देश–समाज समाचार

दमकमा छाेइनसक्नुभाे तरकारीको मूल्य (तरकारीकाे मूल्य सहित)

दमकमा तरकारीकाे मूल्य
  • पंकज दाहाल

व्यापारी भन्छन्–होलसेलमै महंगो पर्छ
उपभोक्ता भन्छन्–किनेर खानै नसकिने भो

दमक/ कोरोनाको महामारीबाट आर्थिक उपार्जनको काममै असर परेका बेला सबैको भान्सामा चाहिने तरकारीको मूल्य भने आकाशिएको छ ।

उपभोक्ताका लागि तरकारी नभइ नहुने चीज हो ।

तर यस्तो दैनिक उपभोग्य बस्तुको मूल्य बढ्दा स्थानीय उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन्  ।

व्यापारीहरु भने तरकारीको व्यापार पनि पहिलेजस्तो नभएको र मन्दी आएको बताउँछन् ।

यस्तो छ तरकारीको मूल्य

दमक–६ स्थित नयाँ सब्जी बजार र दमक–८ स्थित अर्को सब्जी बजारमा अवलोकन र सोधपुछ गर्दा  तरकारीको मूल्य यस्तो पाइएकोछ ।

जसअनुसार आलुको मूल्य नयाँको ९० र पुरानोका ६५ रुपैयाँ प्रति किलो रहेको छ ।

नयाँ आलु अहिले भुटान र पुरानो आलु भारतबाट आउने गरेको व्यापारीहरुले जानकारी गराए ।

नेपालको आलु भने त्यति नभएको बताइएको छ । त्यस्तै प्याजको मूल्य ८० देखि ९० रुपैयाँ प्रति किलो रहेको छ ।

लसुनको २०० र अदुवाको १२० रुपैयाँ प्रति किलो मूल्य रहेको छ ।

प्रति किलो मूल्यमा इस्कूस ४० देखि ५०, फूलकोभी १८०, बन्दाकोभी ५०, करेला १६०, टमाटर १००,

बोडी २००, फर्सी ५०, घिरौंला ६०, चुचे करेला १६०, भिण्डी १२०, गाजर १००, मुला ५० र काँक्रा ५० रुपैयाँ

रहेको कुमार सब्जी पसलका आशिष श्रेष्ठले जानकारी गराए ।

धेरै उपभोग गरिने आलु र प्याजकै मूल्य बढेपछि सर्वसाधारण उपभोक्ता चर्को मूल्य तिरेर तरकारी खरिद गर्न बाध्य भएका छन् ।

तर तरकारीको मूल्यमा दिनहुँजसो हेरफेर हुनसक्ने व्यापारीहरुले बताएका छन् ।

उनीहरुका अनुसार तरकारीको मूल्य आज एउटा छ, भोलि अर्कै हुनसक्छ ।

स्थानीयत उपलब्धता, उत्पादन र आपूर्तिका आधारमा मूल्यमा घटबढ भइरहने उनीहरुले बताए ।

वर्षामा सँधै बढ्छ

तरकारीको मूल्य प्रत्येक वर्ष वर्षाको समयमा बढ्ने गरेको व्यापारीहरु बताउँछन् ।

वर्षामा किसानहरुले सबैजसो खेतमा धानबाली लगाउने र वर्षाका कारण तरकारी लगाउन नपाइने भएकाले तरकारीको उत्पादन घट्ने गर्दछ ।

उत्पादन घटेर बजारमा आपूर्ति कम हुँदा मूल्य बढ्नु स्वाभाविक भएको अर्का व्यापारी पंकज साहको भनाई छ ।

तर यसपालि भने विगतका वर्षहरुमा भन्दा पनि धेरै अंकले मूल्य बढेको पाइएको छ ।

यसको कारण भनेको कोरोनाको महामारी, लकडाउन र निषेधाज्ञा जस्ता कुरा र चाडपर्व नजिकिनु पनि भएको व्यापारी श्रेष्ठ र साहको तर्क छ ।

अर्कातर्फ स्थानीय ठाउँका किसानबाट प्राप्त हुने तरकारी पनि महंगो मूल्यमै पाइने भएकाले सोही अनुसार बेच्दा तरकारीको मूल्य बढेको उनीहरुको भनाई छ ।

तर अहिले स्थानीय ठाउँबाट खासै तरकारी नआउने गरेको उनीहरु जानकारी गराउँछन् ।

होलसेलबाटै बढेर आउँछ

अर्को कारण भनेको होलसेल व्यापारीले नै मूल्य बढाएपछि खुद्रा व्यापारीले त ५/१० रुपैयाँ नाफा राखेर विक्री गर्नु स्वाभाविक भएको दमक–८ स्थित सब्जी बजारका रमेश आचार्य प्रष्ट पार्छन् ।

