देश–समाज

हुलाक नचलेपछि कर्मचारी कटौती

विमल लामिछाने..

दमक, २३ माघ। असार २८ देखि ९० वर्ष टेकेका ज्येष्ठ केदारनाथ लामिछाने ‘हुलाकी बा’ उपनामले परिचित छन् । इलामको फाकफोकथुम ३ स्थायी घरभइ हाल झापाको दमक– १ मा बसोबास गर्दै आएका उनलाई अहिले पनि ‘हुलाकी बा’ भनेपछि पूर्वी पहाडमा नचिन्ने कमै होलान् ।

२०३२ सालदेखि हुलाक सेवामा कार्यरत रहँदै डाक बोकेर उनको ३२ बसन्त वित्यो । उनीमात्र होइन, उनको परिवारै हुलाक सेवाका कर्मचारी भएर कोही अवकास भइसकेका छन् भने कोही अहिले पनि सेवामै छन् । केदारनाथका माइला भाइ बद्रीप्रसादको गतवर्ष देहवसान भयो । उनीपनि चिठ्ठी बाँड्ने हल्कारा थिए ।

‘हुलाकी बा’ का ६ भाइ छोरा मध्ये जेठा छोरा जयनारायण बैदार भएर लामो समय काम गरेपछि अहिले अवकास भएका छन् । माइलो छोरा लग्नप्रसादले पनि बुबा केदारनाथसँगै करिब १० वर्ष हल्काराको काम गरेका हुन् । उनी अहिले पनि फाकफोकथुमको एकतप्पाबाट आमचोकसम्म डाक बोक्ने काम गरिरहेका छन् । छोरो साहिला बलराम पनि हुलाकी नै छन् । उनी अहिले पनि इलामको फाकफोकथुममा हल्काराको जिम्मेवारी सम्हालिरहेकै छन् ।

हुलाकी बा भन्छन्– ‘त्यो बेला हुलाकीको बहुत मान्यता थियो । हुलाकी हिँडेको देखेपछि सबैले बाटो छोडिदिन्थे । सरकारले पनि हातमा त्रिशुल बोकेर हिँड्ने छुट दिएको थियो । हुलाकीलाई देखेपछि सेनाले पनि बाटो छोड्नु पथ्र्याे ।’

उनले भने– ‘जतिपनि चिठ्ठी पत्रहरु हुन्थे सबै झोलामा शिल गरेर ओसारपसार गरिन्थ्यो । अलि पछि त एसएलसी परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका समेत बोक्नुपथ्र्यो । यो बेला भने ज्यानको जोखिम पनि उत्तिनै हुन्थ्यो । बाटो जंगल र धेरै खोलाखोल्सा तर्नुपर्ने भएकाले लुटिनेपो हो कि भन्ने डर पनि उत्तिनै हुन्थ्यो ।’

उनले विगत स्मरण गर्नेक्रममा थपे ‘घरायसी चिठ्ठीपत्र लेखेर पठाउने जमानामा गाउँगाउँमा पुग्ने चिठ्ठी मात्र होइन वल्लो पल्लो गाउँका खबर मौखिक रूपमा पनि पु¥याउँथ्यौं । हामी लामो बाटो पैदल हिँडेर डाक बोक्नुपथ्र्यो तर अहिले हुलाकीको ओहोर दोहोर बिरलै देखिन्छ, उनीहरू घाम तापेर दिन बिताउने छेपारा जस्ता भएका छन् ।’ त्यो बेला हुलाक घरमा पुग्न नभ्याउनेलाई चिठ्ठी खसाल्न सजिलोका लागि हुलाक कार्यालयले सडक किनारहरूमा पत्रमञ्जुषा पनि राखिदिएको थियो । ‘अहिले चिठ्ठीको काम फोन, कम्प्युटरले गर्न थालेको छ भन्छन् । चिठ्ठीको कुरा त इतिहास जस्तो भइसक्यो ।’– उनले भने ।

आधुनिक सूचना तथा सञ्चार प्रविधिको विकास नभएको जमानामा खबर, सूचना र समाचार आदानप्रदान गर्ने माध्यम चिठ्ठीपत्र थिए । ती चिठ्ठीपत्र आदानप्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा विक्रम संवत् १९३८ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको इतिहास छ ।

सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भयो । सञ्चार माध्यममध्ये यस्तो पुरानो इतिहास बोकेको हुलाक सेवालाई नेपालमा थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन विक्रम संवत् २०१९ मा हुलाक सेवा ऐन बनाइयो ।

त्यहीबमोजिम हुलाक सेवा विभागले हुलाक सेवाको व्यवस्थापन गर्दै आएको छ । तर इन्टरनेटको पहुँच, फेसबुकलगायत सामाजिक सञ्जाल र मोबाइल फोनको पहुँच विस्तार हुँदा घरायसी चिठ्ठीपत्र लेखी पठाउने चलन नै हरायो । चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाक सेवाको मुख्य आम्दानी स्रोत टिकट बिक्री नै घट्यो । अनि हुलाक सेवा थला प¥यो ।

औचित्य र आवश्यकताका आधारमा अझ पनि महत्व रहेको हुलाक सेवालाई अब आधुनिक जमानाको माग अनुरूप सेवा क्षेत्र विस्तार गरी प्रभावकारी बनाउन आवश्यक देखिएको छ ।

स्थापनाकालमा चिठ्ठीपत्र ओसारपसार गर्ने कार्यमा मात्र केन्द्रित रहेको नेपालको हुलाक सेवाले पुलिन्दा सेवा, हुलाक बचत बैंक सेवा, धनादेश सेवा, इएमएस सेवा, उपत्यका घुम्ती सेवा, ट्र्याकिङ सेवालगायत आधुनिक तथा छिटो छरितो सेवाहरू सञ्चालन नगरेको होइन तर उसको सेवा प्रवाह छिटो छरितो हुन सकेन । त्यसैले हुलाक बचत बैंककै अस्तित्व मास्नु पर्यो ।

११ हजार हुलाकी विदा हुने
सरकारले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्भेमार्फत हुलाकतर्फका करिब १ हजार ७ सय कर्मचारीको स्थायी दरबन्दी कटौती गर्न प्रस्ताव गरेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले सरकारले जिल्ला र इलाका र अतिरिक्त हुलाक कार्यालयहरु खारेज गर्ने र प्रत्येक स्थानीय तहमा हुलाक कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो । यही घोषणाअनुसार जिल्ला र इलाका हुलाक कार्यालयसहित हुलाक निर्देशनालयहरुको पुनर्संरचना गर्दै स्थायी दरबन्दीको पुनरावलोकन गरेको हो ।
यसअनुसार करिब १ हजार ६ सय ७५ दरबन्दी कटौती हुन लागेको हो । हुलाक सेवामा अहिले कुल १७ हजारभन्दा बढी कर्मचारीको दरबन्दी छ । त्यसमध्ये ६ हजारभन्दा बढी स्थायी दरबन्दी छ । स्थायीमध्येबाट करिब १ हजार ७ सय दरबन्दी कटौती गर्न लागिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
सरकारले ८६२ वटा इलाका हुलाक कार्यालयहरुलाई पुनर्संचना गर्दै ६७६ स्थानीय तहको मुकाममा एक-एक वटा स्थानीय तहस्तरीय हुलाक कार्यालय स्थापना गर्न लागेको छ । ७७ वटा जिल्ला सदरमुकाममा रहने जिल्ला कार्यालयहरुले सोही स्थानीय तहको हुलाकको काम गर्ने गरी व्यवस्थापन गर्न लागिएको जनाएको छ ।

You may also like