दमक / झापाको दमकमा ६ वर्षीया बालिका एन्जिलिका लिम्बू देव्रे आँखाको ट्युमर क्यान्सरबाट पीडित बनेकी छन् । समयमै उपचार गर्नुपर्ने भए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या भइरहेको छ ।
दमक नगरपालिका–१ स्थित डी टाउन नजिकै मामा चोक–हिमालय माध्यमिक विद्यालय जाने सडक उत्तरमा भाडाको कोठामा डेरा गरि बस्दै आएका दीपक लिम्बू र सुमित्रा राईकी छोरी एन्जिलिकाको आँखामा दुई महिनाअघि सानो फोकाजस्तो देखिएको थियो । सुरुमा सामान्य समस्या ठाने पनि परीक्षणका क्रममा आँखामा ट्युमर देखिएको र पछि क्यान्सर भएको चिकित्सकले पुष्टि गरेको परिवारले जनाएको छ ।
छोरीको उपचारका लागि बिर्तामोड र भद्रपुरका विभिन्न अस्पताल पु¥याउँदा परिवारले आफ्नो भएको सम्पत्तिसमेत खर्च गरिसकेको आमा सुमित्रा राईले बताइन् । तर, उपचार अझै पूरा नभएकाले थप ठूलो रकम आवश्यक परेको उनको भनाइ छ ।
पेसाले मिस्त्री रहेका एन्जिलिकाका बुबा दीपकको दैनिक ज्यालाबाट घरखर्च चलाउनै मुस्किल छ । आमा सुमित्रा भने छोरीको हेरचाहमा घरमै बस्दै आएकी छन् । तीन वर्षका भाइसमेत रहेकी एन्जिलिका अहिले उपचारको पर्खाइमा तड्पिएकी छिन् ।
कलिलो उमेरमै गम्भीर रोगसँग जुधिरहेकी एन्जिलिकालाई समयमै थप उपचार गराउन परिवारले सहयोगको अपेक्षा गरेको छ । आर्थिक अभावका कारण बालिकाको उपचार प्रभावित भइरहेकाले सहयोगी मन र संघसंस्थाको साथ आवश्यक देखिएको छ ।