गौरीगञ्ज/ महेन्द्र राजमार्ग (पूर्वपश्चिम लोकमार्ग)को वैकल्पिक सडकको रूपमा हेरिएको हुलाकी राजमार्ग निर्माणको लागि सडक छुट्याउने कार्य सुरु भएको छ । हुलाकी राजमार्ग निर्माण गर्न नेपाल सरकारबाट बजेट बिनियोजन भई ठेक्का लागेपछि सडक निर्माणको प्रक्रिया सुरुभएको हो ।
हुलाकी सडकअन्तर्गत झापाको रतुवा खोलादेखि पूर्वमा बिरिङ खोलासम्म निर्माण कार्य गरिने गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दीपिन्द्र थापाले बताए । हुलाकी सडक निर्माण कार्य झापाको पश्चिम सिमाना रतुवा खोलादेखि सुरु गरिने भएकाले निर्माण कार्यको प्राम्भिक चरणमा बाटो छुट्याउने कार्य शुक्रबारदेखि थालिएको हो । नेपाल सरकारले सडकका लागि तोकिएको मापदण्ड अनुसार सडक छुट्याउन गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष वियज प्रसाद गन्गाई, वडा सदस्य राजेन्द्र ताजपुरिया, गाउँपालिकाका शाखा अधिकृत वीरेन्द्र खड्का, नापी शाखा दमकका सर्वेक्षक सुगम पाण्डेका साथै स्थानीयबासीको सहभागिता रहेको थियो ।
सडकको चौडा बढाउनुभन्दा पहिले साविकको बाटो छुट्याउने कार्य सुरू गरिएको छ । नापी शखाका सर्वेक्षक सुगम पाण्डेका अनुसार साविक रहेको सडकलाई आधार मानी त्यसको बीच भागबाट दुवैतर्फ १५–१५ मिटर चौडा बनाउने गरी नापी नक्सा भइरहेको छ । हुलाकी सडक निर्माण कार्यको लागि मोदीदान कन्ट्रक्सन सेवन प्रा.लि. काठमाडौँ र हुलाकी राजमार्ग आयोजना इटहरीले जिम्मा पाएको छ । रतुवा खोलादेखि पूर्वमा बिरिङ खोला सम्म २९ किलोमिटर रहेको र सडक निर्माण गर्न १ अर्ब ५० करोड रूपैयाँमा ठेक्काको जिम्मेवारी पाएको मोदीदान कन्ट्रक्सन प्रालिका प्रमुख राम बहादुर गौतमले बताए । कम्पनी र हुलाकी राजमार्ग आयोजनासँगको संयुक्त सर्भे र बाटो छुट्याउने कार्यपछि निर्माण कार्यले गति लिने कम्पनी प्रमुख गौतम बताउँछन् ।
साविक बाटोको बीचको बिन्दुलाई केन्द्र मानि दायाँबायाँ १५–१५ मिटर चौडा बनाइ ७ मिटरको पिच हुने र सडकमा पर्ने कल्भर्ट र पाइप कल्भर्ट साथै बजार क्षेत्रमा नालासमेत निर्माण गरिने उनले बताए । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगञ्ज गाउँपालिका अन्तर्गतको हुलाकी सडक निर्माण गर्दा ३० मिटरभित्र घर, जग्गा या कुनै भौतिक संरचना परे त्यसको क्षतिपूर्ति नपाउने अध्यक्ष श्रेष्ठले जानकारी गराए । हुलाकी सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रको व्यापार व्यावसाय बढ्नुका साथै गौरीगञ्जको मुहार फेरिने अध्यक्ष श्रेष्ठले बताए । गौरीगञ्जका तत्कालीन गाविस अध्यक्ष घनश्याम रिजालले हुलाकी राजमार्ग निर्माण कार्य सुरु भएकाले समय सीमाभित्र सम्पन्न हुनु पर्ने बताए । हुलाकी सडक निर्माणले यस भेगका नागरिकको जीवन स्तर उकास्न ठुलो सहयोग गर्ने बताए । सडक निर्माण गर्दा सडकभित्र कसैको भौतिक संरचना परेमा स्थानीय सरकारले मापदण्ड बनाई राहत स्वरूप क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ थियो ।
अर्का गाविस अध्यक्ष देवीप्रसाद राजवंशीले हुलाकी सडक निर्माण कार्य सुरु भएकाले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरूको आयआर्जनमा परिवर्तन हुने आशा जगाएको बताए । पहिले नै निर्माण हनुपर्ने सडक निर्माणमा ढिलासुस्ती भएपनि अब निर्माण कार्य सुरु भएकोमा खुसी व्यक्त गरे । सडक विस्तार भइरहँदा साविक नक्सामा भएको बाटो अनुसार छुट्याउदा राम्रो हुने बताउँदै पूर्वअध्यक्ष राजवंशीले बाटोभित्र भौतिक संरचना परेमा गाउँपालिकाले राहतस्वरूप क्षतिपूर्ति दिँदा सबैको चित्त बुझ्ने बताएका छन् ।
गौरीगञ्ज गापा ३ का अध्यक्ष तथा झापा उद्योग वाणिज्य सङ्घ शाखा गौरीगंजका अध्यक्ष मखना महतोले यो सडक निर्माण ठेक्का लिएको ठेकेदारको इमान्दारी र सक्रियतामा सडक भर पर्ने बताए । सडक निर्माणका लागि यस क्षेत्रका सबैको सहयोग रहने भएकाले समयमै सडक निर्माण सम्पन्न हुनुपर्ने उनको धारणा छ । रतुवा खोलाको पुल र गौरीगञ्ज गाउँपालिका वार्ड नं. ३ मा रहेको लेरा खोलाको पुल निर्माणमा ठेकेदारको ढिला सुस्तीले निर्माण कार्य अलपत्र भएको भन्दै उनले भने, ‘त्यस किसिमको कार्य हुलाकी सडक निर्माणमा नहोस् ।’ घर वा कुनै भौतिक संरचना सडकभित्र परेका नागरिकलाई राहतका लागि सरकारले व्यवस्था गर्नु पर्ने र नगरेमा स्थानीय सरकारसँग नागरिकले क्षतिपूर्ति माग गर्ने बाटो खुला रहेको उनले बताए ।