सरकारको सम्बन्धित निकायले अनुगमन गरी होलसेल व्यापारीबाटै कममूल्यमा तरकारी विक्री गर्ने व्यवस्था मिलाउने हो भने सर्वसाधरण जनता पनि मारमा नपर्ने उनको भनाई छ ।

‘ हामीले त थोरै नाफा खाएर तरकारी बेच्ने हो  । होलसेलबाटै मूल्य बढेर आएपछि हामीले त्यही अनुसार बेच्नै पर्यो । व्यापारी आचार्य आफ्नो बाध्यता सुनाउँछन् ।

‘जसरी खरिद गरेको हो, त्यसमा थोरै मार्जिन राखेर खुद्रा व्यापारीले बेच्ने हो ।’ नयाँ सब्जी बजारमा तरकारी व्यापारी श्रेष्ठ बताउँछन् ।

उता आलु र प्याजको होलसेल व्यापार गर्दै आएका नयाँ सब्जी बजारका व्यापारी रञ्जित साह भने अहिले आलु भारत र भुटानबाट आइरहेको जानकारी दिन्छन् ।

प्याज भने भारतले केही समयअगाडि निर्यातमा बन्देज लगाएपछि आउन छाडेको र लकडाउनपछि खुलेको अवस्थामा आएको भण्डारणबाट नै विक्री भइरहेको उनले बताए ।

‘त्यसकारण प्याजको अभाव भएकाले पनि मूल्य बढेको हो । आलुको पनि टाढाबाट ल्याउनु परेकाले ढुवानी खर्च बढी पर्दा मूल्य बढेको हो । ’ व्यापारी साहले खुलस्त पारे  ।

आलु र प्याज बाहेकका तरकारी धनकुटा, इलाम, झापाको चारआली, सुनसरीको इनरुवा र केही मात्रामा राजधानी काठमाडौंबाट आइरहेको व्यापारीहरुले बताए ।

किनेर खानै नसकिने भो

यसरी तरकारीको मूल्य बढेपछि किनेर खानै समस्या भएको दमक–८ का उपभोक्ता रामभक्त शर्मा बताउँछन् ।

‘कोरोना अघि आलु ४० र प्याज ५० रुपैयाँमा पाइन्थ्यो, तर अहिले बढेर पहिलेभन्दा डबल जस्तो भएको छ ।

अरु सब्जी जस्तो कि टमाटरको भाउ पहिले ५०/६० पर्नेमा अहिले डबल भएको छ ।

यस्तै अन्य तरकारीको भाउ पनि आकाशिएको छ ।’– कमल गाउँपालिका–५ की मुना भण्डारी भन्छिन्– अब त तरकारी किनेर खानै समस्या भो ।

यो स्थिति कहिलेसम्म हो, सरकार र सम्बन्धित निकायले उपभोक्तालाई सरल पर्नेगरी भाउमा नियन्त्रण र नियमन गर्नुपर्छ ।’

यतिबेला कोरोनाको महामारीका कारण व्यापार व्यवसाय तथा मानिसको आम्दानीको स्रोत पनि सुकेको छ । तर महंगी भने बढेको छ ।

यो विडम्बनाको स्थिति हो । यस्तो अवस्थाको कसरी हुन्छ , अन्त्य गर्नुृपर्ने यि दुई उपभोक्ताहरुको माग छ ।

व्यापारमा मन्दी

तरकारीको व्यापारमा विगतको तुलनामा अहिले मन्दी आएको व्यापारीहरुले बताएका छन् ।

उनीहरुको एउटै भनाई छ –कोरोनाका कारण अधिकांश मानिसहरु घरभित्रै बस्ने गरेका छन् ।

लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपनि मानिसहरु खुलेर बाहिर ननिस्किएको अवस्था छ । त्यसैले व्यापार व्यवसाय भनेजस्तो चलेको छैन ।

फलफूलको भाउ उस्तै अर्कातर्फ चाडपर्वमा विशेष रुपले प्रयोगमा आउने फलफूलको मूल्यमा भने कोरोनाको महामारीले खासै फरक नपारेको दमक नयाँ सब्जी बजारका व्यापारीले बताएका छ ।

व्यापारी रुद्र दाहालका अनुसार स्याउन प्रति किलो १२०, १५० र २८० रहेको छ ।

केराको मूल्य एक दर्जनको ४० देखि ६० र कागतीको प्रति गोटा ३ देखि ५ रुपैयाँ सम्म रहेको उनले जानकारी गराए ।

केरा र कागती स्थानीय ठाउँ अर्थात् नेपालभित्रै प्राप्त हुन्छ भने स्याउ भारत र चीनबाट आउने गरेको उनले बताए ।

फलफूलको व्यापारमा पनि हाल मन्दीको अवस्था रहेको उनको भनाई छ ।

Author

You may also like