दमक । प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि टुटेको राष्ट्रपति रामचन्द्र पौडेलसँगको नियमित संवादलाई पुनः निरन्तरता दिएका छन् । भारतको दुईदिने राजकीय भ्रमणअघि र फर्किएपछि राष्ट्रपतिसँग भेट नगरेका शाह शुक्रबार शीतल निवास पुगेका हुन् ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेसँग बिहीबार करिब पाँच घण्टा छलफल गरेका प्रधानमन्त्री शाह त्यसको भोलिपल्ट राष्ट्रपतिलाई भेट्न पुगेका हुन् । यसअघि लामिछानेले पनि शुक्रबार राष्ट्रपति पौडेलसँग करिब ४५ मिनेट छलफल गरेका थिए ।
प्रधानमन्त्री र पार्टी सभापतिले एकै दिन राष्ट्रपतिसँग अलग–अलग भेट गर्नुलाई सरकार र राष्ट्रपतिबीच संवादको वातावरण बनाउन सत्तारूढ दलको नेतृत्व तहबाट भएको पहलका रूपमा हेरिएको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले करिब २० मिनेटको भेटमा भारत भ्रमणका उपलब्धिबारे जानकारी गराउनुका साथै विचाराधीन अध्यादेशबारे पनि चासो राखेका थिए । लामिछानेको सचिवालयका अनुसार राष्ट्रपतिसँगको भेटमा सरकारको कामकारबाही, संसद्को आगामी अधिवेशन, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रमबाहेक राष्ट्रपति पौडेलसँग नियमित संवाद नगरेका शाहले यसअघि विदेश भ्रमणअघि र फर्किएपछि राष्ट्रपतिलाई जानकारी गराउने अभ्याससमेत पालना गरेका थिएनन् । यसपटकको भेटलाई संवैधानिक संस्थाबीचको सम्बन्ध र स्थापित राजनीतिक अभ्यासको पुनः निरन्तरताका रूपमा हेरिएको छ ।
संविधानको धारा ८१ ले प्रधानमन्त्रीले मन्त्रिपरिषद्का निर्णय, संघीय संसद्मा पेस गरिने विधेयक, राष्ट्रपतिले मागेका आवश्यक विवरण तथा मुलुकको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ ।
संविधानले प्रधानमन्त्रीले हप्तामा एकपटक वा विदेश भ्रमणअघि र फर्किएपछि अनिवार्य रूपमा प्रत्यक्ष भेट्नुपर्ने समयसीमा तोकेको छैन । तर, विगतमा प्रधानमन्त्रीले सामान्यतया हरेक साता बिहीबार राष्ट्रपतिलाई भेटेर सरकारका निर्णय, राजनीतिक अवस्था, सुरक्षा परिस्थिति र समसामयिक विषयमा जानकारी गराउने अभ्यास थियो ।
अध्यादेशमा राष्ट्रपतिको चासो
प्रधानमन्त्री र पार्टी सभापतिको राष्ट्रपतिसँगको भेटमा अध्यादेशको विषय पनि महत्त्वपूर्ण बनेको छ । सरकारले सिफारिस गरेका प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत विषयसँग सम्बन्धित केही नेपाल ऐन संशोधन अध्यादेश तथा जेनजी आन्दोलनका घटनाको जाँचबुझ, क्षतिपूर्ति र परिपूरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छन् ।
राष्ट्रपतिले ती अध्यादेश जारी नगरेपछि सरकारले त्यसको कारण बुझ्न र औचित्य स्पष्ट पार्न लामिछानेले समेत छलफल गरेको बताइएको छ । प्रधानमन्त्री शाहले पनि राष्ट्रपतिसँगको भेटमा अध्यादेश जारी गर्न आग्रह गरेको स्रोतको भनाइ छ ।
प्रेस काउन्सिल ऐन संशोधन अध्यादेशलाई लिएर पत्रकारिता क्षेत्रका विभिन्न संस्थाले राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै जारी नगर्न आग्रह गरेका छन् । यसले उक्त अध्यादेशलाई प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको नियमनसँग जोडेर विवादमा ल्याएको छ ।
सरकारले मंसिर अन्तिमतिर संसद् अधिवेशन बोलाउने तयारी गरिरहेको छ । यस्तो अवस्थामा विचाराधीन अध्यादेश, संसद् अधिवेशनको मिति र आगामी विधायीकीय कार्यसूचीबारे राष्ट्रपतिसँग संवाद हुनु अर्थपूर्ण देखिएको छ ।
पार्टी सभापतिसँग पाँच घण्टा छलफल
प्रधानमन्त्री शाह र लामिछानेबीच बिहीबार बूढानीलकण्ठस्थित लामिछाने निवासमा भएको पाँच घण्टा लामो छलफलमा भारत भ्रमणका उपलब्धि, मन्त्री तथा मन्त्रालयको कार्यसम्पादन, सरकारका कामकारबाही, आगामी निर्वाचनको तयारी, अध्यादेश र संसद् अधिवेशनका विषय उठेका थिए ।
लामिछानेका निजी सचिव अविनाश आचार्यका अनुसार रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियानबारे पनि छलफल भएको थियो । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भएका भेटवार्ता, सहमति र उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री सरकारको कार्यकारी नेतृत्वमा छन् भने लामिछाने पार्टी सभापतिका रूपमा संगठन र राजनीतिक निर्णयको नेतृत्व गरिरहेका छन् । सरकारको कार्यसम्पादन, मन्त्रीहरूको काम, संसद्को आगामी कार्यसूची र चुनावी तयारीबारे भएको छलफललाई सरकार र पार्टीका प्राथमिकता मिलाउने प्रयासका रूपमा पनि हेरिएको छ ।
प्रधानमन्त्रीले भारत भ्रमणबाट फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले पत्रकार सम्मेलनमार्फत भ्रमणका उपलब्धि सार्वजनिक गरेका थिए । तर, राष्ट्रपतिलाई छुट्टै भेटेर जानकारी गराउन भने प्रधानमन्त्रीले पाँच दिन लगाएका थिए ।
अब प्रधानमन्त्री शाहले संविधानले तोकेको जानकारी गराउने दायित्व र विगतको नियमित संवादको अभ्यासलाई निरन्तरता दिन्छन् कि दिँदैनन् भन्ने चासो बढेको छ ।