समाचार

विद्यालय व्यवस्थापनमा समस्या

दमक/ झापाको दमकमा शिक्षा ऐन बनेको झण्डै दुई वर्ष पुग्न लाग्दा पनि सरकारी भनिने सामुदायिक विद्यालयहरुमा अझैसम्म पनि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । दमकका २१ वटा सामुदायिक विद्यालयमा ति समितिहरु गठन हुन नसक्दा विद्यालयको रेखदेख, संचालन, भौतिक पूर्वाधार निर्माणका काम, शिक्षकहरुको सरुवा बढुवा तथा अभिभावहरुसंगको समन्वय जस्ता काममा भनेजसरी निर्णय र व्यवस्था गर्न नसकिएको गुनासो सरोकारवालाहरुले गर्दै आएका छन् । नगरपालिकाले २०७६ चैत्र १ गते दमक नगर शिक्षा ऐन जारी गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको थियो  ।
तर त्यसयता सो ऐन कार्यान्वयन गर्नुको साटो विद्यालयहरुलाई निर्देशन गरी सीमित व्यक्ति राखेर विद्यालय व्यवस्थापन समिति गठन गरी आवश्यक काम कारवाहीहरु गर्दै आएको छ । सरकारी विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्दा राजनीतिक दलहरुबीच समितिका सदस्यहरुको छनौटका लागि भागबण्डा हुँदै आएको छ । दमक पूर्वको कमल गाउँपालिकामा भने ३ वटा बाहेक सबै विद्यालयहरुमा सहमतिको आधारमा विव्यस गठन भइसकेको र विद्यालयको काम संघीय ऐन अनुसार हुनेगरी या त्यससंग नबाझिने गरी हुँदै आएको सो गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले जानकारी गराए । ‘हामी कहाँ २१ वटा सामुदायिक विद्यालय रहेकोमा अधिकांशमा स्थानीय अभिभावकहरुको सहमतिमा एक वर्षअघि देखिनै विव्यस गठन गर्दै आएका छौं । तर केही विद्यालयमा सहमति हुन नसकेका कारण अझैसम्म पनि गठन भएको छैन ।’ शिक्षा शाखा प्रमुख न्यौपानेले प्रष्ट पार्दै भने – अब सहमति भएन भने बाँकी रहेका विद्यालयमा पनि अभिभावकहरुको चुनाव गराएर विव्यस गठन हुन्छ । हामी त्यो प्रकृयामा छौं ।’
तर दमकको स्थिति भने यस्तो छैन । गएको एक वर्ष ९ महिनादेखि दमक–२ को हिमालय माध्यमिक विद्यालय बाहेक अधिकांशमा तीन सदस्यीय विद्यालय व्यवस्थापन समितिले मात्र काम गरिरहेको छ, जसमा नगरको वडाका वडाध्यक्ष या वडा समितिको एक जना सदस्य सो समितिको अध्यक्ष, एक जना शिक्षक प्रतिनिधि र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रहेका छन् । यसो हुँदा अभिभावक भने समितिमा नसमेटिएकाले उनीहरुको गुनासो आएको जानकाहरुले बताएका छन् । तीन सदस्यीय समिति बनेपछि कतिपय विद्यालयमा राजनीतिक पहुँच र बहुमतको आडमा कतिपय प्रधानाध्यापक समेत फेरबदल गरिएको थियो  ।
अहिले विव्यव अध्यक्ष जनप्रतिनिधि रहेको र उनीहरुको काम र दायित्व जनताका कामका हिसावमा धेरै हुने भएकाले विद्यालयका काममा समय दिन कठिनाई भइरहेको विद्यालय स्रोतले बताएको छ । यद्यपी विव्यसको अध्यक्ष अभिभावकले चुनेका २ महिला सहित ४ जना, वडाध्यक्ष या वडा समितिको प्रतिनिधि १ जना, शिक्षक प्रतिनिधि १ जना र प्रधानाध्यापक १ जना गरी ७ जनाले चुनेका स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी तथा चन्दादाताहरुमध्येबाट मनोनित १ महिला सहित २ जनाले चुन्नुपर्ने कानुनी प्रावधान छ । शिक्षक प्रतिनिधि र प्रअ बाहेक जोसुकै १ जनालाई सो समितिले विव्यसको अध्यक्षमा बैठक बसी चयन गर्नुपर्ने हुन्छ । तर विद्यालयमा खासगरी ४ जना अभिभावक छनौट गर्दानै बढी राजनीति हुने गर्छ । त्यसमा राजनीतिक दलहरुले बढी चासो देखाउने र आपसी सहमति नभए चुनाव समेत गर्ने गरिएको छ । कतिपय अवस्थामा कुरा नमिल्दा विद्यालय दलहरुको विवाद र असमझदारीको कोपभाजनमा समेत परी विव्यस गठनमा ढिलाई हुने गरेको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहलाई भएकाले शिक्षा ऐनमा भएको प्रावधान लागु गर्न दमक नगरपालिकाले पहल गर्नुपर्ने ढुकुरपानी माविका प्रधानाध्यापक कृष्ण भण्डारीले बताए ।
‘तर दमकमा विव्यस गठनमा ढिलाई हुनुमा कोरोना महामारीनै मुख्य कारक रहेको हो, अरु खास कारण छैन ।’ दमक नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव दिनेश कुमार न्यौपानेले भने – तर अब कोरोना केही हटेकाले यही मंसिर २८ गतेभित्र विद्यार्थी र अभिभावकको ठेगाना र सम्पर्क नम्वर सहितको विवरण नगरपालिकामा पठाउन सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिसकिएको छ । त्यो विवरण आएपछि लगत्तै विद्यालय व्यवस्थापन समिति शिक्षा ऐनअनुसारनै गर्ने कुरामा प्रकृया शुरु हुन्छ । अभिभावक सहितको विद्यालय व्यवस्थापन समिति गठनको काम गछौं । ’ यस्तै कुरा हाल दमक–२ स्थित हिमालय माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सो वडाका वडाध्यक्ष प्रजापति सापकोटाले पनि गरे  । वडाध्यक्ष सापकोटाले आगामी पुष मसान्तभित्रमा दमकका सबै सामुदायिक विद्यालयहरुमा विव्यस गठन गरिसक्ने उनले बताए ।

You may also like