हालै चीनको तियान्जिनमा सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटले अन्तर्राष्ट्रिय राजनीति र क्षेत्रीय सम्बन्धमा नयाँ चर्चा ल्याएको छ ।
अहिले चर्चामा रहेका लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली जमिनहरूमाथि लगाइएका विदेशी दृष्टि र दाबीले नेपालको राष्ट्रिय अखण्डता र सीमाको सुरक्षामा ठूलो चुनौती सिर्जना गरिरहेको छ । भारत र चीनबीच व्यापारिक मार्ग खोल्ने विषयमा नेपालले स्पष्ट र कडाइका साथ आफ्नो राष्ट्रिय स्वार्थ र भू–राजनीतिक स्वतन्त्रता रक्षा गर्नुपर्छ ।
चीन र भारत दुवैसँग सिमाना जोडिएको र भू–राजनीतिक दृष्टिले यो भेटलाई महत्वकासाथ हेरिएको छ । देशभर यतिवेला भारत र चीनविच भएको ब्यापारिक मार्ग जो नेपालको भूमि प्रयोग गरेर खोल्न लागिएको छ, यो विषयले चौतर्फी चासो बहसमा स्पेस पाएको छ ।
नेपालले आफ्नो भौगोलिक र राजनीतिक स्वाधीनता कायम राख्दै कुनै पनि बाह्य शक्तिलाई आफ्नो भूमि वा सिमाना उपयोग गर्न दिने निर्णय सजिलो रुपमा गर्न सक्दैन । कतिपय दृष्टीकोणहरु आशंकाको प्राथमिकताबाट प्रेरित भएका पनि देखिन्छन् । प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीचको भेटले नेपाललाई दोधारे दबावमा पार्न सक्छ, तर नेपालको कूटनीति र राष्ट्रिय स्वाभिमानले यसलाई सहजरूपमा स्वीकार्न सक्दैन । नेपालले विदेशी शक्तिहरूका स्वार्थमा आफ्नो भूमिलाई नष्ट हुन दिइनु हुँदैन । भू–भागीय विवाद र सीमासम्बन्धी संवेदनशीलतामा नेपालले आफ्ना सिमाना, जनधन र राष्ट्रिय सम्मानलाई प्राथमिकतामा राखेर राजनीतिक निर्णय गर्नुपर्छ ।
यस परिस्थितिमा नेपालले चीन–भारतबीचको कुनै पनि व्यापारिक र रणनीतिक मार्गमा सहभागी हुन वा सहमति दिनुभन्दा पहिले राष्ट्रिय हित र स्वाधीनता संरक्षणमा ध्यान दिनु अनिवार्य छ । राजनीतिक समझदारी र कूटनीतिक सूझबुझबाट मात्र नेपालको भू–राजनीतिक स्वतन्त्रता कायम राख्न सकिन्छ, नत्र आफ्नै भूमिमा विदेशी आकांक्षाहरूको दबाबले राष्ट्रिय अस्तित्व संकटमा पर्न सक्छ ।
नेपालले आफ्नो स्वाभिमान र सीमाहरूलाई सम्मान गर्दै सशक्त र स्पष्ट कूटनीतिक नीति बनाएर आगामी चुनौतीहरू सामना गर्नुपर्ने बेला आएको छ, यो अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज सबैको एउटै स्वर हुन जरुरी देखिन्छ । विशेषगरी सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ओली र मोदीविचको चीनमा भएको भेटको तस्बिरले नेपालको भूमिमाथिको स्वामित्वमा नेपालको अडान र स्वाभिमानको विषयलाई थप उजागर गरेको छ । अपेक्षा गरौं यो भेट सकारात्मक सन्देशको कोषेढुंगा बन्न सकोस् ।

Author

You may also like