प्रकाशकीय
एउटा व्यक्तिको लागि १५ वर्षको उमेर बाल्यअवस्था पार गर्दै परिपक्वतातर्फ प्रवेश गर्ने बेला हो । जीवनलाई उज्यालो बनाउन यस अवधिसम्मको सिकाइले उसलाई सधैँ मार्गदर्शन गरिरहन्छ । एउटा व्यक्तिको जीवनका लागि प्रारम्भिक डेढ दशकको अवधि भविष्य निर्माणको कोसेढुङ्गा बन्नसक्छ ।
पूर्वसन्देश परिवार यही १५ वर्षको यात्रामा प्रवेश गरेका छौँ । विश्वव्यापी मानवअधिकारका मूल्य र मान्यतालाई शिरोपर गर्दै अन्तर्राष्ट्रिय मानवअधिकार दिवसकै सन्दर्भ पारेर हामीले पाठकसँगको सहयात्रा सुरु गरेका थियौँ । राजनीतिक र सामाजिक परिवर्तनका साथै देशलाई नयाँ युगमा प्रवेश गराउने महत्त्वपूर्ण कालखण्डको साक्षी र भुक्तभोगीसमेत बन्दै पूर्वसन्देशले आफ्ना पाइला अनवरत अघि बढाइरहेको छ । डेढ दशक अघिको दमकबाट एउटा दैनिक अखबार सुरु गर्नु सहज पक्कै थिएन । झापाको पूर्वी भागमा केही अग्रसर भएपनि पश्चिमी क्षेत्रमा दैनिक सञ्चारको उपस्थिति शून्यप्रायः थियो । केही साप्ताहिक अखबार प्रकाशनमा थिए । जनशक्ति, लगानी, धैर्य, शिल्प, प्रविधि लगायत एउटा दैनिक अखबारका लागि चाहिने सबै अवयव जुटाउन मोफसलको बजारमा सजिलो थिएन । यद्यपि एउटा दैनिक अखबार आवश्यक भइसकेको थियो । इलामको दक्षिणी क्षेत्र, मोरङको पूर्वी भाग अनि झापाको करिब आधा भूगोलको चौरस्ता हो दमक । हिजो पनि थियो र भोलि पनि यो मानक कायम रहला । यी चारै क्षेत्रबाट दमक आउने र दमकबाट यी क्षेत्रमा पुग्नेहरू दमकबाट एउटा दैनिक पत्रिकाको आवश्यकता ठान्थे । यो समाजले खोजेको थियो । त्यसैले यही समाजको आवश्यकता पूर्तिका लागि पूर्वसन्देश परिवारले जमर्को ग¥यो अनि सुरु भयो, एउटा दैनिक अखबारको जीवन ।
अहिले हामी १५ औँ वर्ष प्रवेशको अवस्थामा आएका छौँ । यस अवधिमा पनि दैनिक, अनवरत पत्रिका प्रकाशन गरिरहँदा सधैँ सजिलो मात्र भएन । प्रविधि, विद्युत् आपूर्ति, राजनीतिक परिवर्तन, मौसमी प्रतिकूलता, मूल्यवृद्धि लगायतका धेरै पक्षबाट हुने असजता झेल्न यहाँबाट सधैँ साथ, सहयोग र हौसला प्रदान भइरह्यो । यहाँहरूबाट पाएको साथ नै हाम्रा लागि ऊर्जा बन्यो । हामी प्रण गर्दछौँ, व्यावसायिक प्रतिस्पर्धा, पेसागत निष्ठा, विश्वव्यापी मूल्य र मान्यतामा सधँै अडिग रहने छौँ । स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा अद्यावधिक गराइरहने छौँ । अनेकौँ बाधा व्यवधानका बाबजुद तपाईं पाठक, विज्ञापनदाता, शुभेच्छुकहरूकै साथ र सहयोगमा आजको दिनसम्मको यात्रा सफल भएको हाम्रो निष्कर्ष छ । यो खुसीमा वैज्ञानिक आविष्कार र समयको गतिसँगै पूर्वसन्देश दैनिकले आफ्नो सहप्रकाशन purbasandesh.com अनलाइन पोर्टल सुरु गरेको सहर्ष जानकारी गराउँदछौँ । पत्रिकालाई रङ्गीन साजसज्जामा लैजाने सोच यथावत् छ । तत्कालका लागि पत्रिकाको पृष्ठ सङ्ख्या थपेर अझ बढी पठनीय सामग्री पस्किने तयारीमा छौँ । यसका लागि हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तक, नियमनकारी निकाय, तिनै तहका सरकार अनि समस्त महानुभावहरूबाट विगतको जस्तै दर्बिलो साथ, सहयोग र उत्प्रेरणाको अपेक्षा गर्दछौं । साथै आज सम्मको साथ, सहयोग र हौसलाप्रति आभार समेत व्यक्त गर्दछौँ ।