दमक/यतिबेला झापामा कोरोना भाइरसको संक्रमण दर बढ्दो छ । झापामा मात्र होइन, देशभरनै कोरोना संक्रमण बढेको सरकारी तथ्यांक छ । यस्तो अवस्थामा अघिल्लो सातादेखि नै झापामा सर्वपक्षीय छलफलबाट निषेधाज्ञा लगाइएको छ । यो साउनभर निषेधाज्ञाको अवधि रहेको छ । तर कोरोना रोक्न निषेधाज्ञा लगाउन कति उचित कति अनुचित भन्ने प्रश्न यतिबेला उब्जिएको छ । केही दिन यता मानिसहरुको आवत जावत बढेको र सबै प्रकारका सवारी साधनहरुको आवागमनले यो प्रश्न उब्जाएको हो ।
निषेधाज्ञा नाम मात्रैको
झापामा साउनको पहिलो हप्तासम्ममा विभिन्न पालिकाहरुले आ–आफ्नै ढंगले निषेधाज्ञा लगाएका थिए । कुनै पालिकाले कडा त कुनै पालिकाले खुकुलो निषेधाज्ञा लगाएका थिए । यसो गर्दा गर्दै १५ मध्ये १० वटा पालिकाहरुले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा लगाएका थिए । तर निषेधाज्ञामा एकरुपता नभएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाको पहलमा सबै पालिकाका प्रमुख÷ उपप्रमुख, जिल्लाका सुरक्षा निकाय तथा जिल्लास्तरीय कार्यालयहरुमा प्रमुखहरुको उपस्थितिमा सर्वसम्मतिबाट निषेधाज्ञा जारी गरेको हो । तर यो निषेधाज्ञा अहिले नाममात्रैको हुन थालेको छ । अहिलेको निषेधाज्ञामा विहान ६ देखि विहान ९ बजेसम्म खाद्यान्न, तरकारी, फलफूल, दूग्ध तथा दूग्धजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थको विक्री वितरण खुला गरिएको छ । यो अत्यावश्यक वस्तुको आपूर्ति तथा उपभोगका लागि स्वाभाविक हो । पूर्वपश्चिम राजमार्गमा मध्यम तथा लामो दूरीका सवारी साधनहरु पनि चलिरहेका छन् । साउन २३ गतेदेखि सातामा तीन दिनसम्म आलोपालो हिसावमा बैंक तथा वित्तीय संस्थाहरु पनि खुला गरिएका छन् । यसबाट सेवाग्राहीहरुलाई भने कारोबारमा त सजिलो भएको छ । तर यि सबै कार्यबाट निषेधाज्ञाको भने पूर्णरुपमा पालना हुन सकेको छैन ।
खोप लगाउन र भत्ता लिनमा भीड
यतिबेला कोरोना विरुद्धको खोप लगाउने कार्य धमाधम भइरहेको छ । त्यस्तै ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रम पनि केही दिन यता चलिरहेको छ । यो अनिवार्य कुरा हो कि कोरोनाको विश्वव्यापी महामारीबाट बच्न खोप लगाउनु पर्छ । तर खोप लगाउँदा उल्टै कोरोना सर्ने अवस्था सिर्जना हुन भने दिनु हुँदैन । यसका लागि विभिन्न पालिकाहरुले तोकेका केन्द्रहरुमा मानिसको भीडभाडलाई सामाजिक दूरी कायम गराउने कुरामा विशेष ध्यान दिनुपर्छ । तर यस कुरामा स्थानीय पालिकाहरुले ध्यान दिन सकेका छैनन् । यस्तो बेला मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने या साबुन पानीले हात धुने र सामाजिक दूरी कायम गर्न लगाउने कुरामा ध्यान नदिएको पूर्वसन्देश दैनिकले गरेको अवलोकन भ्रमणमा भेटिएको छ ।
त्यसैगरी यस आर्थिक वर्षमा पहिलो किस्ताको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिँदै आएको छ । त्यस क्रममा पनि भत्ता लिने स्थलमा उस्तै र बाक्लो भीड देखिएको छ । अधिकांशले सामाजिक दूरी कायम गरेको देखिएको छैन र त्यहाँ मानिसहरुलाई कर्मचारीको संख्या न्यून हुने हुँदा भीडलाई व्यवस्थित गर्न नसकेको पनि पाइएको छ । यसबाट निषेधाज्ञा जारी गर्नुको अर्थमाथि नै प्रश्न चिन्ह् उठेको छ ।
चहलपहल र असावधानी उस्तै
स्थानीय प्रशासनले निषेधाज्ञालाई केही खुकुलो गरेसंगै झापाका दमक, विर्तामोड, गौरादह, सुरुङ्गा लगायतका सहर बजारका भित्री सडकमा ओहोर दोहोर गर्नेको संख्या पनि बढेको छ । बजारमा होस् या भित्री टोलमा मानिसहरुको चहलपहल उस्तै देखिएको छ । बैंकमा जाँदा होस् या सहकारी लगायतका वित्तीय संस्थामा जाँदा होस् मानिसहरुको चहल पहल र भीडभाड उल्लेख्य देखिएको छ । यसका साथै मास्क नलगाई हिंड्ने र व्यक्तिगत सावधानी नअपनाउने क्रम पनि उस्तै छ । भित्री टोल तथा क्षेत्रमा खाद्यान्यका अर्थात् किराना र चिया पसलहरु भित्री रुपमा खुलाइएको पाइन्छ । मुख्य कुरा त कोरोनाको संक्रमणको दिनहुँको संख्या हेर्ने हो भने त्यो घटेको होइन, बढेको पाइएको छ । त्यसकारण निषेधाज्ञा लगाउनु नै उचित होइन कि भन्ने जस्तो भएको छ । बरु निषेधाज्ञाको सट्टामा मानिसहरुलाई व्यक्तिगत रुपमा स्वयंले सुरक्षा सावधानी अपनाउने कुरामा विशेष जोड दिनुपर्ने देखिन्छ ।
निषेधाज्ञा पूर्णरुपले अनुचित नभएपनि मानिसहरुको हिंड्डुलको अवस्थालाई हेर्दा यसको व्यवहारिक अर्थ नदेखिएको विश्लेषकहरु बताउँछन् । जस्तो कि काठमाडौं उपत्यकामा अहिले कोरोना संक्रमणको दर उल्लेख्य रहेपनि निषेधाज्ञा लगाइएको छैन । त्यसबाट मानिसहरुको दैनिकी पनि चल्ने अर्थात् अर्थतन्त्र पनि चलायमान हुने र व्यक्ति स्वयंलाई नै सचेन हुने तर्फ सजग गराउन सकिन्छ ।