घटस्थापनाको प्रारम्भसँगै नेपालीका घरघरमा दशैं भित्रिसकेको छ ।
कोरोना भाइरसको प्रकोपका बीच सतर्कता अपनाउनुपर्ने भएका कारण विगतमा जस्तो शक्ति पीठहरुमा भव्य पुजाआजा, शुभकामना आदान–प्रदान जस्ता कार्यहरु गर्न पनि गाह्रो छ ।
स्थानीय प्रशसनले पनि भीडभाड गरेर दशैंका कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
यस्तो अवस्थामा दशैं को कसरी मनाउँदैछन् ? केही सामाजिक व्यक्तित्वहरुको धारणा यहाँ प्रस्तुत गरिएको छ ।

प्रदीप नेपाल
(केन्द्रीय नेता, नेकपा एवं साहित्यकार)
म पुजाआजामा भन्दा पनि कर्ममा शक्ति हुन्छ भन्ने कुरामा विश्वास गर्ने मान्छे हो ।
पुजा आजा र आराधनामा म विश्वास गर्दिन र विगतमा पनि गर्दिनँथे । केटाकेटी हुँदा नयाँ लुगा लगाउन पाउँदा खुशी होइन्थ्यो ।
लिङ्गे पिङ, रोटेपिङ खेल्न पाउँदा आनन्द आउँथ्यो । टीकाको दिन घरमा टीका लगाएर मावला गोगनेतिर गइन्थ्यो टीका लगाउन ।
पछि भूमिगतकाल पार गरेर काठमाडौं बस्न थालेपछि आफूभन्दा मान्यजन दाजुहरुकहाँ टीका लगाउन जाने चलन थियो ।
यसपाली ठूल्दाजु कहाँ टीका लगाउन जाने बाहेक अरु कुनै काम गरिँदैन होला ।
कुमार खतिवडा
(सहसचिव, नेपाल शिक्षक संघ झापा)
कोरोना महामारीका बीचमा घर परिवारका बीचमै रमाइलो गरेर मनाउने योजना छ ।
पहिले सहज वातावरण हुँदा साथीभाइहरुसँग रमाइलो गर्ने, आफन्त र मान्यजनकहाँ टीका लगाउन जाने गरिन्थ्यो, यसपाली त्यस्तो अवस्था छैन ।
किनमेलमा पनि यसपाली त्यति ध्यान दिइएन ।
रेवतीरमण खनाल
(अध्यक्ष, नागरिक टिभी, काठमाडौं )
अघिल्ला वर्षहरुमा नयाँ कपाड, सामग्रीहरु किनमेल गरिन्थ्यो, अरुबेला काममा व्यस्त हुने भएकाले दशैंमा आफन्तहरुसँग भेटघाट, टीकाग्रहण गरेर मनाइन्थ्यो ।
तर यसपाली कोरोना महामारीका कारण मातापिता कहाँ आशिर्वाद लिन जानु बाहेक अरु कुनै कार्यक्रम छैन ।
यस्तो असहज परिस्थितिमा दशैंको नाममा खर्च गर्नुभन्दा अप्ठ्यारोमा परेका कसैलाई सहयोग गर्ने विचार गरेको छु ।
यसपाली गौरादह कोहवराकै घरमा दशैं मनाउने कार्यक्रम छ ।
पिताबाट आशिर्वाद ग्रहण गर्दै घरमै उब्जिएका र उपलब्ध सामग्रीहरुबाट दशैं समाजवादी ढंगले सामान्य किसिमले मनाउने कार्यक्रम छ ।
कोरोना प्रकोपको अन्त्य भएपछि आनन्दले मज्जाले दशैं मनाउँला, रमाउँला भन्ने पारिवारीक सल्लाह छ ।
प्रा डा. बद्रीविशाल पोखरेल
(लेखक)
कोरोनाको त्रासदीका कारण यसपालीको दशैंमा कुनै उत्साह छैन । विगतमा जस्तो उत्साह, उमंग छैन ।
कर्मकाण्डी रित पु¥याउने ढंगले घरमै बस्ने हो, घरकै मान्यजनबाट टीका ग्रहण गर्ने हो । सानालाई लगाइ दिने हो ।
घरमै ढुक्कले बसेर मनाउने हो ।
अमर विष्ट, (अध्यक्ष राप्रपा झापा)
यसपाली मुलुकको स्वास्थ्य अवस्थाको जटिल परिस्थितिलाई ख्याल गर्दै चाडपर्व मनाउनु पर्छ ।
सामान्य ढंगले आशिर्वाद ग्रहण÷प्रदान गरेर नै दशैं मनाउने कार्यक्रम छ ।
उद्धवप्रसाद राई
(अध्यक्ष, किरात राई दुङ्माली भाषा संस्कृति संरक्षण मञ्च झापा एवम् वडा सदस्य दमक–८ झापा)
पहिला जस्तो छैन यसपालीको दशैं, चहलपहल घटेको छ ।
सामाजिक, स्वास्थ्य सुरक्षा अपनाउँदै सामाजिक दूरी कायम राख्दै, भरसक बाहिर ननिस्कएरै दशैं मनाउन सबै वडावासीहरुलाई अनुरोध पनि गर्न चाहन्छु ।
घर परिवारको कार्यक्रम छ हाम्रो पनि । मेरो यही पत्रिका मार्फत् दशैंको शुभकामना छ ।
परम्परादेखिको सांस्कृतिक राष्ट्रिय पर्व मनाउनु जरुरी त छ तर सतर्कता अपनाएर मात्र भन्न चाहन्छु ।
उद्धवप्रसाद दाहाल
(अध्यक्ष ः नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन दमक इकाई समिति)
स्वास्थ्य संवेदनशीलतालाई ख्याल राख्दै कार्यालयहरु बन्द रहेको अवस्था भएकाले गाउँघरमै आनन्दले दशैं मनाउने योजना छ ।
कोरोनाले अर्थ व्यवस्थामा पनि प्रतिकुल प्रभाव पारेको छ ।
व्यवसायमा मन्दी छाएको र कोरोनाको संक्रमण रहेकाले यो दशैंमा त्यति उमंग छैन ।