उर्लाबारी, २३ माघ। उर्लाबारीमा विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले प्रतियोगिताको उद्घाटन् गर्दै उत्कृष्ट खेलाडी उत्पादन गर्नमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता महत्वपूर्ण रहेको बताए । उनले खेललाई व्यवसायिक बनाउन निरन्तरता अभ्यास आवश्यकता रहेको जनाए । उनले विद्यालय तहदेखि नै खेलकुदमा दक्ष बनाउँदै लैजानुपर्ने उल्लेख गरे । उर्लाबारी नगरपालिकाको आयोजना र राधिका मावि उर्लाबारी ६ को व्यवस्थापनमा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षता सम्पन्न उद्घाटन् कार्यक्रममा प्रदेश सांसदहरु शोभा चेम्जोङ पालुङ्वा र विद्या चाम्लिङ, नगर उपप्रमुख मीना खतिवडा पौडेललगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा उर्लाबारीका २१ विद्यालयले सहभागिता रहने प्रतियोगिताका सदस्य सचिव तथा राधिका माविका प्रधानाध्यापक कुमार पोख्रेलले जनाए ।