दमक । कृष्ण जन्माष्ठमीको अवसरमा विगत वर्ष झै यस पटक पनि रथयात्रा निकाल्न तयारी तिव्र पारिएको छ । दमकमा भदौ ११ गते मंगलबार रथयात्रा निकाल्ने गरी प्रचारप्रसारसहित अन्य कामहरु भईरहेको अध्यक्ष रोहित आचार्यले बताएका छन् । दमक नगरपालिकाको संरक्षकत्वमा हुन लागेको श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिले सदाका लागि, सबैका लागि ऐतिहासिक श्री कृष्णको रथ दमक नगरीमा परिक्रमा गराउन सबैको साथ र सहयोगका लागि आग्रह गर्दै आएको छ । यद्यपि सो रथ यात्राको व्यवस्थापनका लागि विभिन्न उपसमिति समेत गठन गरेर पत्राचार गरी जिम्मेवारी सुम्पिएको र ती उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी बमोजिम काम गर्रिरहेको अध्यक्ष आचार्यले बताए । आचार्यका अनुसार रथयात्रा प्रचारप्रसार समिति, नेट–तार व्यवस्थापन, स्वास्थ्य सेवा, पुजापाठ व्यवस्थापन, रंगोली निर्माण तथा आरती व्यवस्थापन, आर्थिक व्यवस्थापन, टोल विकास संस्था समन्वय, प्रसादी व्यवस्थापन तथा वितरण, निमन्त्रणा, चिठीपत्र छपाई तथा वितरण, रुट निरीक्षण तथा व्यवस्थापन, झण्डा निर्माण तथा रुट श्रृङ्गार व्यवस्थापन, रथ सुरक्षा व्यवस्थापन, फलफूल व्यवस्थापन, शंखध्वनी व्यवस्थापन, ट्राफिक व्यवस्थापन, स्वयंसेवक परिचालन, रथको प्राविधिक व्यवस्थापन, नौमति बाजा लगायत अन्य बाजागाजा व्यवस्थापन, साउण्ड सिस्टम व्यवस्थापन, लिला, नृत्यहरु व्यवस्थापन, मन्दिर परिसर सजावट,सरसफाई ब्यवस्थापन, पिउने पानी व्यवस्थापन, रथ तान्ने, पुष्प वृष्टी व्यवस्थापन र सजावट, शान्ति सुरक्षा व्यवस्थापन, पञ्चकन्या व्यवस्थापन, विभिन्न जातजातिका संस्कृति पहिचान र व्यवस्थापन, भजन कीर्तन, अनुगमन, शौचालय साथै माक्सको व्यवस्थापनका उपसमितिहरु बनाएर द्रुत गतिमा काम भईरहेको अध्यक्ष आचार्यले बताए ।
दमकको रथयात्रामा सबै समुदायको सहभागिता जुटाउन पत्राचार गरी कामको जिम्मेवारीपूर्वक सबैतिर काम भईरहेको मूल समितिका सचिव प्रेम भट्टराईले बताए । रथ यात्रालाई सबै दमकबासीको अपनत्व महशूस गराउन पूर्वकै नमूनाको रुपमा सञ्चालन गर्ने गरी काम भईरहेको भट्टराईको प्रतिक्रिया छ ।
यसैगरी विराटनगर महानगरपालिकाले पनि रथयात्रालाई भव्य र सभ्य बनाउन तयारीलाई तिव्रता दिएको छ । विराटनगरमा निकालिने रथयात्राका क्रममा फोहोर मैलालाई व्यवस्थापन गर्नका लागि पानी बाँड्नेहरुले महानगरसँग समन्वय गरेर मात्र पानी तिवरण गर्न पाउने भएका छन् । रथयात्राका त्रममा पूर्वस्वीकृत लिएर मात्रै पानी, सर्बत, प्रसाद लगायतका सामग्री वितरण गर्न सरोकारवालाहरुलाई महानगरबाट पूर्वस्वीकृति लिन आग्रह समेत गरेको छ । गरेको छ । महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । रथयात्राको त्रममा पानी, सर्बत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा संघ–संस्थाहरूले अनिवार्य रूपमा महानगरबाट पूर्वस्वीकृति लिनुपर्नेछ । महानगरपालिकाले सेवा प्रदायकहरूलाई फोहोरलाई डस्टबिन वा बोरामा संकलन गरी सडक सरसफाईको साधनमा राख्न निर्देशन दिएको दाहालले बताए । दाहालका अनुसार रथयात्रालाई स्मरणीय र उदाहरणीय बनाउन महानगरले सबै शक्ति लगाएर काम गरिरहेको पनि बताए ।