दमक/ पशुपति गौशाला धर्मशाला खाली गराएर महानगरले सञ्चालन गर्ने कामबाट सरकार ब्याक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले तत्कालका लागि मारवाडी सेवा समितिले सञ्चालन गरिरहेको गौशाला धर्मशालाको काम रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहनु भएका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् । मन्त्री पाण्डेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषलाई पठाइएको पत्रमा कोष सञ्चालक परिषद्को असोज २२ गते पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापनसम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न भनिएको छ । साथै मन्त्री पाण्डेले कात्तिक ४ गते परिषद् बैठक राख्न समेत निर्देशन दिएका छन् ।
