देश–समाज सम्पादकीय

जिम्मेवार व्यक्तिबाट निराशाका भाषण

जनतालाई परिणाम दिने ठाउँमा पुगेका व्यक्तित्वहरुले आशा भन्दा निराशाका भाषण बढी गर्ने गरेका छन् । हरेक क्षेत्र, तह र तप्काबाट हुने सन्दर्भमा निराशा बढी बाँडिएको छ, आशा कम । कुनै उद्देश्यमूलक कार्यक्रममा पनि आशा भन्दा निराशा नै बढी बाडिन्छ भने युवा पुस्ता उत्साहित र आशावादी कहिले बन्ने भन्ने प्रश्न उब्जिएको छ । अत्याधिक निराशा बाँडिएको समाजमा आशा बोकेकालाई पनि निराशा बन्न बाध्य पारिएका छन– परिणाम दिने तहका नेता तथा व्यक्तिहरुबाट ।
सोमबार राजधानीमा एउटा उद्देश्यमूलक र आशावादी कार्यक्रमको आयोजना गरिएको थियो– रोजगार सम्मेलन । रोजगार सम्मेलन भन्ने वित्तिकै त्यहाँ बोल्ने वक्ताहरु परिणम दिने स्थानबाटै आएका र उनीहरुले देशको बेरोजगारको जालो चिर्ने आशा लिएर आउँछन भन्ने आम युवालाई लागेको थियो । तर त्यहाँ त्यस्तो देखिएन । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रीले त्यो कार्यक्रममा युवालाई पुरै निराश हुने भाषण ठोकेर गए । उनले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व ५ प्रतिशतमा घटेको बताए । उनले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने पनि थपे । छिमेकी मुलुकले लगानी गरेका जुट मिललगायत संस्थाहरु धराशायी हुनुको कारण खोज्नुपर्ने सम्म बताउन भ्याए । ‘जबसम्म नेपालको पूँजी बजार चलायमान हुँदैन तबसम्म नेपालको श्रम शक्ति व्यवस्थित गर्न नसक्ने निराशा बाँडे ।’ उनले ‘उद्योग सञ्चालन गर्न कठिन र जोखिम छ । त्यही जोखिमले हिजो नेपालको ब्राण्डको रुपमा स्थापित पश्मिना, गलैँचा तथा गार्मेन्ट, जुट मिललगायतका उद्योगहरु बन्द भए’ उनले भने, ‘छिमेकी मुलुकले लगानी गरेको विभिन्न संस्थाहरु धरासायी भए । यस्तो किन भयो त्यसको कारणको खोजी गर्नुपर्नेछ ।’ उनले यो पनि भने कि– मन्त्री मण्डारीले उद्योग र उद्यमशीलताका बारेमा सरकारले गरेको नीतिगत सुधारले आशा जगाएको पनि बताए । उनले रोजगारी ग्यारेन्टी गर्ने तथा उद्यम र उद्यमशीलतालाई प्रोत्साहन गर्ने खालको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने अलिकति आशा देखाए । उनले बेरोजगारीका कारण युवामा देखिएको निराशालाई आशामा बदल्ने गरी सरकारले गरेको नीतिगत सुधारलाई निजी क्षेत्रले स्वागत गरेको दावी गरे । मन्त्री भण्डारीले नेपालको पुँजी बजार, श्रम बजारसँगको नेपालको उत्पादन र नेपालको रोजगारीलाई जोड्नसके आन्तरिक रोजगारीका प्रश्नलाई समाधान गर्न सकिने बताए ।
एउटा सीमित घेरा, सीमित व्यक्ति केन्द्रीत सरकार सञ्चालन भईरहेको आक्रोश पोखिइरहेको बेला सरकारका सञ्चालकहरु यति मिठो, उज्जवल भविष्यको आशा बोकेर बसेको सभामा सम्बन्धित मन्त्रीले नै निराशा बाँड्न थालेपछि तमाम आशा बोकेका युवाले आशा खोज्ने कहाँ ? विद्युत प्राधिकरणका कुलमान घिसिङ, काठमाडौंका मेयर वालेन साह, धरानका हर्क साम्पङ, रवि लामिछाने जो पछिल्लो समयमा जनताको काम गर्ने पंक्तिमा उभिएका थिए तिनीहरुलाई कसरी सिध्याउने भनेर निरन्तर लागेको लागै छ– जुन गलत छ । बाल हठ र राज हठ कहिँ कसैबाट हुनुहुन्न । आ–आफ्नो क्षेत्राधिकारमा रहेर सबैको उद्देश्य जनताको सुख नै हो त्यो सबैको तागतलाई एकत्रित गरेर जनताको पक्षमा लगाउन सक्ने ल्याकत अब सरकारमा हुनुपर्दछ ।
भ्रष्टाचारमा देश चुर्लुम्म डुबेको देश तथा विदेशबाट आरोप लागिरहेको छ । अनेकौ काण्डहरु जिम्मेवार पदमा बसेकाहरुमाथि लागेको छ । कुनै तह र तप्का बाँकी छैन । तीन तहकै सरकारहरु भ्रष्टाचारको आहालमा बसेका छन् । तर त्यसको न्युनिकरणतर्फ नलाग्ने, सुशासनको प्रत्याभूति कहिल्यै नगराउने, आशामुखी बनेर सभा समारोहमा उपस्थित जनमानसलाई निराशा मात्र बनाउने खालका बोलीले अन्ततः राम्रो कामलाई समेत हतोत्साहित गराउँछ र आशा बोकेका खास गरेर युवा पुस्ता विदेशीनुको विकल्प देख्दैनन् । देशमा अनेकौ समूह र दलगत रुपमा सरकारका विरुद्धमा यति ठूलो जमात ओइरिइसकेको छ । तर त्यो जमातलाई गाली नगर्ने सत्ताभोगमा लागेका र परेका सबै छन् । त्यो विद्रोह, त्यो आक्रोस किन र कसरी आयो भनेर त्यसलाई मिलाउने पक्षमा कोही छैनन । चिन्ता भाग खोसिने हो कि भन्ने मात्र देखिन्छ । तसर्थ सरकारले भाषणमा बोलेर निराशा बनाउनु भन्दा आशा देखाउने र परिणामुखी र जनसरोकारका काम गरेर देखाउने बेला आएको छ ।

Author

You may also like