झापा। आँखाको ज्योति गुमाएकाहरूलाई ज्योति दिने उद्देश्यले शनिबार झापामा ५० किलोमिटर ‘कोरा राइड’ सम्पन्न गरिएको छ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिएको हो । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने परियोजनाका लागि कोष संकलन गर्नेबारे केही दिन अघि छलफल भएको थियो ।
यस कार्यक्रमअन्तर्गत दैनिक ज्यालादारी गर्दै आएका विपन्न परिवारका व्यक्तिको बिर्तामोड आँखा अस्पतालको सहकार्यमा विशेष छुटमा मोतियाबिन्दुको शल्यक्रिया गरिने अस्पतालका सञ्चालक विनोद दाहालले जानकारी दिए ।
कम्तीमा १० जना विपन्न मानिसको दृष्टि प्रदान गर्नका लागि एक लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि राइडरलाई अन्य सहयोगीले प्रतिकिलोमिटर १०० रुपैयाँ प्रदान गरेका छन् । यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी दुई जना भन्दा बढी राइडर्सको सहभागिता थियो ।