दमक: दमक नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई नागरिकको जीवनस्तर र समग्र विकासको महत्वपूर्ण सूचकका रूपमा अघि बढाउँदै सेवा विस्तार, प्रविधिको प्रयोग र रोग नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले गत आर्थिक वर्षका स्वास्थ्य कार्यक्रमको समीक्षा गर्दै आगामी वर्ष मानसिक स्वास्थ्य, डेंगी नियन्त्रण, मातृ तथा बाल स्वास्थ्य र नसर्ने रोगको परीक्षणलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको हो ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले स्वास्थ्य सेवा नागरिकको पहुँचमा पु¥याउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दास, वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत यज्ञराज निरौला, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्षहरू, जनप्रतिनिधि, दमक अस्पतालका पदाधिकारी, चिकित्सकहरु, स्वास्थ्य स्वयंसेविकाहरु तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिको बाक्लो सहभागिता रहेको थियो ।
स्वास्थ्य शाखा प्रमुख ब्रजेशकुमार मेहताले प्रस्तुत गरेको विवरणअनुसार दमक अस्पतालले न्यूनतम् सेवा मापदण्ड (एमएसएस) मा ८४ प्रतिशत उपलब्धि हासिल गरेको छ । जसले कोशी प्रदेशमै दमक अस्पताललाई अब्बल श्रेणीमा उभ्याएको छ । प्रविधिका लागि बाहिर जान नपर्ने गरी नगर अस्पताललाई व्यवस्थित बनाइएको छ ।
नगरपालिकाका सबै आधारभूत स्वास्थ्य केन्द्रलाई प्रविधिसँग जोडिएको छ । ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई तीन वर्षदेखि घरदैलोमै स्वास्थ्य सेवा दिइँदै आएको छ । पाँचवटा स्वास्थ्य संस्थाबाट निःशुल्क प्रयोगशाला सेवा सुरु भएको र बाँकी केन्द्रमा समेत सेवा विस्तारको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य सूचकमा नियमित खोप कार्यक्रम प्रभावकारी देखिएको छ । दुई वर्षमुनिका बालबालिकाको नियमित खोपको पहुँच ९५ प्रतिशतभन्दा माथि पुगेको छ भने नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीलाई दिइने एचपीभी खोपसमेत लक्षित समूहका ९९ प्रतिशतभन्दा बढीमा पुगेको छ ।
तर मानसिक स्वास्थ्यका बिरामीको संख्या भने निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ३ हजार २३६ मानसिक स्वास्थ्यसम्बन्धी केस रहेकामा २०८१/८२ मा ५ हजार ९०१ र २०८२/८३ मा ७ हजार १७३ पुगेका छन् । डिप्रेसनका बिरामी २०१ बाट बढेर १ हजार ५६२ पुगेका छन् । डेंगीका बिरामीसमेत पछिल्लो वर्ष २८ पुगेका छन् ।
नगरपालिकाले आगामी वर्ष विद्यालयमा दाँत तथा आँखा परीक्षण, नसर्ने रोगको अभियान, पोषण परीक्षण, कुपोषण व्यवस्थापन, क्षयरोगमुक्त नगरपालिका अभियान, स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण, ज्येष्ठ नागरिक स्वास्थ्य शिविर र मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । साथै निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाको दर्ता तथा नियमन, स्वास्थ्य संस्थामा प्रयोगशाला विस्तार र नागरिक आरोग्य सेवा केन्द्रमार्फत थप सेवा सञ्चालन गर्ने योजना छ ।
संघीय बजेटतर्फ १२ करोड ६३ लाख रुपैयाँमध्ये ५४ प्रतिशत भौतिक र ४६.०८ प्रतिशत वित्तीय प्रगति भएको छ । नगरपालिकातर्फ १ करोड ४ लाख रुपैयाँ बजेटमा भौतिक प्रगति ५० प्रतिशतभन्दा कम र वित्तीय प्रगति करिब ४७ प्रतिशत रहेको समीक्षा कार्यक्रममा जानकारी दिइयो ।
जिल्ला प्रमुख प्रगति राम्रो देखिएको, खोपमा पनि ८५ प्रतिशतभन्दा माथि रहेको बताए । उनले स्थानीय तहमा प्रदेशकै नमूना अस्पतालका रुपमा दमक नगरअस्पताल उभिएको पनि बताए ।
दमक नगरप्रमुख राम थापाले नगर अस्पतालले पछिल्लो समयमा के कति प्रगति गर्न सकेको रहेछ र ति उपलब्धीलाई केन्द्रसँग कसरी जोड्ने र निजी क्षेत्रका स्वास्थ्य संस्थालाई दमक अस्पताल वा नगरसँग कसरी जोड्ने भनेर निजी क्षेत्रको बाक्लो उपस्थिति र जिल्ला स्वास्थ्य कार्यालयबाट प्रमुख दासको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको बताए । उनले जिल्ला स्वास्थ्य कार्यालयबाट वडा तहसम्मकै स्वास्थ्य संस्थाहरुको अनुगमन गरेर राम्रा उपलब्धीलाई माथिसम्म पु¥याउने र भएका कमीकमजोरीलाई सुझाव दिन आग्रह समेत गरे । कार्यक्रम दमक नपाका प्रशासकीय अधिकृत सुनिल निरौलाले मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका अग्नि चौलागाईले गरेका थिए ।