दमक/ देशभरमा झण्डै ५ हजार सहकारी संस्था गायब भएको एउटा सरकारी प्रतिवेदनले देखाएको छ ।
सहकारी विभागले प्रकाशन गरेको प्रतिवेदन अनुसार देशभर अहिले २९ हजार ८ सय ८६ वटा सहकारी संस्था छन् ।
केही समय अघिसम्म सहकारी विभागले नै देशभर सहकारीको सङ्ख्या ३४ हजार ८ सय ३७ रहेको बताउँदै आएको थियो । उसो भए कहाँ हराए झण्डै ५ हजार सहकारी संस्था ?
पछिल्लो प्रतिवेदन अनुसार ४ हजार ९ सय ५१ सहकारी संस्था गायब देखिन्छ ।
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले केही सहकारी निस्क्रिय र केही मर्जरमा गएकाले सहकारीको संख्या घटेको बताए ।
यद्यपि, विभागका अर्का एक अधिकारीका अनुसार यस अघि गरिएको तथ्याङ्क संकलनमा नै त्रुटि भएकाले बढी सङ्ख्या देखाएको बताउँछन् ।
पछिल्लो तथ्याङ्क अनुसार मुलुकभर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थामध्ये सङ्घीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् ।
सहकारी संघसंस्थामा आवद्ध कूल सदस्य सङ्ख्या ७३ लाख ७ हजार ४ सय ६२ छन ।
कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् ।
पुरुष सदस्य सङ्ख्याको तुलनामा महिला सदस्य सङ्ख्या १२५ बढी हो ।
सहकारीहरुले बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ र ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ गरेका छन् ।
प्रदेश १ मा ४ हजार ७ सय ३७ सहकारी संस्था रहेका छन् ।
ती सहकारीहरुले कुल बचत संकलन ४१ अर्ब २१ करोड ४२ हजार ८ सय ९ रुपियाँ र कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख १५ हजार १ सय ७ रुपियाँ गरेका छन् ।