सुरक्षा

विप्लवका जिल्ला सेक्रेटरीसहित आठजना कार्यकर्ताको नाम सार्वजनिक

झापा जिल्लामा श्रंखलाबद्ध बम विस्फोट गराएको आरोपमा झापा प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरीसहित पक्राउ परेका आठजना कार्यकर्ताको नाम सार्वजनिक गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले विप्लव कार्यकर्तासँग बरामद गरिएका हातहतियार, चन्दा रसिद, पार्टीका दस्ताबेज लगायतका सामग्रीसहित उनीहरूको नाम मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

पछिल्लो समयमा झापाका विभिन्न पालिकामा श्रंखलाबद्ध रूपमा बम पड्काएर जिल्ला नै आतंकित बनाएको भन्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगर र प्रहरी कार्यालय झापाले संयुक्त अभियान चलाएर विप्लवका बम बनाउने व्यक्तिसहित आठजना पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक एस पी दिनेश मैनालीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा झापा जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका१ बस्ने ३४ वर्षीय प्रवीण मिश्र मनिष, जिल्ला सदस्य झापा हल्दीवारी गाउँपालिका ५ बस्ने ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भीमफेदी गाउँपालिका २ बस्ने २६ वर्षीय अनुल सारु मगर रहेका छन्।

बिर्तामोडमा डेरा गरी बस्दै आएका सेक्रेटरी मनिष, जिल्ला सदस्य पोखरेल सडक विभागको ठेकेदारको काम र मगरले जापनिज भाषा सिक्न बसेको भन्दै ढाँटेर बस्दै आएका थिए। प्रहरीले तीनैजनालाई विशेष सूचनाको आधारमा सोमबार बिर्तामोडबाट पक्राउ गरेको हो। सेक्रेटरी मनिष र सदस्य पोखरेललाई सोमबार बिहान पक्राउ परेका थिए भने मगरलाई दुई थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली, चन्दा रसिद, पार्टीका दस्ताबेजसहित प्रहरीले सोमबार साँझ उनकै डेराबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका मगर बम बनाउने काममा सक्रिय रहेको अनुसन्धानको क्रममा खुलेको उनको भनाई छ।

उहाका अनुसार उनीहरूले भदौ २२ गते बिर्तामोड र गौरदाहमा बम विस्फोट गराएका थिए। त्यस्तै, प्रहरीले बिर्तामोडको वडा कार्यालयमा बम विस्फोट गराएको आरोपमा पक्राउ परेकाहरू पाँचथर जिल्ला इन्चार्ज ताप्लेजुङ त्रिवेणी गाउँपालिका ९३ पञ्चमी टोल बस्ने २७ वर्षीय राजु दास, ताप्लेजुङ जिल्ला इन्चार्ज जिल्ला ताप्लेजुङ सिद्धिङबा गाउँपालिका ४ बस्ने ३५ वर्षीय सकल भन्ने सागर लिम्बू, मेची ब्युरो समन्वय समिति अध्यक्षका साथै केन्द्रीय सदस्य ताप्लेजुङ त्रिवेणी गाउँपालिका ५ दोभान गाउँ बस्ने २४ वर्षीय सन्देश भन्ने गणेश कार्की ९ढोली० रहेका छन्।

त्यसैगरी, ताप्लेजुङ जिल्ला सेक्रेटरी सचिव सोही जिल्ला फक्तामलुङ गाउँपालिका २ खेजेनिम बस्ने ५५ वर्षीय नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य सोही जिल्ला फक्ताङलुङग गाउँपालिका २ बस्ने ३८ वर्षीय योगेश भन्ने यामबहादुर लिम्बू पनि रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । उनीहरूलाई प्रहरीले विशेष सूचनाको आधारमा दमकको एक होटलबाट पक्राउ गरेको थियो। पछिल्लो दुई महिनाको अवधिमा विप्लव समूहका कार्यकर्ताले जिल्लाको बिर्तामोड, भद्रपुर, दमक, गौरदाह, अर्जुनधारा लगायतको क्षेत्रमा रहेको वडा कार्यालयको भवन, एनसेल टावर र सहकारीको भवनमा बम विस्फोट गराएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। प्रहरीका अनुसार विप्लव समूहले भदौ २२ गते मध्यरातमा बम विस्फोट गराएर गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा२झ २५७० नम्बरको बोलेरो गाडीमा बम विस्फोट गराएर क्षति पुर्याएको थियो।

त्यस्तै, सोही राती बिर्तामोड नगरपालिका २ स्थित चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नव निर्मित भवन अगाडि शक्तिशाली बम विस्फोट गराउँदा भवनको झ्यालको सिसी फुटेको, सुरक्षा गार्ड बस्ने पोस्टमा र मे१च १८५१ नम्बरको गाडीको सिसी फुटेको थियो। त्यसैगरी साउन २७ गते बिर्तामोड ८ स्थित बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बर संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको थियो। वडा कार्यालयमा भएको विस्फोटबाट कार्यालय भवन भत्किनु साथै कार्यालयका सम्पूर्ण कागजात जलेर नष्ट भएको थियो। त्यस्तै, विप्लव समूहले भद्रपुर, अर्जुनधारा र दमकको रहेको एनसेल टावरमा विस्फोट र आगजनीको प्रयास गरेका थिए। विस्फोट गराउनुका साथै विप्लव समूहले झापाका विभिन्न व्यक्तिबाट चन्दा मागेर आतंकसमेत फैलाउँदै आइरहेको एसपी मैनालीले बताउनु भयो ।

Author

You may also like