अर्थ देश–समाज मुख्य समाचार स्थानीय

जेनजी आन्दोलनको क्षति : दमक नपामा उत्पन्न परिस्थिति सार्वजनिक

दमक । दमक नगरपालिकाले जेनजी आन्दोलनका क्रममा भएको विध्वंसात्मक गतिविधि र त्यसपछिको विषम परिस्थितिबाट नगरपालिकालाई कसरी उठाएर कार्यक्रमहरु अगाडि बढाउने भन्ने सन्दर्भमा नगरपालिकाको बैठकले तय गरेका निर्णयका आधारमा प्रेसनोट सार्वजनिक गरेको छ ।
कार्यक्रममा नगरप्रमुख थापाले नगरपालिकाको कार्तिक १८ गते बसेको कार्यपालिकाको बैठक र त्यो बैठकले तय गरेका निर्णयका अधारमा तयार पारिएको दमक नगरपालिकाको प्रेसनोट पढेर सुनाएका थिए ।


प्रेसनोटमा धेरै योजनाहरु पुरा गर्न कठिनाई, वितरणमुखी कार्यक्रम रोक्नुपर्ने, काम गरिरहेका ४१ जना कर्मचारी समेत कटौति गर्नुपर्ने बाध्यता समेत रहेको उल्लेख छ । जेनजी आन्दोलनले खरानी भएका नगरपालिकाका द्ुई ठूला भवन काम नलाग्ने प्रमाणित भएकोले अब सो भवन पूर्ण रुपमा नयाँ बनाउनुपर्ने अवस्था आएको पनि उल्लेख गरिएको छ ।
नेपाल सरकारले धेरै क्षेत्रका बजेट कटौति गरेको र दमक नगरपालिकामा लक्ष्य अनुसारको राजश्व संकलन नहुने देखिएकाले पनि बजेटको अभाव विध्वंस भएको दमक नगरपालिकाका गतिविधि अगाडि बढाउन चुनौतिपूर्ण रहेको उल्लेख छ । यद्यपि आम दमकबासीको साथ, सहयोगबाट विद्यमान चुनौतिहरुलाई पार लगाउन दमक नगरपालिका सक्षम हुने आशा पनि सो प्रेसनोटमा उल्लेख गरिएको छ ।
प्रेस नोटमा दमक नगरक्षेत्रभित्र जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा भएका तोडफोड, आगजनी र लुटपाटबाट भएका क्षतिको दस्तावेजीकरण समेत प्रस्तुत गरिएको छ । दमक नगरपालिकाको सार्वजनिक संरचना, यन्त्र उपकरण, फर्निचर लगायतमा गरी नगरपालिकाको २३ करोड भन्दा वढी क्षतिभएको प्रारम्भिक अनुमानबाट पुष्टीभएको छ भने २ वटै प्रशासनिक भवनबाट सार्वजनिक सेवा प्रसारण गर्न नसकिने प्राविधिक प्रतिवेदन प्राप्त भएको उल्लेख छ ।
प्रेस नोटमा सम्पन्न भएका, हुँदै गरेका र हुनबाँकी कामहरु उल्लेख गर्दै चालु रहेका र हुन नसकेका योजनाहरुका विषयमा अब के गर्ने भनेर उल्लेख गरिएको छ ।
आन्दोलन पछीको विद्यमान विशेष अवस्था, सम्भावना, चुनौती र चुनौतीलाई सामना गर्नका निमित्त नगरपालिकाले गरेका नीतिगत, व्यस्थापकीय र संरचनागत सुधारका पक्षहरुलाई समेटी प्रेसनोट जारी गरेको समेत उल्लेख गरिएको छ । नगरप्रमुख थापाले पढेर सुनाएको सो प्रेसनोटमा भनिएको छ– दमक वासीको मतले निवार्चित भई करिव ३ वर्षको कार्यकाल पुरा गरिरहदा हाम्रा संकल्पहरु कती पुरा भए, कती पुरा हुने क्रममा रहेका छन् र कती पुरा हुन नसक्ने भए यी प्रश्नहरु प्रतिको जवाफदेहीता हाम्रो रहेको समेत उल्लेख गरिएको छ ।
सो प्रेसनोटमा जनाइए अनुसार पूर्वाधार विकास सम्बन्धी आयोजनाहरु, तारावारी डिपु नगर गौरबको सडक निर्माण सम्पन्न, भुमिहिन सुकुम्वासी ३६ जनालाई जग्गाधनी प्रमाण पत्र प्रदान थप ५०० जनालाई विवतरणको अन्तिम तयारी, दमक सपिङ कम्प्लेक्स निर्माणाधिन, वहुउद्देश्यिय वातावरणमैत्री पार्क निर्माणका लागि पहल पैरवी, चियाबगानबाट उत्तर तारावारी डिपु सडक जोड्ने सडकको स्तरोन्नतीका लागि पहल, नगर तथा वडास्तरीय अन्य आयोजनाहरु, रोजगारीका लागि तालिम तथा क्षमता विकास कार्यक्रमहरु, महिला, वालवालिका तथा जेष्ठनागरिक सेवा, अपांगता रोकथाम र सो सम्बन्धी सेवा, वालमैत्री नगर निर्माण अभियान, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, निःशुल्क र गुणस्तरीय शिक्षामा लगानी र अभियान, कृषी क्षेत्रमा लगानी र प्रोत्साहन सहयोग एवम् आफ्नो उत्पादन तथा ब्राण्डिङलगायत विपद, पशुसेवा, स्वास्थ्य घुम्ती सेवा, खानेपानी, रोजगार, स्वरोजगार र उद्यमशिलता प्रवद्र्धन, वेवारिसे, हिंसा पीडित मानव व्यवस्थापनलगायतका कार्यक्रम तथा योजनाहरुको उल्लेख गरिएको छ ।
