समाचार

नेपाल भारतका ५ साहित्यकार पुरस्कृत

दमक/ झापाको दमकमा शनिबार नेपाल र भारतका ५ साहित्यकार पुरस्कृत भएका छन् ।
साहित्य कला सङ्गमले उनीहरूलाई विभिन्न पुरस्कार प्रदान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ४० हजार ५ सय ५५ रुपैयाँ राशिको भवानी मिश्र अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार नेपाली भाषी भारतका साहित्यकार सुकराज दियालीलाई प्रदान गरियो । यसैगरी भाषाविद् प्रा.डा.टङ्कप्रसाद न्यौपाने ३५ हजार ५ सय ५५ रुपैयाँ सहितको भवानी मिश्र राष्ट्रिय साहित्यिक पुरस्कारबाट पुरस्कृत भए ।
यसैगरी २५ हजार ५ सय ५५ रुपैयाँ राशिको भवानी मिश्र प्रादेशिक साहित्यिक पुरस्कार पुण्यप्रसाद खरेल र २१ हजार ५ सय ५५ रुपैयाँ राशिको भवानी मिश्र झापा साहित्यिक पुरस्कार झापाका मुनाराज शेर्मालाई प्रदान गरिएको थियो । यसै गरी भवानी मिश्र दमक साहित्यिक पुरस्कार १५ हजार ५ सय ५५ सहित लक्ष्मीप्रसाद निरौलालाई प्रदान गरिएको थियो । सोही कार्यक्रममा वीरेन्द्रबहादुर खड्काको माझी, बल्छी र माछा नामक कविता सङ्ग्रह विमोचन गरिएको थियो भने साहित्यकार खड्काले आफ्नी दिवङ्गत आमा चन्द्रमाया खड्काको स्मृतिमा साहित्यिक पुरस्कार प्रदान गर्ने घोषणा पनि गरे । साहित्यकला सङ्गमका अध्यक्ष नरपति पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित स्रष्टाहरू प्रा.डा. न्यौपाने, दियालीसहित उपप्राध्यापक दीपक न्यौपाने, अग्रज पत्रकार चन्द्र भण्डारी, नेपाली साहित्य एकेडेमी नयाँ दिल्लीका भाषा साहित्य परामर्श समिति सदस्य टीबी सुब्बा, उत्तरबङ्गाल विश्व विद्यालय नेपाली विभाग प्रमुख डा. कृष्णराज घतानी, सङ्गमका संस्थापक अध्यक्ष रुद्र सुवेदी, साहित्यकारहरू टीका आत्रेय, युवराज काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष विष्णु न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव बिन्दु दाहाल र सचिव दीपक सुवेदीले गरेका थिए ।

You may also like