दमक/ दमकस्थित एउटा गाउँमा शनिबार राति हात्ती पसेर उपद्रो गरेको छ ।
दमक–२ स्थित डाकिनीमा राति हात्ती आएर सलबहादुर धिमालको एउटा धानको कुन्यु नै सखाप गरेको छ । त्यस्तै खड्गबहादुर न्यौपानेको केराको घरी खाएर हात्ती भालुखोलादेखि पश्चिम लागेको स्थानीयहरुले बताएका छन् ।
केही दिनअघि पनि सोही गाउँमा हात्ती आएर हरिप्रसाद निरौलाको धानको कुन्युबाट केही मुठा धान खाएर पूर्वतर्फ लागेको थियो ।
दमकका उत्तरी क्षेत्रमा हात्तीहरु गाउँ पसेर उपद्रो गरेको यो पहिलो भने होइन ।
यसअघि दमक वडा नं. २ का वडाध्यक्षकै घर पनि हात्तीले भत्काइदिएको थियो । दमक–३ का वडाध्यक्ष नविन बराल पनि दमकमा हात्ती पसेको खबर बेला बेला आफ्नो स्टाटसमा लेख्ने गर्छन् ।
तर दमक नगरपालिकाबाट दमकको उत्तरी क्षेत्र सुरक्षित गर्नेतर्फ भने कुनै उपाय अपनाइएको छैन । हात्ती आतंकलाई नियन्त्रण गर्नेतर्फ नगरपालिकाको ध्यान नजाँदा वर्षैपिच्छे हात्तीको उपद्रोले कृषक तथा गाउँबासीहरुले क्षति व्यहोर्नुपर्ने बाध्यता छ ।