देश–समाज राष्ट्रिय समाचार स्थानीय

देशभर मनाइयो राष्ट्रिय पोशाक तथा टोपी दिवस

दमक/ शिरमा भादगाउँले होस् या ढाका टोपी नेपालीहरुको शाननै हो । अझ भन्ने हो भने विश्वव्यापी पहिचान हो । यही टोपीको ऐतिहासिकता र पहिचानलाई लिएर नेपालीहरुले गर्वका साथ विश्वमा जहाँरहेपनि टोपी दिवस मनाउँदै आएका छन् । बुधबार पनि राष्ट्रिय टोपी दिवस नेपालीहरुले धुमधामका साथ मनाएका छन् । सामाजिक सञ्जालहरुमा जताततै अनि घरपरिवारमा होस् या सार्वजनिक कार्यक्रमहरुमा नेपाली टोपी लगाएर फोटा तथा तस्वीरहरु सार्वजनिक गरेर उल्लास प्रकट गरेका छन् । कतै सामाजिक संघ संस्थाहरुले औपचारिक कार्यक्रम गरेर सामूहिक रुपमा टोपी वितरण, पहिरन र कतिपय सामाजिक योगदान दिने अगुवाहरुलाई सम्मान समेत गरेका छन्  । यो उल्लासको रौनक बुधरबार देशैभरि छाएको छ । वि.सं. २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
यसैक्रममा टोपी दिवसका अवसरमा बुधबार दमकमा अग्रज व्यक्तित्व साहित्यकार मेघराज तिम्सिनालाई सम्मान गरिएको छ । सामाजिक कार्यमा सक्रिय संस्था जीवनचक्र समाजले सामाजिक, शैक्षिक व्यक्तित्वका धनी ८३ वर्षीय तिम्सिनालाई सम्मान गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले दोसल्लासहित सम्मानपत्रद्वारा सम्मान गरे । तिम्सिनालाई त्यस अवसरमा दौरा, सुरुवाल र नेपाली ढाका टोपीले समेत सम्मान गरियो ।
टोपी दिवस कार्यक्रमका संयोजक बेनु प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले नेपालीहरुको पहिचानका रुपमा रहेको टोपीलाई संरक्षण गरी विश्वभर चिनाउनुपर्ने खाँचो रहेको बताए । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी लगायतले टोपी दिवसको महत्व माथि चर्चा गरेका थिए  ।
संस्थाले कार्यक्रम सहभागीहरुलाई विभिन्न संघ संस्था, व्यक्तिहरुबाट सहयोगस्वरुप संकलन गरिएको करिव ४ सय टोपी वितरण गरेको थियो । नेपाली टोपीको संरक्षणमा जोड दिँदै समाजले विभिन्न संघसंस्थाको सहभागितामा वर्षेनी यो दिवस मनाउँदै आएको छ । कार्यक्रममा दमकका कवि मेघनाथ बन्धुले नेपाली पहिचान टोपी सम्बन्धीको कविता प्रस्तुत गरेर टोपीको महिमा गाएका थिए । कतिपय सहभागीले एकदिन मात्र टोपी नलगाई सँधैं दिन नेपालीले टोपी लगाउनु आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै दमक नगर प्रमुख राम कुमार थापाले नेपालीहरुको पहिचान रहेको टोपीको विशेष महत्व रहेको दर्शाए । उनले नेपालीको मौलिक संस्कृति संरक्षण गरी आउने पिँढीलाई यसको हस्तान्तरण गर्न आवश्यक रहेको जनाउँदै ‘संस्कृति र सभ्यता हाम्रो पहिचान हो, राष्ट्रियता हाम्रो शान हो, हिन्दुत्व हाम्रो अभिमान हो । भन्ने उद्गार समेत स्मरण गराए ।
कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार हेमनाथ अधिकारीले एकदिन मात्र टोपी लगाउने नक्कल नगरी टोपी लगाउँदा नेपाली मौलिक पोशाक दौरासुरुवालमा लगाउनु पर्ने कुरामा जोड दिए । दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले नेपाली पहिचानको टोपी आर्थिक विपन्नका लागि चाहीँ वितरण गर्नु अझ सान्दर्भिक हुने तर्क राखे । दमकलाई शिक्षाकासाथै भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्‍याएका सम्मानित व्यक्तित्व मेघराज तिम्सिनालाईं पशुपति ढाका उद्योगले निःशुल्क उपलब्ध गराएको दौरासुरुवाल र ढाकाटोपीले सम्मानित गरिएको थियो ।
कार्यक्रममा हिमशिखर टेलिभिजनका अध्यक्ष ध्रुव न्यौपाने, पूर्व डीएसपी जीवन श्रेष्ठ, क्लब हिमालयन टाइगरका अध्यक्ष रेवतचन्द्र भण्डारी, साँस्कृतिक अभियन्ता बेनु चुडाल लगायतले सँधैंदिन टोपी लगाउने कुरामा जोड दिँदै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी महिलाहरुले पनि नेपाली टोपी लगाउँदा शोभानै बढेको थियो । जीवनचक्र समाजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक बेनुपराज प्रसाईको अध्यक्षताको कार्यक्रममा संस्थाले सहभागी सबैलाई ढाका टोपी वितरण गरेको थियो । टोपी दिवस मनाउन थालेपछि विवाह, व्रतबन्धजस्ता सांस्कृतिक शुभकार्यहरुमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको संख्या बढ्न थालेको छ । पछिल्लो पुस्ताले बिर्संँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ ।

Author

You may also like