
दमक/ दमकमा तीसौं वर्षदेखि खनजोत गरेर आएका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लामो समयदेखिको प्रतिक्षा अब धनिपुर्जा प्राप्त गर्ने चरणमा प्रवेश गरेका छन् ।
सोही क्रममा लक्षित वर्गलाई धनिपुर्जा दिलाउनकै निम्ति दमक नगरपालिकाले निकै ठूलो प्रयास र प्रयत्न गरेकै कारण अहिले ६ हजार बढीले निस्सा प्राप्त गरिसकेका छन् । सोही क्रममा अबको चरण नापजाँचको रहेको हुँदा नापजाँचका क्रममा आइपर्ने समस्याहरुको निराकरणका लागि विभिन्न वडाहरुमा अभिमुखीकरण कार्यक्रम गरेर कुरा बुझाउने र उनीहरुका कुरा सुन्ने क्रममा बुधबार वडा नं. ५ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं. ५ का वडाअध्यक्ष इन्द्रबहादुर गुरुङको अध्यक्षतामा आयोजित सो कार्यक्रममा भूमि समस्या समाधान आयोगका नगर स्तरीय सहजीकरण समितिका संयोजक तथा नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा भूमि आयोग झापा जिल्ला अध्यक्ष मदन अधिकारीको विशिष्ठ आतिथ्यता, नगरस्तरीय सहजीकरण समिति उपसंयोजकको तथा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई, सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराई, सहजीकरण समिति सदस्य तथा नेकाका प्रकाश प्रसाई, जनप्रतिनिधि, राजनीतिक दललगायत विभिन्न तह र तप्काका व्यक्तित्व आतिथ्यता रहेको सो कार्यक्रममा धनिपुर्जाका लागि अन्तिम चरणमा पुग्ने प्रक्रियामा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सो वडाका ३ सय ३६ परिवारसहित नगरभरिका ६ हजार बढी भूमिहिनलाई धनिपुर्जा दिलाउनका लागि नगरपालिका प्रयासरत रहेको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नगरस्तरीय सहजीकरण समिति संयोजक राम कुमार थापाले भूमिहिनलाई धनिपुर्जा दिलाएर खुशीको दिन बिताउन वातावरण बनाउने कुरामा कटिबद्ध र प्रतिबद्ध रहेको भन्दै उनले पनि निर्वाचित भएपछिको महत्वपूर्ण विषय यसैलाई उठाउँदै आएको र सोही अनुसारका गतिविधि गर्दै आएको बताए । उनले तपाईहरुले जोतेको, खनजोत गरेको भूमि अब कसैले लान नसक्ने उल्लेख गरे । निस्सा प्राप्त गर्नुभनेको जन्मिएको बच्चाको जन्मदर्ता गर्नु झै रहेको थापाको भनाई थियो । उनले अब पनि तपाईहरुका माझमा बढी जग्गा दिलाइदिन्छु, वा छिटो धनिपुर्जा दिलाईदिन्छु भन्दै पैसाको खेलो गर्न कोही आएमा हामीलाई खबर गर्नुस् चाहे जोसुकै, जस्तो सुकै पहुँचको भएपनि ठाडो खुट्टा पारेर झुण्ड्याउने प्रतिबद्धता व्यक्त गरे । अब राजश्व बाहेक अरु कुनै कुनै शुल्क तिर्न नपर्ने भन्दै नापजाँचका क्रममा कुनै किसिमको विवाद ननिकाल्न आग्रह पनि गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सहजीकरण उपसंयोजक तथा दमक नगरपालिका उपमेयर रेगिना भट्टराई प्रसाईले अब आइन्दा भूमिहिनका मुद्दा उठ्न नपर्ने गरी काम भईरहेको बताईन । उनले वडाका समन्वय समितिको अबका चरणमा महत्वपूर्ण भूमिका हुने भएकाले सबैलाई त्यसप्रति जिम्मेवार भएर लाग्न आग्रह पनि गरिन । उनले भनिन– हरेक दिन निमुखा दलित भूमिहिनहरुलाई आशा र अपेक्षा देखाएर नेतृत्वले अवधि पुरा गर्न नपरोस् । मानिस भएर जन्मेपछि मानव अधिकारसहित व्यवस्थित ढंगले बस्न पाउने अधिकार सुनिश्चितताका लागि स्थानीय सरकार कटिबद्ध र प्रतिबद्ध रहेको उनले बताईन ।

सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराईले भूमिहिनका समस्या समाधानका लागि हामी सबै एक ठाउँमा रहेकाले अब फेरी यो मुद्दा नउठ्नेगरी समस्या समाधान हुनेमा आश्वस्त रहेको बताए । उनले नगरपालिकालाई खबरदारी गर्दै यो समस्या समाधन गरेरै छाड्न र भूमिहिनलाई धनिपुर्जा दिन आग्रह गरे ।
यसैगरी सहजीकण सदस्य प्रकाश प्रसाईले सबैलाई शुभकामना दिँदै अबका चरणमा पार गर्न गर्नुपर्ने कामको विषयमा सुझाएका थिए । उनले जतिसक्दो छिटो प्राप्त निस्सालाई आवश्यक प्रमाणिकरण गरेर धनिपुर्जा प्राप्त गर्न सक्ने तर्फ अगाडि बढ्न सम्बद्ध सबै पक्ष अगाडि बढ्ने बताए । कार्यक्रममा जग्गा नापजाँचका क्रममा अनेकन समस्या वा झमेला निकाल्ने काम भयो वा कसैको जग्गा एक फुट उता गयो वा यता आयो भनेर विवाद गर्नुभयो भने तपाईले धनिपुर्जा पाउने प्रक्रिया अवरुद्ध हुनसक्नेतर्फ सबै वक्ताले सचेत गराएका थिए ।