बिर्तामोड, ०३ माघ। झापाको अर्जुनधारा ११ स्थित सालबारीमा रहेको महारानीगञ्ज माविले ६६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तरमावि फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
महारानीगञ्ज मावि बाल क्लबको आयोजनामा स्व. कृष्णप्रसाद डाँगी स्मृति अर्जुनधारा नगरपालिका अन्तरमावि नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा महारानीगञ्ज माविले लक्ष्मी माविसँग प्रतिष्पर्धा गरेको छ । यस्तै, शनिश्चरे माविले सिंहदेवी मावि, भानु माविले अर्जुनधारा मावि र जनता माविले कालिस्थान माविसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । तालिकाअनुसार सेमिफाइनल खेल १० र ११ गते हुनेछ भने फाइनल खेल माघ १५ गते हुने विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बू (अभागी थेगुवा) ले जनाए ।
प्रतियोगितामा अर्जुनधारा नगरभित्र रहेका विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका छन् । सालबारी निवासी अरुणकुमार डाँगीले प्रायोजन गर्ने प्रतियोगिताको विजेताले नगद २० हजार र ट्रफी र उपविजेताले नगद १० हजार प्राप्त गर्नेछ ।
