
दमक/ दमक नगरपालिकाको १८औँ नगरसभा सम्पन्न भएको छ। नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक ऐन तथा विनियोजन ऐन संशोधनसहित विभिन्न नीति, कार्यक्रम र प्रतिवेदन पारित गर्दै विकास, स्वास्थ्य, राजश्व र पूर्वाधारका क्षेत्रमा सुधारका योजनाहरू अघि बढाउने निर्णय गरेको छ । नगरपालिकाको प्राङ्गणमा शुक्रबार आयोजित सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईसहित जनप्रतिनिधि अनुपस्थित भएपछि बैठक केही समय रोकेर कार्यसमितिको बैठक बसी सम्बन्धित समितिका सदस्यहरूलाई प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी तोकिएपछि पुनः नगरसभा सञ्चालन भएको थियो ।
सभामा आर्थिक ऐन २०८२ र विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी विधेयक, दमक पर्या–पर्यटन प्रवद्र्धन तथा सञ्चालन विधेयक २०८२ पारित गरिएको थियो । सो नगरसभामा दर्जनबढी विभिन्न विषयगत समितिका प्रतिवेदनहरु प्रस्तुत गरी अनुमोदन गरिएको थियो ।
नगर प्रमुख थापाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवस्थाबारे जानकारी दिँदै हालसम्म कुल १ अर्ब ४७ करोड बजेटमध्ये अधिकांश योजना कार्यान्वयनको चरणमा रहेको बताए । उनका अनुसार हालसम्म संघीय सरकारबाट ३४ करोड ३८ लाख, प्रदेश सरकारबाट १ करोड ३८ लाख, राजश्व बाँडफाँडबाट १२ करोड ७५ लाख र आन्तरिक स्रोतबाट १२ करोड ८६ लाख गरी कुल ६४ करोड रुपैयाँ आम्दानी भएको छ । खर्चतर्फ चालु खर्च ३५ करोड ८९ लाख र पूँजीगत खर्च ११ करोड १७ लाख गरी कुल ४७ करोड ६ लाख खर्च भइसकेको छ ।
नगरसभामा बजेटको आकार परिवर्तन नगरी कार्यक्रमहरू संशोधन गर्ने प्रस्ताव पेश गरिएको थियो ।
यसअन्तर्गत सडक, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न योजनामा थप बजेट विनियोजन गरिएको छ । नारायण मार्ग, सताषि मार्ग, आधारभूत स्वास्थ्य केन्द्र मर्मत, मुक्तिघाट निर्माण, विद्युत् विस्तार, बसपार्क व्यवस्थापन, विद्यालय पूर्वाधार सुधार लगायतका योजना प्राथमिकतामा परेका छन् । योजना तथा पूर्वाधार शाखाका अनुसार नगरमा हाल ३ सय ३४ वटा योजना सञ्चालनमा रहेका छन्। उपभोक्ता समितिमार्फत ७० वटा योजना (जसमध्ये १७ सम्पन्न र ५३ सञ्चालनमा) तथा ठेक्का प्रणालीबाट ८२ वटा योजना (१९ सम्पन्न र ६३ सञ्चालनमा) कार्यान्वयन भइरहेको भौतिक पूर्वाधार समिति संयोजक भीम पौडेलले बताए ।
सभामा राजश्व संकलनको अवस्थाबारे पनि चर्चा गरिएको थियो । फागुन मसान्तसम्म आन्तरिक राजश्व १२ करोड ८६ लाख संकलन भएको छ, जुन लक्ष्यको करिब ३६ प्रतिशत मात्र हो। बहालकर संकलनमा भने २९ प्रतिशत वृद्धि भएको र १ करोड ३६ लाखभन्दा बढी रकम उठेको जनाइएको छ। नगरपालिकाले करदाता शिक्षा, कर शिविर र डिजिटल भुक्तानी प्रणाली लागू गरेर राजश्व सुधार गर्ने नीति लिएको छ ।
स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको प्रतिवेदनमा उल्लेख छ । एक वर्षमुनिका हजारौं बालबालिकालाई खोप सेवा, ४४५ गर्भवतीलाई टिटनास खोप, ८ सय २६ विद्यार्थीको स्वास्थ्य परीक्षण तथा हजारौं नागरिकमा नसर्ने रोग परीक्षण गरिएको छ। साथै, निःशुल्क आँखा शिविरमार्फत ५ सय ५५ जनाले सेवा लिएका र ४२ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ ।
सामाजिक विकासतर्फ युवालाई लोकसेवा तयारी कक्षा, लागूऔषध नियन्त्रण कार्यक्रम, सुरक्षित आप्रवासन अभियान तथा लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको छ। साथै विभिन्न सामाजिक संघसंस्थालाई सहयोग, सांस्कृतिक कार्यक्रम प्रवद्र्धन र सीपमूलक तालिममार्फत दक्ष जनशक्ति उत्पादनमा जोड दिइएको छ।
नगरसभामा ‘जेनजी आन्दोलन’का कारण नगरपालिका भवन, सवारीसाधन तथा अन्य संरचनामा भएको क्षतिबारे पनि चर्चा गरिएको थियो । क्षतिपछि पनि सेवा प्रवाहलाई निरन्तरता दिइएको जनाइएको छ । क्षतिग्रस्त सामग्री व्यवस्थापन, नयाँ प्रशासनिक भवन निर्माण र उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
सभाले उत्कृष्ट करदाता सम्मान कार्यक्रम समेत आयोजना गरेको थियो । साथै आगामी दिनमा अन्य योजनाहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने, आन्तरिक आय वृद्धि गर्ने र सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।