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले जानकारी दिए ।

वडाको पहलमा सर्वदलीय टोलीले त्यस क्षेत्रको स्थलगत अनुगमन गरी जग्गाको प्रारम्भिक नापजाच समेत गरिएको उनले बताए । उनले त्यस क्षेत्रका सार्वजनिक जग्गाको पहिचान गरी अतिक्रमण रोक्न आवश्यक प्रक्रिया अगाडि बढाउने बताएका छन् । रतुवा खोलाको क्षेत्रबाहेक पूर्वतर्फका सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको अनुगमनमा देखिएको हो । खोलाले छाडेको कमलतर्फ मात्र करिब ६० बिगाहा बढी जमिन भएको अनुमान छ ।

Author

You may also like