: -‘व्यंग्यनारान पाँडे’ —:
आज बिहानकाे हावामा घुम्न निस्केकाे पाँडे ऐंसेलु झाँगेकाे घर-छेउकाे गाेरेटाेबाट फर्किरहेकाे थियाे ।
वरिपरि लहरा-झ्याम्टा-झ्यासझुसले घेरेकाे अन्दाजी तीन-चार धुर जति जग्गामा निकै वर्ष अघि टीनकै घेराबारा र छानाे भएकाे उसकाे घर पाँडेले देखेकाे थियाे । त्याे घर त्यस्तै रहेछ – अझ थाेत्राे हुने त भयाे नै । अगाडि साँगुराे आँगन,त्यसकै किनार-किनारमा मट्टीतेलका पुराना टीन, थाेत्रा प्लास्टिकका बट्टाबट्टीका टुक्रा-लाम्टा र थाङ्ने बाेराहरू इत्यादिले बनेका कुखुरा-बाख्राका खाेरहरू एकातिर थिए भने अर्कातिर चापाकल र जुठा भाँडाकुँडा माझ्ने ढुङ्गा जाेडजाम गरेकाे ‘जुठेल्ना’ थिए । ती सबै त्यही आँगनमा अँटाएका । यस्ताे रहेछ नजिकबाट अवलाेकन गर्दा ऐंसेलु झाँगे बस्ने घर-परिसर !
झाँगे त्यही जुठेल्नाेमा टुसुक्क बसेर जुठा भाँडा, थाल- बटुकाहरू माझेर पखाल्दै रहेछ ! …
उसैले पहिला पाँडेलाई देखेछ । र, ठूलाे स्वरले भन्याे -“हन कताड आज हामेरका टाेलातिर हओ पाँडेजी ? उदेकै पाे भाे त ! आऊ न हओ, मेरा घरलाई पनि पइत्र पार ! म त तपइँकाे घराँ जाइरन्छु त, तपइँ कैल्यै नआउने पनि मेरा घरतिर आयाै । हामेरू जनम्जात कमिनिसकाे पाेल्टिसमा लागेका एट्टिब पाेल्टिस्यानकाे घर त इ एस्तै हुन्छ ! कि तपइँ चइँ हामेरका एस्ता घराँ आउँदा जात जान्छ हँ ?”
उसकाे वास्तविक जीवन देखेर अलिक गम्भीर भएकाे पाँडे उतिर माेडियाे र आँगनमा पुग्दापुग्दैसम्म पनि उसले अरू पनि निकै के-के कुरा फलाकिरहेकै थियाे ।…
उसले घरभित्रबाट एउटा भुत्ले मुढा ल्याएर पाँडेकाे अघिल्तिर राख्तै उही पाराले फुइँ हाँक्तै अरू के-के भन्दैथ्याे, पाँडेले उसलाई उछिनेर भन्याे -“अरू कुरा त्यस्तै-उस्तै हाे ! … अनि घरभित्रका सबै काम आफै गरिन्छ ? अरू काेही…”
पाेडेकाे पछिल्लाे वाक्य पनि पूरा गर्न नदिँदै उसले फेरि जितेर भन्याे -“याे रा’नीतिककाे पाेल्टिसमा पनि भामट पच्छेपाती हुन्छ क्या । के गर्नु त ? एत्राे हामेरले नै तिरेका कर-तिराे बटुल्लिएकाे अर्रबउँ रास्टिए रुप्पे फुकेर गर्न लाग्या एलेक्सिनकाे भाेट त आयाे नि आउन ता , ‘माथि-का बा मउसुप समेत सप्पै उमेदार हुनमै बिज्जी भइसेकाे छ । यइ मउका-चानसमा मउसुप मुन्तिरका उइलेका सिरि-तीन जइसा टाउके कम्रेटहेरूका दिस्टिमा साेस-फाेस पुग्नेहर्ले आ-आफ्ना छेत्रकाे एरिआमा ‘काम लाग्ने’ खालका उमेदार…ती क्या त सुर्जे थापा, रिखी धम्माला जइसाकाे सेटिन मिलाइहाले । अनि आफ्ना जुठा भाँडा कल्ले माजिदिन्छ त ? हिजाे दाेडा बइगुन झन्नै छिप्पेछन् र टिपें नि टिप्न ता, तेसकाे पकउडा खान मुन लागाे र । कल्ले पकाइदिने ? आफै जानी-नजानी पका’र, तेससँग जानी-नजानी आफ्फै भुटेर मकै चबाएँ …छाक टारें भनम् न । तेस ट्याममा सूर्जे थापा मेरा घराँ भाेट माङ्न आइदिया भे म भाेट दिन्नथें हाेला त ? उनी उमेदार बन्न अगि टेरनिङ गरेर मकै भुट्न अनि सिमन्टी र बाल्वाकाे मिस्कट ‘मसला’ उप्याेग गर्न कति एस्पिरेन भका रान भन्ने त टिबी-फेसुकहर्मा हेरेकै हउला नि ? तर खाेई उनलाई अनेत्रकै साेस्र-फाेसवालाले उतै मकै भुट्ने, इँटाकाे देओल लाउने कामका लागि उमेदार बनाइमागेर लगिहाले ! मिठ्ठाे पकउडा पकाउन जान्ने काटमाडुँका पत्रकार गर्नेहेरूकै पर्सिद्द लिडर रिखी धम्मालालाई पनि उमेदारमा एप्पाेइन त गरियाे नि गर्न ता, तर उन्लाई एता पठाइदेनन् ! उनले खाना-खान्की पनि उस्तै च्वाँक पकाउन जानेका पनि हाेलान् नि हुन ता, लेकिन एतातिरकाे उमेदार गर्न खटाइदेनन् ! अनि के गर्नु त ?”
