समाचार

वर्षा र गर्मीसँगै सर्पको विगविगी

दमक। वर्षा र गर्मी बढेसंगै झापामा सर्पको विगविगी बढेको छ । आइतबार मात्र सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीलाई विषालु सर्पले डसेको छ । सर्पको डसाइबाट घाइते भएका सशस्त्र प्रहरी जवान २२ वर्षीय विवेक रजतको सर्पदंश उपचार केन्द्र चाराआलीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।
दक्षिणी झापाको कचनकवल गाउँपालिका ४ स्थित बयरवारिमा सीमा सुरक्षामा खटिएका जवान रजतलाई आइतबार बिहान ३ बजे विषालु सर्पले डसेको थियो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट केचना मातहत ११७÷२४ नम्बरको सीमा पिलर सुरक्षाका लागि बनाइएको फरवार्ड पोस्टमा ती जवान खटिएका थिए । उनलाई सर्पले देब्रे कानमा डसेको बताइएको छ । सर्पको डसाइबाट घाइते भएका उनलाई तत्काल सशस्त्र प्रहरीकै गाडीमा राखेर उपचारका लागि सर्पदंश उपचार केन्द्र चाराआली लगिएको बताइएको छ । उनको अवस्थामा खतरामुक्त रहेको एसपी पाण्डेको भनाइ छ । मनसुन सुरु भएलगत्तै दक्षिणी झापाको कचनकवलमा सर्पको बिगबिगी बढ्ने गरेको छ । कचनकवलमा सर्पदंश उपचार केन्द्र नहुँदा सर्पको डसाइबाट हरेक वर्ष स्थानीयले ज्यान गुमाउँदै आएका छन् । बनियानीमा मात्र होइन, यतिबेला जिल्लाका विभिन्न ठाउँ खासगरी ग्रामीण भेगमा गोमन, हरेउ, धामन लगायतका सर्पहरु जमिनको सतहबाहिर देखिन थालेका छन् ।
बनियानीमै उपचारको व्यवस्था
यसैबीच झापाको कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अनुमति दिएसंगै कचनकवलको बनियानीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सर्पदंश उपचार केन्द्र संचालनमा आउने भएको हो । आगामी असार ३ गते निवर्तमान संघीय सांसद् राजेन्द्र लिङ्देनले केन्द्रको विधिवत उद्घाटन गरेपछि उपचार सुरु गरिने गाउँपालिका अध्यक्ष आन्जर आलमले बताए । यो संगै झापामा सर्पदंश उपचार केन्द्रको संख्या तीन पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले जानकारी दिए । विषालु सर्पको डसाईबाट वर्षेनी धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था भएका कारण सो दक्षिण झापाका बासिन्दाले विगत लामो समयदेखि स्थानीय क्षेत्रमै सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए ।
महाशाखाले चार वर्षका लागि अनुमति प्रमाणपत्र जारी गरेको छ । स्वास्थ्य विभागले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई परिपत्र गरी कचनकबलको सर्पदंश उपचार केन्द्रलाई आवश्यकता अनुसार एन्टी स्नेक भेनम उपलब्ध गराउन निर्देशन दिएको सो क्षेत्रका प्रदेश सांसद् बसन्त बानियाँले बताए । स्वास्थ्य मन्त्रालयले प्रदेश नं. १ कै मोरङको केराबारी गाउँपालिकाको कालापानी सर्पदंश उपचार केन्द्र र प्रदेश नं. २ सप्तरीको कञ्चनरुप नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत सर्पदंश उपचारको अनुमति प्रदान गरेको छ । झापा मुलुककै सर्पदंशका बढी घटना हुने जिल्ला हो । हाल झापाको चारआलीमा नेपाली सेनाको मातहतमा र दमकमा नेपाल रेडक्रस सोसाईटीले सर्पदंश उपचार केन्द्र संचालन गर्दै आएका छन् । यो संगै झापामा सर्पदंश उपचार केन्द्रको संख्या तीन पुगेको छ ।
‘‘कचनकबलबासीको लामो समयदेखिको चाहनाको रुपमा रहेको सर्पदंश उपचार केन्द्र सञ्चालन स्वीकृति प्राप्त भएको समाचारले असाध्य खुशी तुल्याएको छ,’’ झापा क्षेत्र नं. ३ का निवत्र्तमान संघीय सांसद् राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्–‘‘यसका लागि प्रयत्न गर्ने सबैलाई धन्यवाद ।’’ चालु आर्थिक वर्षमा गाउँपालिकाले सर्पदंश उपचारका लागि रु. ७ लाख बजेटको व्यवस्था गरेको थियो । सर्पदंश उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रकै २ जना स्वास्थ्यकर्मीलाई विशेष तालिम प्रदान गरिएको र एक जना एमबीबीएस तहका चिकित्सक समेत नियमित उपलब्ध हुने उनले जानकारी दिए । हाल प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीका लागि अक्सिजनको सुविधा भएपनि भेन्टिलेटरको भने अभाव छ ।

Author

You may also like