समाचार

गौरीगञ्ज सीमा नाका बन्द

गौरीगञ्ज, मुलुकभर दोस्रो चरणको कोरोना भाइरस संक्रमणको जोखिम फैलिन थालेपछि झापाको गौरीगञ्ज गाउँपालिकाभित्र रहेका सीमा नाकाबाट मानिसको आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ ।
गौरीगञ्ज गाउँपालिकामा मंगलबार बसेको गाउँपालिका स्तरीय सिसिएमसीको बैठकले नागरिकलाई भाइरसको जोखिमबाट सुरक्षित राख्न सीमानाकाबाट हुने आवतजावतमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।
छिमेकी मित्रराष्ट्र भारतमा कोरोना भाइरसको जोखिम बढेकाले सीमानाकाबाट आवतजावत बढेमा नेपालमा पनि संक्रमण बढ्न सक्ने खतरा बढेकाले सीमानाका बन्द गर्न सुझाव दिइएको थियो ।
बुधबारको बैठकले दक्षिणी क्षेत्रमा भारतसँग खुला सिमाना रहेको र गौरीगञ्ज गाउँपालिका भारतको बिहारसँग जोडिएकाले गौरीगञ्ज गाउँपालिकाका सबै नाका बन्द गर्न जिल्ला प्रशासन कार्यालय झापालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
सिसिएमसीका संयोजक तथा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नागरिक सचेत भएमा भाइरसको संक्रमणबाट बच्न सकिने सबैलाई जानकारी गराउने निर्णय गरेको छ । कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन सचेतनामूलक कार्यक्रम गर्ने, विज्ञापन तथा माइकिङ गर्ने, मास्क लगाउन, साबुनपानीले हात धुनका साथै सबै कार्यालयमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न लगाउने, सबै बिद्यालयमा स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न लगाउने लगायतका निर्णय गरिएको छ ।
सिसिएमसीको बैठकले हाटबजारबाट हुन सक्ने सम्भाबित जोखिमलाई मध्यनजर राख्दै हाटबजारमा
गौरीगञ्ज….सामाजिक दूरी कायम गर्न लगाई सबै पसलमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न लगाउने पनि निर्णय गरेको छ । होटल तथा रेस्टुरेन्ट लगायतका सबै व्यवसाय राति ८ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णयसमेत गरिएको छ । बैठकले सीमा क्षेत्रको आवश्यक पर्ने स्थानमा अस्थायी सुरक्षा पोस्टहरु थप गरी व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ ।
गौरीगञ्ज गाउँपालिकाभित्र मुख्य नाका दुईवटा रहे पनि नेपाल–भारत आवतजावत गर्ने ठूलासाना गरी १७ वटा सडक छन् । मुख्य नाकासहित अन्य सानातिना सडकबाट पनि मानिसहरुको आवतजावत हुने गरेको छ । विशेषगरी व्यापारीहरुले मुख्य नाकाभन्दा अन्य सानातिना सडक प्रयोग गर्ने गरेका छन् ।
भारतीय क्षेत्रमा भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको समयमा नेपाल–भारत आवतजावत गर्दा नेपालमा पनि भाइरसको संक्रमण फैलिन सक्ने गौरीगञ्ज गाउँपालिकाको सिसिएमसी बैठकले ठहर गरेको छ । सीमानाकामा कडाइका साथ रोक लगाउन सकेमा र नागरिकलाई सचेत गराउन सकेमा संक्रमणबाट बच्न सकिने गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराए ।

Author

You may also like