उर्लाबारी, १४ माघ। उर्लाबारी ३ स्थित दुर्गा माध्यमिक विद्यालयले विद्यार्थीका लागि शारीरिक विकास, आत्मसुरक्षा र अनुशासनमा टेवा पु¥याउने हेतुले कराते प्रशिक्षण कार्यक्रम नियमित गर्ने भएको छ ।
विद्यालयले औपचारिक कार्यक्रम गरी प्रशिक्षण शुभारम्भ गरेको छ । नेपाल सितेरियो कराँते संघ मोरङ शाखाको प्राविधिक सहयोग तथा प्रशिक्षणमा जिल्लामै पहिलोपल्ट यहाँका विद्यार्थीलाई कराँते खेलमा समावेश गराइएको हो । शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति सहभागी गराई प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको थियो । शैक्षिक क्यालेण्डर बनाएरै विद्यालयका विद्यार्थीहरुलाई नियमित कराँते अभ्यास गराइने प्रधानाध्यापक शारदा पाण्डेले बताइन् ।
प्रमुख अतिथि उर्लाबारी ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीले कार्यक्रम उद्घाटन गरे । दुर्गा माविमा अध्ययनरत ६ वर्ष उमेर समुह माथिका विद्यार्थीलाई कराँते प्रशिक्षण दिइने छ । सितोरियो कराते संघ मोरङका कार्यबाहक अध्यक्ष इन्द्र लामाका अनुसार खेलको विकास, खेलाडी उत्पादन तथा प्रवर्धन गर्न प्रत्येक सामुदायिक विद्यालयस्तरमा कराते प्रशिक्षण नियमित गराउने लक्ष्य लिइएको छ । सो विद्यालयमा कार्यरत शिक्षक इन्द्र लिङ्देन आफै कराँते ब्ल्याकबेल्ट हुन् । उनकै जोडबलमा विद्यालयमा प्रशिक्षण कार्यक्रम थालनी गरिएको हो । विद्यार्थीहरुलाई ब्लाकबेल्ट पाल्देन लामाले प्रशिक्षण गराउने बताइएको छ । उद्घाटन कार्यक्रममा भने ब्लाकबेल्टहरु उर्लाबारीका सन्दिप राई र लेटाङकी इक्सा लिम्बूले विद्यार्थीहरुलाई कराँते प्रशिक्षण गराएका थिए ।