समाचार

किन झापामा धान उत्पादन पनि घट्यो, मूल्य पनि घट्यो

गौरादह/ कृषिलाई मुख्य पेसा मानेर खेती गर्दै आएका किसानले धानको उचित मूल्य नपाउँदा निराश भएका छन् ।
मङ्सिर लागेसँगै किसानहरूले लगाएको धान बाली पाकेको छ । धान माडेर बिक्री गर्ने समयमा धानको मूल्य न्यून छ । विशेषगरी किसानहरूले रञ्जित र सर्ना जातको धान लगाउने गरेका छन् । व्यापारीहरूले अहिले रञ्जित धान ९४० र सर्ना घान ८७० रुपैयाँ प्रति मनका दरले खरिद गरिरहेका छन् । गएको वर्ष मङसिरमा रञ्जित १ हजार ५० र पछिल्लो समयमा १ हजार १ सय ६० रुपैयाँ सम्ममा खरिद बिक्री भएको गौरादह उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष अशोक चुडाल बताउँछन् । गौरादहको धोबिनियामा लामो समयदेखि धान काँटा गर्दै आएका व्यवसायी चुडालले गत वर्षको भन्दा यस वर्ष धानको मूल्य कम भएको स्वीकार गर्छन् । हालसम्म वासमती धानको मूल्य नखुलेको पनि उनले जानकारी गराए । सरकारले तोकेको समायोजन मूल्यसमेत नपाएको किसानहरूले गुनासो गरेका छन् । आफूले उत्पादन गरेको धानको मूल्य व्यापारीहरूले मनोमानी ढङ्गले कम मूल्यमा खरिद गर्दा किसानहरू मारमा परेको उनीहरूको गुनासो छ ।
अन्य रोजगारी नभएका गाउँमा बसेर खेती किसानी मात्र भएका किसानका लागि यो पेसा चुनौतीपूर्ण भएको किसानहरूको बुझाइ छ । किसानहरूले खरिद गर्ने तिउन, तरकारी, लत्ताकपडा, माछा, मासु तथा अन्य कम्पनीबाट उत्पादित सम्पूर्ण सामग्रीहरू महङ्गो तर किसानले उत्पादन गरेको बिक्री गर्ने अन्न भने सस्तो मूल्य हुँदा आफूहरू मारमा परेको किसानको गुनासो छ ।
किसानको मेहेनत र कमाई एक मन धानको मूल्य एक किलो मासु बराबर भएको गौरादह–२ का किसान लोक बहादुर खड्का बताउँछन् । आम्दानीको अन्य स्रोत नहुँदा नुनतेलकै लागि धान बिक्री गर्नुपर्ने बाध्यता रहेको गौरादह–७ का किसान मित्रबहादुर बस्नेत बताउँछन् । ठुलो लगानी र धेरै दुःख गरेर किसानहरूले धान उत्पादन गरेपनि आफूलाई खान राखेर बढी भएको धान बिक्री गरी गर्जो टार्ने समयमा लगानी भन्दा कम मूल्यमा बेच्नु पर्दा आफूले गरेको लगानीसमेत नउठेको किसानहरूले गुनासो गरेका छन् । कृषि पेसामा आधुनिकताको नाममा ट्याक्टर प्रयोग गरी खेत जोताउँदा लागेको खर्च, महङ्गोमा खरिद गरेको मल, मजदुरको ज्याला र आफ्नो मेहेनतको खर्चको हिसाब गर्दा घाटा हुने किसानहरूको तर्क छ । आधुनिक उपकरण प्रयोग गर्दा काममा छिटो भएपनि लगानी बढी भएको किसानहरू बताउँछन् । गौरादह–७ का किसान मदन रिजालले उत्पादन गरेकोे धानको मूल्य नभएको र सरकार वा कुनै संस्थाबाट राहत पनि नपाए धान खेतीको विकल्प खोज्ने समय आएको बताए ।
घट्यो धान उत्पादन
समयमै वर्षा र मलखादको व्यवस्थापन नहुँदा झापामा धान उत्पादन घटेको छ । तर, अनुमान गरेको भन्दा धानको उत्पादन नघटेको कृषि ज्ञान केन्द्र झापाका कृषि विकास अधिकृत नीलकमल साहले जानकारी दिए । यस वर्ष साउनको दोसो सातादेखि मात्र खेती गर्न योग्य
वर्षा भएको थियो । अघिल्ला वर्षमा असार १५ देखि नै धान रोपाइँ हुने गरेको थियो । मनसुन र मलखादको अभाव हुँदा जिल्लामा धानको उत्पादन केही मात्रामा घटेको केन्द्रको भनाइ छ ।
यो वर्ष जिल्लामा ८४ हजार ८ सय ७५ हेक्टर क्षेत्रमा विभिन्न जातका धानको खेती भएको थियो । केन्द्रका प्रमुख शाहका अनुसार जिल्लामा ३ लाख ८१ हजार ९३७.५ मेट्रिक टन धान उत्पादन भएको छ । समग्र जिल्लामा प्रतिहेक्टर ४.५ मेट्रिकटन धान उत्पादन भएको शाहले बताए ।
गत वर्ष जिल्लामा ८७ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो । त्यसताका प्रतिहेक्टर ४.६ मेट्रिकटनका दरले कुल ४ लाख ०२ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको थियो । उनका अनुसार यो वर्ष २ हजार ६२५ हेक्टरमा धान खेती भएन । समयमा वर्षा नहुँदा कम्तीमा ५ सय हेक्टर धान खेती निजी वनमा परिणत भएको उनको भनाइ छ । बाँकी रहेको जग्गामा किसानले मत्स्य पालन, उखु खेती, केरा खेती लगायत बेमौसमी तरकारीबाली लगाएकाले धानको उत्पादन अघिल्ला वर्षको तुलनामा घटेको हो । गत वर्षको तुलनामा यो वर्ष प्रतिहेक्टर ०.१ मेट्रिक टनका दरले धान उत्पादन घटेको छ ।

Author

You may also like