पछिल्लो समय डेङ्गुको संक्रमण फैलिएर महामारीको रुप लिइरहेको छ । डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारी र स्वास्थ्यकर्मीहरुले पटक पटक बताउँदै आएपनि नियन्त्रण हुन नसक्नु दुखद पक्ष हो । पछिल्ला महिनामा देशभरका सबैजसो जिल्लामा यो रोगको संक्रमण फैलिने क्रम जारी छ । डेंगुबाट मंगलबारमात्रै इलाममा एकजनाको मृत्यु समेत भएको छ । झापापनि यो रोग संक्रमणबाट चोखो छैन ।
कोशी प्रदेशका धेरैजसो जिल्लाहरुमा संक्रमण फैलिइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग शाखाको रिपोर्ट अनुसार देशका ७० बडी जिल्लामा यसको सङ्क्रमण देखिएको छ । वर्षायाम सकिएपनि मन्त्रालयले हिउँदमापनि मौसमी मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्ने गरेकाले डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको छ ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । यो मानिसबाट मानिसमा भने सर्दैन । तर डेंगु संक्रमण भएको व्यक्तिलाई एडिस जातको लामखुट्टेले टोकेर फेरि अर्को मानिसमा त्यही लामखुट्टेले टोक्यो भने सर्ने चिकित्सकहरुको तर्क छ । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई र एडिस एल्वोपिक्टस जातको पोथी लामखुट्टेले यो रोग सार्छ ।
यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्छ । सहरी क्षेत्रका सवारी साधनका फालिएका टायर, टिनका बट्टा, गमला, खाली ड्रम, पानी ट्यांकी तथा साना खाल्डाखुल्डीहरुमा यो लामखुट्टे बढी भेटिन्छ । रोग नियन्त्रण अभियानका अभियन्ताहरुले डेंगु एडिस एजेप्टाई र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण भएकाले यसले मानिसमा १०५ डिग्री फरेनहाइटसम्म ज्वरो ल्याउन सक्ने बताउने गरेका छन् ।
डेंगुका बिरामीमा मांसपेसी अत्यधिक दुख्ने तथा आँखको गेडी दुख्ने समस्या धेरैमा हुन्छ । संक्रमित लामखुट्टे टोकेमा तीनदेखि ५ दिन भित्रमा मानिसमा डेंगुको लक्षण देखिन्छ । डेंगु भाइरस डेन १, डेन २, डेन ३ र डेन ४ गरी चार किसिमका लक्षणमा देखा पर्दछ ।
चिकित्सकहरुका अनुसार डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको हो । यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । डेंगु हेमोरेजिक र डेंगु सक सिन्ड्रोम भने अलिक जोखिमपूर्ण हुन्छ । आन्तरिक रक्तश्राव गराएर मानिसको मृत्यु गराउने खालको हुन्छ । यसबाट जोगिन स्थानीय सरकार र स्वास्थ्य सरोकारवालाहरुले विभिन्न समयमा सूचना र प्रचारात्मक अभियान समेत चलाउने गरेका छन् । डेङगु संक्रमणबाट बच्नु र आम नागरिकलाई बचाउनु राज्यको दायित्व हो भनेर सरकार र स्वास्थ्य मन्त्रालयको भर पर्नु र अर्कालाई दोष थोपर्नु भन्दा हरेक नागरिक आफै पनि सचेत हुन जरुरी छ ।