समाचार

संसद् बाहिरबाट प्रधानमन्त्री रोज्दै वामदेव

दमक/ नेपाली राजनीतिमा वामदेव गौतम धेरै सुनिएको नाम हो । नेपाली कम्युनिस्ट राजनीतिमा उनको नामले नाम बदनाम दुबै कमाएको छ । २०५४ सालमा एमाले पार्टी फुटाएको अपजस उनले अझै बोकिरहेका छन् । तर उनको दुर्भाग्य, सबैभन्दा बढी जस कमाउने बेला बर्दियाबाट उनलाई आफ्नै भतिजाले हराए । त्यतिबेला माले गठन गरी घुमाउरो हिँडेर एमालेभन्दा अघि बढ्ने उनको सपना पूरा हुन सकेन । सोझो बाटो हिँड्न खोज्दा जनमतले अघि बढ्न दिएन । त्यसको परिणाम अहिले उनी संसदबाहिर भएर पनि नेकपा वृत्तमा भावी प्रधानमन्त्रीका रुपमा चर्चामा छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका ‘वरिष्ठ’ नेता वामदेव गौतम अबको प्रधानमन्त्री आफू नै बन्ने बताउन थालेका छन् । संविधान संशोधन गरेरै भएपनि आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको उनले राष्ट्रिय समाचार समितिलाई अन्तर्वार्ताका क्राममा बताएका छन् । उनले प्रधानमन्त्री ओलीसँगको छलफलमा आफू प्रधानमन्त्री बन्ने भए मात्र राष्ट्रिय सभामा जाने बताएको खुलासा गरेका हुन् ।
नेकपाका स्थायी सदस्य समेत रहेका गौतम बर्दियाबाट पराजित भएपछि मन्त्रिपरिषद्मा जानबाट वञ्चित छन् । उनलाई पार्टीले विभिन्न ठाउँबाट चुनावमा उठाएर संसद् बनाउने प्रयत्न पनि नभएको होइन । उनलाई जति पटक पार्टी नेतृत्वले सांसद् बनाउने अभियान चलाउँछ त्यो प्रयत्न कुनै न कुनै रूपले असफल बन्दै छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमलाई उपनिर्वाचन अगाडि रवीन्द्र अधिकारीको ठाउँबाट उठाउने र सांसद बनाउने अध्यक्षद्वयले योजना बनाए पनि सफल हुन सकेन । पार्टीका नेता र कार्यकर्ताको तीव्र विरोधले तुहिन पुग्यो । अन्त्यमा गौतम आफैँले स्वर्गीय रविन्द्रकै श्रीमती उम्मेद्वारको लागि उपयुक्त रहेको बताउन बाध्य भए ।
केही हप्ता अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई फेरि अर्को प्रयास स्वरुप राष्ट्रियसभामा लगेर मन्त्रिपरिषद्मा जिम्मेवारी दिने भनेर पार्टीका नेताहरूसँग छलफलै गरेका थिए । यो प्रक्रियामा अर्का अध्यक्ष प्रचण्ड पनि सहमत देखिए । तर बाहिरी विरोध धेरै भएपछि यो प्रयास पनि तुहियो ।
केही समयदेखि वामदेव गौतमलाई राष्ट्रिय सभामा जसरी पनि लैजाने भन्ने प्रयत्न पार्टी नेतृत्वले गरेसँगै उनले भने प्रधानमन्त्री बन्न पाउने भए मात्र राष्ट्रिय सभामा जाने अडान राखेका छन् ।
अन्तर्वार्ताको एक प्रश्नमा प्रधानमन्त्रीले आफूलाई ‘राष्ट्रिय सभामा लैजान्छु’ भनेको उनले जवाफ दिएका थिए ।
‘नेपालको संविधान
संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन् भने मात्र जान्छु भनेर उहाँलाई जवाफ दिएको हुँ,’ उनले भने । त्यसक्रममा २०७० को निर्वाचनमा प्युठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर पार्टीले लगेको उनले दाबी गरे । संविधानमा प्रतिनिधि सभाबाट निर्वाचित प्रतिनिधिले मात्र प्रधानमन्त्री बन्ने प्रावधान छ ।

Author

You may also like