देश–समाज राष्ट्रिय समाचार

विभिन्न कार्यक्रमसहित विश्व पानी दिवस मनाइयो

दमक । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइएको छ ।पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि सहित विभिन्न पोखरी, ताल, खोला सफा गर्दै पानीको स्रोत बृक्षारोपणसमेत गरेर पानी दिवस मनाइएको छ । विभिन्न संकल्प तथा जनचेतनामूलक कार्यक्रमसहित विश्वभरि नै यो दिवस मनाइएको छ । प्राणी जगत्का लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानी हो ।
बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी संकट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्वपूर्ण शिक्षा दिनेछ । नेपालको सन्दर्भमा यि सहित २० अगाडिसम्म पानीका मूलस्रोत रहेका ठाउँहरु अहिले सुख्खा भएका छन । हिमाली तथा पहाडी जिल्लाहरुमा जताततै पाइने पानी आजभोलि पाउन छोडेको छ । पछिल्लो समयमा यातायातका साधन गाउँ गाउँ पु¥याउने विकासले पनि पानीमाथि विनास गरेको तथ्य रहेको छ । भुकम्पलगायत प्रकृतिमाथि भएका दोहनले पानीका मुहान र स्रोतलाई नराम्रोसंग विथोलेको छ ।
पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ ।
सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ ।
संसारभर कुल ९७ दशमलव पाँच प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नूनिलो भएकाले पिउन, सिँचाइ र विद्युत् उत्पादनको लागिसमेत प्रयोग गर्न मिल्दैन । पानीको सदुपयोग गर्न नसक्दा संसारभर नै समस्या बढ्दै गएको छ । अन्तरराष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक वर्ष एक जनाका लागि नौ हजार घनमिटर पानीको आवश्यकता पर्छ ।
संसारभर उपलब्ध पानीमध्ये २.५ प्रतिशतमात्र पिउनयोग्य उपलब्ध छ । मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा उपलब्ध हुने पानी मानवीय उपभोगका लागि योग्य मानिएको छ ।
नेपालको हकमा प्रतिव्यक्ति कुल जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर पर्न आउँछ तर हाम्रो देशमा हालसम्मको उपभोग दर प्रतिव्यक्ति तीन सय ९३ दशमलव पाँच घनमिटर छ ।
संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी रहेको छ । औद्योगिक राष्ट्रको कहालीलाग्दो औद्योगीकरण, जलवायु परिवर्तन र तापमान वृद्धिका कारण पानीको परम्परागत मूल सुक्दै गएका छन् । पछिल्ला वर्षमा हिमनदी सुक्दै गएका छन् भने विश्वका करिब एक अर्ब मानिस पानीको समस्यामा छन् ।
जलवायु परिवर्तनले संसारभर पारेको प्रभाव हरितगृह ग्याँस उत्सर्जन, हिमनदी र हिमताल फुट्ने खतरा बढेको सन्दर्भलाई मनन् गर्दै अगाडि बढ्नु जरुरी भइसकेको छ । नदीमा मानवीय अतिक्रमण बढेको, अनियमित तवरले भूमिगत पानी निकालिएको, पानीको रिचार्ज गर्नेतर्फ ध्यान दिन सकिएको छैन । वर्षात्को पानी पनि खेर गइरहेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुने गरेको छ । विश्वभर रहेका सात अर्ब बढी मानिस २५ लिटरका दरले मात्रै पानी उपलब्ध गराउने हो भने एक खर्ब ७५ अर्ब लिटर पानी आपूर्ति गर्नुपर्ने हुन्छ ।

Author

You may also like