देश–समाज सम्पादकीय

सीमा, स्वाभिमान र नेतृत्वको परीक्षा

नेपालको गौरवशाली इतिहास गोर्खालीहरूको अदम्य साहस र बलिदानसँग गासिएको छ। उनीहरूको वीरता र आत्मत्यागकै कारण सानो मुलुक नेपालले आफ्नो अस्तित्व बचाउँदै संसारभर स्वाभिमानसहित टाउको उचाल्न सकेको थियो । तर आज त्यही गौरव बिस्तारै क्षीण हुँदै गएको देखिन्छ । वीरताको शक्ति केवल शान्ति सेनासम्म मात्र सीमित भयो, तर आत्मनिर्भर राष्ट्र निर्माणको मूल आधारका रूपमा त्यसको जग उँचो बनाउने काम भएन । उल्टै तिनीहरुको विकासको ठेक्का लगाएर दुरुपयोग गरिरहेका छौं । गोर्खालीको शान, मान, मर्दन र प्रतिष्ठा उँचो बनाउन छुट्टै निकाय खडा गरेर संरक्षित गर्नुपर्नेमा भएको नेपाली सेनाको शक्ति क्षिण बनाउन राजनीति गरिरहेका छौं– सबैभन्दा ठूलो भूल यहि भईसकेको छ । स्वाभिमानका राष्ट्रिय जगहरु सबै भन्किसकेका छन् ।
नेपाल आत्मनिर्भरताको अथाहा ढिकुटी हुँदा हुँदै सितैमा विदेशलाई दिएर रित्तो बनाइसकेका छौं । पुर्खाले खोलिदिएका आत्मनिर्भरता हुने कलकारखाना सबै सिध्याईसकेका छौं । अहिले आत्मनिर्भरताको खोजि गर्ने एउटा मात्र क्षेत्र कृषि त्यो पनि मागीखाने भाँडो बनेको छ । आत्मनिर्भर बन्न सक्ने नदीनाला सबै अरुलाई सुम्पिसके । फेरी लिपुलेक, लिम्पियाधुरा नेपालको वैदेशिक ब्यापरिक मार्ग बन्न सक्थ्यो त्यो पनि यतिखेर भारतले एकलरुपमा नेपालको भूमि अतिक्रमण गरेर चीनसँग व्यापारिक सम्झौता गरिसकेको छ । यो विषयमा नेपाल एकढिक्का हुन सकिरहेको छैन । नेतृत्वकर्ता वा भनौ सरकार झाराटार्ने र आलटाल गर्ने रणनीतिमा अगाडि बढेको छ भने अन्य दलहरु पनि तालमा आ–आफ्नै छ । भन्न सबैले भूमि हाम्रो हो, फिर्ता ल्याउनुपर्छ भन्ने वाक्यांश ओकल्नुसिवाय त्यसलाई फिर्ता गराउने ठोस निर्णय कुनै दलले गर्न सकेका छैनन ।
आजको पुस्ताले पुर्खाले देखाएको बाटो अनुसरण गर्न नसक्नु नेतृत्वको ठूलो कमजोरी हो। नेपालको भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्पदा आत्मनिर्भर बन्न पर्याप्त छन्, तर गलत नीतिहरू, दुरदृष्टिहीन योजना र स्वार्थी राजनीतिले देशलाई विदेशीमाथि निर्भर बनाइदिएको छ । लिपुलेक, लिम्पियाधुराजस्ता भूमि विवादमा समेत नेतृत्वले स्पष्ट र दृढ अडान लिन नसक्नु राष्ट्रियता कमजोर पार्ने प्रमाण हो ।
नेपाललाई आत्मनिर्भर बनाउन सक्ने आधारहरू– कृषि, उद्योग, जलस्रोत र प्राकृतिक सम्पदाहरु क्रमशः नष्ट हुँदै गएका छन् । आत्मनिर्भर बन्न सक्ने कृषि क्षेत्र आज विदेशी अनुदान, कालाबजारी र आयातको खेलमै सीमित छ। युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । देशभित्रै श्रम, सीप र उत्पादनलाई प्राथमिकता दिने राज्यको नीति अझै पनि अस्तित्वमा छैन ।
सामान्य नागरिक मूल्यवृद्धि, भ्रष्टाचार, बेरोजगारी र शोषणको चपेटामा छन् । शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा समेत आत्मनिर्भरता खोज्ने प्रयास हुन सकेको छैन। बरु पढाइको नाममा सम्पत्ति विदेशमै बगाइन्छ, स्वदेशी उत्पादनलाई तुच्छ मानिन्छ, विदेशी वस्तुका पछि दौडिने गलत संस्कार विकास भएको छ ।
नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र हो। तर पछिल्लो समयमा आन्तरिक कलह, विभाजनकारी नाराहरू र विदेशी हस्तक्षेपले राष्ट्रिय एकतालाई कमजोर पारिरहेको छ। यस्तो अवस्थामा अझ बढी सतर्कता, ऐक्यबद्धता र राष्ट्रिय स्वार्थमा केन्द्रित नेतृत्व अपरिहार्य भएको छ ।
राष्ट्रिय मुद्दामा सबै दल र नेताहरू एकजुट हुनु, आत्मनिर्भरता केन्द्रित दिगो नीति निर्माण गर्नु, स्वदेशी उत्पादनलाई प्राथमिकता दिने संस्कार विकास गर्नु, सीमा र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा दृढ अडान लिनु आजको अपरिहार्य आवश्यकता हो । यदि आजै आत्मनिर्भर नेपालको जग बसाल्न सकिएन भने भोलि नेपाल अस्तित्वमै नरहने अवस्थासम्म पुग्न सक्छ। तर, यदि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानका सवालमा हामी एकजुट भइ आत्मनिर्भर नेपाल निर्माणको बाटो समात्यौं भने गुम्दै गएको गौरव र स्वाभिमान पुनः स्थापित गर्न सकिन्छ । नेपाललाई विदेशीको भरमा होइन, आफ्नै सीप, श्रम र स्रोतको आधारमा अघि बढाउनु आजकै पुस्ताको ऐतिहासिक जिम्मेवारी हो। यही नै सच्चा राष्ट्रभक्तिको प्रमाण हुनेछ ।
नेपालको राजनीतिक सँधै यहि रुपमा अगाडि बढ्ने हो, उनीहरुका बोली र व्यवहार, दलगत नीति, विचार र सिद्धान्तविपरित गतिविधि गरिरहने हो र राष्ट्रियता र स्वाभिमानलाई बिर्सिएर राजनीति मात्र गरिरहने र नेपाली भुभाग अरुलाई सुम्पिँदै जाने हो भने भोलि राजनीतिक गर्ने आधार बन्द हुनसक्छ भन्ने हेक्का राखेर नेपाल र नेपालीलाई शिरोपर गरी राष्ट्रियताका मुद्दामा एकजुट भई सहि समाधान निकालेर एक स्वर बनाउन उत्तिकै आवश्यक देखिन्छ ।

Author

You may also like