पाँडे एक भुल्काे हाँस्याे र के साेध्न खाेज्दैथ्याे, उसले घरकाे बारमा थुपारेकाे झिक्राकाे थाक देखाउँदै भन्याे -“सिभी र केराउ-मट्टर यई घरकाे कम्पाउन एरिआमा, घर पिछाडी, राेपिराँछु । र, ती जातका सब्जीका लहरालाई सप्रिन इज्जिलाे पार्न झिक्राझिक्री नेस्सरी हुन्छ भन्ने मैले उइल्यै काँसी- बनरसमा कउमाेधी ब्याकर्नकाे बाइलाेजिक शीश्रकमा पढ्या हुँ नि हुन ता, तर कल्ले कताबड ल्याइदिने तेस्ता झिक्रा ? रीखि धमालाले, नखत हाेइन-जिन्सीकाे भाेट साट्न, उता पस्सिउँ मधेसकाे उन्ले उमेदार गरिराख्या ठाममा भाेट्टर-भाेटर्नीका बारीबड उखुका लाँक्राका बिटाबिटै ग्याम-ग्याम खलाेतिर ओसारेकाे देखें नि देख्न ता, तर उन्लाई हामेरकातिर पठाएन याे ज्यान्जी सर्खारले ! र, हामेरका बा मउसुपकाे जङ्गे हुक्कुमे पाटीकाे अर्गज कम्रेट भ-र पनि, म आफ्फैले इ झिक्रा सिला खाेजेर ओसारें नि । याे एलेक्सिनकाे भाेटपछि काेइ काम लाग्ने हाेइनन् – जित्नेहर्लाई उतै भस्चारी गर्न, कमिसिनका कटकटिया लाेठ लुँड्याउन र काटमाडुँमा घर-भओन बनाउने सिकनेस मिलाउन अनिखेर छाेर्छाेरीलाई वइदेशिक मुगा-मुगा कलेज, हाई इस्कुल- बिस्साे बिद्देलहेमा भर्ति गरेर अनित्याँड हाेसटेलमा टन्न राख्न बिज्जीका बिज्जी हुनै पराे । अन्तखेरि हार्नेहर्लाई मुख देखाउन सक्ने हुने भा पाे एताउति आइराखुन् त पढ्केहेरू …! आउँदै’न्, काेइ पनि एलेक्सिनकाे भाेट सक्केसि ! तेसाे हुँदाहुँदी भाेटका बेलाँ नै हाे तिन्लाई काममा जाेत्ने भन्या इ एस्तै पच्छेपातले डिस्टप गरिगाे साला । आर्का एलेक्सिनसम्म कस्सैले मुख देखाए त थुक्क लु ! म पनि उमेदार भएँ नि हुन त, मेरा भाेट्टर-भाेट्टर्नी त छन् नि जत्ति भनाे तेति । तर भाेट हाल्नका चुनाउ चिनाे नै पुगेन अरे मेरा लागि, तिन्का बाऊकाे टाउकाे ! तेसाे भएसि केमा भाेट हालुन् मेरा भाेट्टर-भाेट्टर्नीहर्ले बरा ! र, इ एस्तै छ हए हओ पाँडेजी ! चुनाउमा उमेदारलाई घराएसी काममा दल्न नपाए के मज्जा मान्ु र हओ !”…
पाँडेले मनमनमा भन्याे -“याे ऐेंसेलु झाँगे जस्ता नेपाली नेपालमा कतिजति चाहिँ हाेलान् काेनि ! यस्ता नेपालीका कति पुस्तापछिकालाई मात्र चाहिँ लाेकतन्त्र, संघीयता, गणतन्त्र, संविधान, नागरिक हक-अधिकारकाे ज्ञान हाेला कठै !”…अनि प्रसंग माेड्दै साेध्याे -“याे कहिलेकाे, मेराे मतलब, अहिले एकाबिहानै खाना खा’का जुठा भाँडा माझेकाे कि हिजाे रातीका हुन् यी तिमीले माझिरहेका भाँडाहरू ?”
उसले एक्कासी हाँडी घाेप्टे कालाे अनुहार पारेर भन्याे -“छ्याः, कस्ताे काेइसिन ! ताे कम्रेट पुरेत हरिरामेले अस्ति एस्तै नचाइया काेइसिन गर्दाहुँदी तेस्का नाकका दुला र आँखामा पनि पर्नेगरी खैनीकाे धुलाेले प्रार गरिरथें र ताे तेस रातभरि सुत्न सकेन अरे भन्थे छिमेकीहरू ! म जइसाे सुग्घरमा लम्बरी व्याक्तिले बेल्काका जुठा भाँडा तेतिकै राख्छ भनेर किन हेप्छउ तपइँ पनि ?…बेल्का मैले कैले खाना खान्छु र हाै छक्क पर्नु ! लु मैले अब तपइँसित डिस्सस गरिन ! कस्ताे हेपेका हउ हन !” …ऊ थप यस्तै के-के भन्दै भाँडाकुँडा उठाएर झर्किँदै घरभित्र पस्याे र ढाेका थर्काएर ड्याम्म थुन्याे ।
उसले त्यसाे गरेपछि पाँडे वाल्ल परेर केहीबेर बस्याे अनि उठेर बाटाे लाग्दै मनमनै आफैलाई झाँट्याे -” फाेहाेरलाई खाेतलेपछि दुर्गन्ध त आउँछ त पाँडे ! झाँगे जस्तै डेउढा र उखरमाउलाहरू पार्टी- पार्टीमा कति छन् कति क्या ! त्यसै ‘गणतन्त्र’ विचरा निरीह हुँदै गएकाे भन्ठान्छस् ?” ….
+++++