दुधे, २६ पुस। शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यकासाथ झापाको शिवताक्षीमा विद्यालय तहका शिक्षक शिक्षिकालाई परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित प्रवोधिकरण गराइएको छ । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा कक्षा ४ देखि १० सम्म अध्यापन गराउने शिक्षक शिक्षिकालाई विषयविज्ञमार्फत प्रवोधिकरण गराइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाका प्रमुख छवि ढकालले बताए । उनका अनुसार सामाजिक, नेपाली, अङ्ग्रेजी र गणित÷ विज्ञान विषय अध्यापन गराउने शिक्षकलाई प्रबोधिकरण गराइएको हो । प्रवोधिकरण भनेको कुनै विषयमा बोध गराउने वा विषयवस्तु प्रसार गर्ने हो । कार्यक्रममा कक्षा ४ र ५ का १, ६ ७ र ८ बाट १ र ९ र १० बाट ४ गरेर १०५ शिक्षक शिक्षिकालाई चार समूहमा विभाजन गरी तीन दिनसम्म प्रवोधिकरण गराइने शिवसताक्षी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
पहिलो चरणमा सामुदायिक विद्यालयका विषयगत शिक्षक शिक्षिकालाई र दोस्रो चरणमा एकीकृत पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक शिक्षिकालाई पनि सहभागी गराइनेछ । विषय विज्ञ शिक्षकहरू श्रीप्रसाद खरेल, रमेश कुमार दाहाल, फडिन्द्र चेम्जोङ, हरी प्रसाद तिम्सिना र कमल भट्टराईले परिवर्तित पाठ्यक्रमका विषयमा शिक्षक शिक्षिकालाई प्रवोधिकरण गराइरहेका छन् ।