जलवायु परिवर्तनमा फोहोर व्यवस्थापन ठीक ढंगले हुन नसक्नु एक प्रमुख कारक रहेको कार्यक्रमकी सहजकर्ता तथा नेपाल जेसीजको पूर्व राष्ट्रिय उपाध्यक्ष मञ्जरी घिमिरेले बताइन् । घिमिरेले फोहोर व्यवस्थापनको कार्यमा स्थानीय तहको नेतृत्वले कसरी पहलकदमी लिन्छ र जनतालाई कन्भिन्स गर्नमा कतिको सफल हुन्छ भन्ने कुराले मुख्य भूमिका खेल्ने भएकाले त्यसका लागि सही नीति, योजना र त्यसको कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिइन् । फोहोरले व्यक्तिलाई रोगी बनाउने मात्र नभई वातावरण समेत प्रदूषित पार्ने भएकाले यसको दूरगामी असर न्यूनीकरणका लागि सम्बन्धित सबैले संवेदनशील हुनुपर्ने खाँचो औंल्याइन् । फोहोर व्यवस्थापनका लागि नियम र कानुन नमान्नेहरुलाई दण्ड सजाय गर्न पनि पछि पर्न नहुने कुरामा पनि त्यस अवसरमा जोड दिइयो । नगरपालिकाको वातावरण समितिका संयोजक टेक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दमक नगर प्रमुख राम कुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, विभिन्न वडाध्यक्षहरु, शाखा प्रमुखहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन नगरपालिका वातावरण शाखा प्रमुख भुवन बरालले गरेका थिए । नगरपालिकाको नियम नमानी जथाभावी फोहोर फ्याँक्नेलाई ५ देखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिने पनि शाखा प्रमुख बरालले बताए ।