दमक । नेकपा एमाले झापाका नेता तथा राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता दमक निवासी देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा, दमक ५ निवासी दाहालले पहिलोपटक मन्त्रीका रुपमा अवसर प्राप्त गरेका छन् । दाहाल अहिले राष्ट्रिय सभामा एमाले संसदीय दलको नेताको जिम्मेवारीमा छन् । दमकबाट मन्त्री बन्ने दाहाल पहिलो नेता हुन् ।
राष्ट्रिय सभाका तत्कालीन संसदीय दलका नेता खिमलाल भट्टराईले राजीनामा गरेपछि दलको विधान, २०७७ बमोजिम ओलीले दाहाललाई मनोनित गरेका थिए । एमाले झापाका अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य रहेका उनी विस २०५६ सालको प्रतिनिधिसभाको उपनिर्वाचनमा तात्कालीन कांग्रेसका डा. गोपाल कोइरालासंग पराजित भएका थिए । दाहालको त्यो पराजयपछि ओलीकै सल्लाहमा काठमाडौँ केन्द्रित भएर राजनीतिमा सक्रिय भएका थिए । उनले ओलीको सचिवालयमा पनि काम गरिसकेका छन् ।
यसअघि एमालेकै सांसद रघुवीर महासेठले नेतृत्व गरेको मन्त्रालय दाहालले पाएका छन् । मन्त्री नियुक्त भएपछि सञ्चारकर्मीहरुसंग संक्षिप्त प्रतिकृया दिदै दाहालले सडक दुर्घटना न्यूनिकरणको नीति बनाउने बताएका छन् । भौतिक मन्त्रालयअन्तर्गत गर्नुपर्ने थुप्रै समस्याहरू समाधानमा प्रतिबद्ध भएको उनले जनाए । राष्ट्रिय गौरवका धेरै आयोजनाहरू अलपत्र अवस्थामा भएकाले पनि ती सवै कामलाई प्राथमिकता दिएर चाँडो नतिजा देखिने काम गर्ने प्रतिवद्धता जनाए । दाहाल राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ बाट खुलातर्फबाट विजयी बनेर हाल राष्ट्रिय सभाको सदस्य छन् ।