दमक । नेपालमा पहिलो पटक इतिहासकै ठूलो सम्पत्ति शुद्धिकरण मुद्दा विशेष अदालतमा दर्ता भएको छ । धितोपत्र, बीमा र बैंकिङ क्षेत्रसँग सम्बन्धित गैरकानुनी कारोबारमार्फत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । विभागले एकै पटक ३९ जना व्यवसायी, कम्पनी सञ्चालक, उच्चपदस्थ कर्मचारी तथा नियामक निकायका पूर्वअधिकारीलाई प्रतिवादी बनाउँदै १ खर्ब ६ अर्ब २ करोड ५० लाख १० हजार ७४७ रुपैयाँ बिगो दाबी गरेको यो नेपालको इतिहासमा पहिलो पटक हो ।
बिहीबार विशेष अदालतमा दायर गरिएको अभियोगपत्रमा प्रतिवादीहरूबाट बिगो बराबरको सम्पत्ति जफत गर्नुपर्ने, बिगोको दोब्बरसम्म जरिवाना र कानुनअनुसार कैद सजाय हुनुपर्ने माग गरिएको छ । धितोपत्र बजारमा चलखेल, बीमा कम्पनीहरूमा अनियमित लगानी, इन्साइडर कारोबार तथा वित्तीय प्रणालीको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरिएको विभागको निष्कर्ष छ ।
मुद्दाको केन्द्रमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटिज बैंकर, हिमालयन क्यापसर्भ, एचएलआई लार्ज क्याप फन्ड तथा हिमालयन इन्भेष्टमेन्ट बैंकरसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरू रहेका छन्। अनुसन्धानले यी संस्थासँग आबद्ध केही सञ्चालक, कर्मचारी र नियामक निकायका पदाधिकारीहरूको मिलेमतोमा वित्तीय अनियमितता भएको दाबी गरेको छ ।
सबैभन्दा बढी बिगो दाबी धितोपत्र बजारमा सेयर कर्नरिङ र मूल्य चलखेलमार्फत सम्पत्ति आर्जन गरेको आरोप लागेका व्यवसायी दीपक भट्टसँग गरिएको छ। हाल प्रहरी हिरासतमा रहेका भट्टविरुद्ध २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ । उनलाई गत चैतमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
भट्टका व्यावसायिक साझेदार तथा शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालमाथि २५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ । उनकी पत्नी सुभी अग्रवाल र छोरा कृषिभ अग्रवाललाई समेत प्रतिवादी बनाइएको छ । अनुसन्धानका क्रममा आफ्नै नाममा रहेको सेयर बिक्री गर्न नमिल्ने अवस्था भएपछि नक्कली अंश मुद्दामार्फत सेयर परिवारका सदस्यको नाममा सारेर कारोबार गरिएको आरोप लगाइएको छ ।
भृकुटी स्टक ब्रोकिङ कम्पनी र कम्पनीका अध्यक्ष सन्दीप चाचन अग्रवालविरुद्ध १४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ । त्यस्तै शंकर ग्रुपसँग आबद्ध साहिल अग्रवालविरुद्ध ६ अर्ब ४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ ।
मुद्दामा व्यवसायी ऋषिराज मोरमाथि हिमालयन रि–इन्स्योरेन्सको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको आरोप छ । उनीविरुद्ध ३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ । हिमालयन रि–इन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छासहित रोहित गुप्ता, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला, अमित मोर र राजीव मोरमाथि पनि संयुक्त रूपमा २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ ।
अन्य प्रतिवादीहरूमा मनोज कुमार लाल कर्ण, राजबहादुर शाह, सुमेर शमशेर जबरा, रितेश प्रधान, सुवास बहादुर श्रेष्ठ, उपासना पौडेल, मनिष कुमार, शिशिर गैह्रे, दीपक कुमार श्रेष्ठलगायत रहेका छन्। विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई समेत
सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोपसहित मुद्दा दायर गरिएको छ ।
यस मुद्दाले नियामक निकायलाई समेत छोएको छ । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षद्वय शरद ओझा र मदन दाहालमाथि पदमा रहँदा गैरकानुनी गतिविधिलाई सहयोग गरेको आरोप लगाउँदै ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार धितोपत्र बजार, बीमा क्षेत्र र वित्तीय संस्थाहरूको प्रयोग गरी योजनाबद्ध रूपमा सम्पत्ति आर्जन गरिएको प्रारम्भिक निष्कर्षपछि विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानले विभिन्न कम्पनी, व्यक्तिको बैंक कारोबार, सेयर खरिद–बिक्री, लगानी प्रवाह र सम्पत्ति विवरणको अध्ययन गरेको जनाएको छ ।