झापामा नीजि सवारी खुला, व्यापार–व्यवसाय ३ बजेसम्म
दमक/झापामा यही असार २१ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको छ । सोमबार सम्पन्न डिसीसीएसीको बैठकले निषेधाज्ञा पुनः थप गरी असार २१ गते राति १२ बजेसम्मका लागि कायम राख्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । बैठक पछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्वारा जारी आदेशअनुसार निजी सवारी साधनहरुलाई जोर विजोर प्रणालीका आधारमा संचालन हुन दिने निर्णय पनि गरिएको छ । तर काठमाडौंमा जस्तो सार्वजनिक सवारी साधन संचालन भने खुला नगरिने भएको छ ।
हाल खुल्दै आएका अत्यावश्यक पसलहरुको समयलाई बढाइएको छ । जुन विहान ६ बजेदेखि अपुरान्ह ३ बजेसम्म सञ्चालन गर्न पाइने छ । सरकारी, सार्वजनिक संस्था, बीमा लगायतका कार्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालमा गरी गराई भिडभाड नगरिकन आलोपालो प्रणाली अवलम्बन गरी सेवा प्रवाह गर्ने निर्णयमा उल्लेख छ । मल खाद, बिउ विजन, कुखुरा चल्ला दाना पसल, पशुपंक्षीका आहारा तथा कृषि सम्बन्धी पसल भने विहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
यसका साथै औषधि र स्वास्थ्य सामाग्री, ईन्धनबाहेक अन्य पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दूध डेरी, पुस्तक, निर्माणजन्य सामाग्री, इलेक्ट्रोनिक, टेलरिङ . ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा, गाडी÷मोटरसाईकल शोरुम, प्लास्टिक तथा मेसीनरी, फर्निचर पसल बिहान ६ बजेदेखि अपरान्ह ३ बजे सम्म संचालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । होटल तथा रेष्टुरेन्टमा भने टेक अवे सेवा मात्र सञ्चालन गर्न पाइने छ । बैठकले सबै प्रकारका नीजि सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणाली अन्तर्गत झापा जिल्ला भरी सञ्चालन गर्न पाउने निर्णय गरेको छ । सिनेमा हल, पार्टी प्यालेस, सैलुन, मनोरञ्जन स्थाल, पार्क, स्विमिङ पुल, ब्युटि पार्लर जिम खाना बन्द हुने जनाइएको छ । शैक्षिक संस्था बन्द नै राख्ने निर्णय गरिएको छ । झापामा सोमबार मध्यराति १२ बजे निषेधाज्ञाको अवधि सकिएपछि फेरि निषेधाज्ञा लम्ब्याइएको हो । यसैगरी सोमबारनै दमक नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण पालिकास्तरीय संरचना समितिको बैठक नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसी जिल्ला प्रशासन कार्यालयले गरेकै निर्णय अनुसारनै हुनेगरीकमो निषेधाज्ञा जारी गर्ने निर्णय गरेको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कोरोना नियन्त्रणमा निषेधाज्ञा
कोरोनाको दोश्रो लहर चलेसंगै जारी भएको निषेधाज्ञा नै खोप लगाउनु बाहेकको एउटा प्रभावकारी उपाय हो । मानिसहरुको आवागमनमा नियन्त्रण गर्न र अनावश्यक हिंड्डुल गर्न नदिँदा कोरोना संक्रमणको दरमा उल्लेख्य कमी आएकै हो । तर पछिल्ला दिनमा भने देशका कनै क्षेत्रमा कोरोना बढेको र कुनै क्षेत्रमा घटेको स्थिति छ । काठमाडौं उपत्यकामा भने कोरोनाको संक्रमण दर घटेकाले र सम्बन्धित सरोकारवालाहरुको आवश्यकता र जनचाहनालाई मध्यनजर गरी निषेधाज्ञा खुकुलो गरिएको जानकारहरु बताउँछन् ।
अहिलेका अवस्थामा सरकारले खोप उत्पादक देशहरुबाट अपेक्षाकृत रुपमा खोप भित्र्याउने अवस्था छैन । त्यसकारण पनि निषेधाज्ञा लम्ब्याउने र नागरिकलो आवश्यक सतर्कता र सावधानी अपनाउनुनै कोरोनाबाट जोगिने एउटा उपाय हो ।