विराटनगर । कोशी प्रदेश सरकार, प्रदेश लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बिच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
विराटनगरस्थित बिग होटलमा आयोजित एक विशेष समारोहका बिच उक्त समझदारी भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश लगानी प्राधिकरणका अध्यक्ष हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता र निफ्राका अध्यक्ष महेश प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न समारोहमा प्राधिकरणका तर्फबाट प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला र निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
एक वर्षको अवधि रहने यस समझदारीपत्रमा मुख्य रूपमा चारवटा क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।
जसमा कोशी प्रदेशमा प्राविधिक र आर्थिक रूपमा सम्भाव्य पूर्वाधार आयोजनाहरूको पहिचान गरी सार्वजनिक–निजी साझेदारी (पीपीपी) तथा निजी क्षेत्रको सहभागितामा कार्यान्वयन गर्न दुवै पक्षबिच सहकार्य प्रवद्र्धन गरिने उल्लेख छ ।
यस्तै सरोकारवालाहरूले पहिचान गरेका सम्भाव्य पूर्वाधार आयोजनाहरूमा वित्तीय व्यवस्थापन (फाइनान्सियल मोडलिङ), वित्तीय सम्भाव्यता मूल्यांकन तथा ज्ञान र विकास साझेदारहरूलाई संलग्न गराई आवश्यक प्राविधिक सहयोगका सम्भावनाहरूको अन्वेषण गरिनेछ ।
समझदारी अनुसार प्रदेश लगानी
कोशी……प्राधिकरणले प्रस्तावित आयोजनाहरूको सूची तयार गर्ने, विकासकर्ता तथा सरोकारवालाहरूको सहभागिताका लागि आवश्यक व्यवस्था मिलाउने र आयोजनाको सुरुवाती चरणदेखि नै निफ्रालाई वित्तीय विश्लेषणमा संलग्न गराउनेछ । त्यस्तै, निफ्राले आयोजनाको प्रारम्भिक छनोट, वित्तीय सम्भाव्यता मूल्यांकन गर्नुका साथै प्राविधिक रूपमा सम्भाव्य ठहरिएका आयोजनामा वित्तीय सल्लाहकार वा प्रमुख व्यवस्थापक (लिड एरेन्जर) को भूमिका निर्वाह गर्न सक्नेछ ।
सोही समारोहमा सुनसरीको दुहबी नगरपालिकास्थित फोहोरमैला प्रशोधन तथा व्यवस्थापनसम्बन्धी परियोजना (सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट) मा कर्जा लगानी गर्नेसम्बन्धी छुट्टै समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । उक्त परियोजनाको विकासकर्ता रिभाइभ इन्फ्राटेक एण्ड इन्भेष्टमेन्ट प्रा.लि., काठमाडौँ र निफ्राबिच कर्जा लगानीसम्बन्धी समझदारी सम्पन्न भएको हो । ५६ करोडको लगानीमा १६ बिघा जग्गामा उक्त परियोजना निर्माण हुन लागेको हो ।