दमक, १३ करोडको लगानीमा झापाको दमकमा निर्माण गरिएको क्षेत्रीय स्तरको पशुपंछी थोक बजार अझै संचालनमा आउन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १८ गते सो पशुपंछी थोक बजारको उद्घाटन गर्नुभएको थियो । दमकको पशुपंछी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले निर्माण गरिएको बजार उद्घाटन भएको ८ महिना पूरा भइसक्दा पनि अझै सञ्चालन आउन सकेको छैन । यो बजारलाई प्रदेशकै नमूना पशुपंक्षी बजारको रुपमा लिइएको छ । झण्डै १ हजार बढि पशुपंक्षी कारोबार क्षमता भएको यो बजार अझै संचालनमा आउन सकेको छैन । बजार संचालनमा नआउदै यहाँका विकास संरचनाहरु जिर्ण बन्न थालेका छन् । नेपाल सरकार तथा विश्व बैकको संयुक्त लगानीमा कृषि विकास मन्त्रालय अन्तर्गत व्यावसायिक कृषि तथा ब्यापार आयोजना र नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाद्वारा दमक–७ मा करिब ४ बिघा क्षेत्रफलमा अत्याधुनिक पशुपंछी बजार निर्माण सम्पन्न भएको हो । राज्यकोषको निकै ठूलो रकम खर्चिएर निर्माण गरिएको यो बजार अझै संचालनमा नआउँदा पशुचौपायको व्यापार व्यवसायमा समस्या भएको व्यापारीहरुले गुनासो गरेका छन् ।
४ दशक अघिदेखि लाग्दै आएको दमक पशुबजार पूर्वी पहाडी जिल्लासंगै तराईका बिभिन्न जिल्लाहरुको मुख्य बजार हो । समयको परिवर्तन संगै अत्याधुनिक पशुपंक्षी बजारमा बनेको भवन संचालनमा नआई नै जिर्ण बन्न थालेको छ । दमकमा निर्माण गरिएको चमेना गृह , प्रशासनिक भवन, गार्ड रुम ,अपाङ्ग मैत्री शौचालय, पशु चिकित्सालय, बाख्रा स्टल, पशु स्टल , पशु लोडिङ स्थल सहितको संरचना निर्माण भएको छ । तर निर्माण भएको यतिका महिना सम्ममा पनि बजार संचालनमा नआउँदा चमेना गृहको भूँई चिरा परिसकेको छ भने लकिङ टायल्स लगाएको स्थलमा झारले ढाकेको छ । प्राविधिक समस्या र वर्षात्को कारणले गर्दा पशुबजार संचालनमा आउन ढिलाई भएको र निर्माण पक्ष संग समन्वय गरी चाँडै संचालनमा ल्याउने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाको भनाई छ ।
दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका अनुसार खानेपानी र विद्युत जडान नहुँदा यो बजार संचालनमा आउन ढिलाई भएको होे । पशुपंक्षी बजार संचालनमा आउन नसकेर चौतर्फी आलोचना भए पछि नगरपालिकाले यस विषयमा छलफल अघि बढाएको छ । सो छलफलमा क्षेत्रीय पशु निर्देशनालय र जिल्ला पशु कार्यालयका प्रमुख तथा नगर कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो । सो छलफलले सम्बन्धित निर्माण पक्षले अबको १५ दिन भित्र निर्माणपक्षले बजारको बाँकी रहेका सम्पूर्ण काम सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने निणर्य गरिएको जनाइएको छ । सो छलफलले निर्माण पक्षले सो अवधि भित्र पनि अटेरगरी काम सम्पन्न नगरे धरौटी वापतको रकम जफत गर्ने र नगरपालिका आफैँले बाँकी काम सम्पन्न गरी बजार संचालनमा ल्याउने नर्णय भएको नगर उपप्रमुख गीता अधिकारीले जानकारी गराइन् । यता निर्माण पक्ष भने अहिलेसम्म सम्पर्कबिहिन रहेको नगरपालिकाले जनाएको छ । सो बजार निर्माणको जिम्मा भूमि कन्ट्रक्सन प्रालीले पाएको भए पनि लामा÷रमण जे.भीले सम्पन्न गरेको हो ।