यसैगरी उक्त क्षतिबाट पारेको प्रभावहरु र प्रभाव परेका क्षेत्रहरु, चुनौतिहरुलाई मध्यनजर गरेर आवश्यक कदम चाल्ने उल्लेख छ ।
जस अन्तर्गत ससर्त अनुदान तर्फका कार्यक्रमहरु तत्कालबाट संचालन गर्ने ।, अनुत्पादन प्रकृतीका आयोजना ÷ कार्यक्रम रोक्का गर्ने।, चालु खर्च मितव्ययी ढंगले गर्ने।, जनप्रतिनिधि तथा कर्मचारीले कानूनले तोके बमोजिम बाहेकका थप प्रोत्साहन सुविधाहरु नलिने ।, नभई नहुने प्रकृतिको कार्य वाहेकमा वाह्य परामर्श सेवा नलिने।, बाह्य परामर्श सेवा लिनु पर्ने भएमा कार्यपालिकाको निर्णयका आधारमा मात्र लिने।, कुनै प्रकारका तालिम, गोष्ठी, सभा जिल्ला वाहिर नगर्ने।, तालिम, गोष्ठी, सभा सम्भव भए सम्म सरकारी हलमा गर्ने।, वडा तथा नगरको आयोजना÷ कार्यक्रमहरुमा विनियोजित रकमबाट व्यहोरिने गरी १० प्रतिशत बजेट अर्को व्यवस्था नभए सम्मका लागि रोक्का÷ स्थगन गर्ने गरी रोक्का ÷ स्थगन गरीएको १० प्रतिशत रकमबाट पालिकाका सार्वजनिक संरचनाहरु पुर्न निर्माण गर्ने।, पुन निर्माणका लागि विकास साझेदारहरुसँग सहकार्य गर्ने।, नगर अन्तर्गतका सवै संरचनाको विमा गर्ने।, पुराना सामग्री प्रयोगमा प्रोत्साहन गर्ने र पुराना सामग्री मर्मत गर्नुपर्ने भए मर्मत गरी प्रयोग गर्ने लगायतका रहेका छन् । सो प्रेसनोटमा दमकको समग्र विकासका लागि सम्पूर्ण दमक वासीहरु एक भएर लाग्न समेत अपिल गरिएको छ ।
दमक नगरपालिकाका नगरप्रमुख रामुकमार थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, दमक नगरपालिकाका पूर्व अध्यक्ष रोमनाथ वली, सामाजिक तथा राजनीतिक व्यक्तित्व शेरबहादुर भट्टराई, वडाअध्यक्षहरु, जनप्रतिनिधि, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सरकारी कार्यालयका प्रमुखहरु, नेपाल मानव अधिकार संगठनका केन्द्रीय उपाध्यक्ष केपी सुवेदी, दमक क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज गिरी, उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाई, उद्योग वाणिज्य संघ केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, राजनीतिक दलका नगर तथा जिल्ला अध्यक्षहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका प्रतिनिधि, आदिवासी जनजाति महासंघका पदाधिकारी, दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रतिनिधि, रेडक्रस सोसाईटीका अध्यक्षसहित विभिन्न निजी तथा सरकारी अस्पतालका पदाधिकारी, सामाजिक अगुवा तथा मिडियाकर्मीलगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ८ वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहाल (दिपेश)ले गरेका थिए भने धन्यवाद ज्ञापन वडा नं. ९ का वडाअध्यक्ष कुवेर प्रसाद भट्टराईले गरेका थिए । कार्यक्रम सञ्चालन सामाजिक विकास शाखा प्रमुख केशव प्रसाईले गरेका थिए ।

Author

You may also like