झापा । झापामा दुई दिनको अन्तरालमा करिब ४० लाख बराबरको भारतीय फुल नष्ट गरिएको छ । दुई दिन अगाडि २५ लाख बढीको भारतीय फूल नष्ट गरेको सशस्त्र प्रहरीले फेरि मंगलबार १४ लाख बढीको भारतबाट आयातित फूल नष्ट पारेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापा तथा मातहत कार्यालयबाट खटिएको टोलीले जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको फूल बरामद गरेको थियो । बरामद फूलका माला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टाइन, जनप्रतिनिधि, उद्योग वाणिज्य संघको प्रतिनिधिसहितको उपस्थितिमा नष्ट गरिएको हो ।
झापाको केचना, भद्रपुर र काँकरभिट्टालगायतका सीमावर्ती क्षेत्रहरूबाट सुरक्षा चेकजाँचका क्रममा ती फूलका मालाहरू बरामद गरिएको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापाले “चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३” अन्तर्गत सीमावर्ती इलाका तथा अन्य स्थानहरुमा अप्रिय घटना हुन नदिन स्रोत साधनसहितको प्रविधियुक्त सुरक्षा तैनाथीलाई सक्रिय बनाएको छ । गणले नेपालीहरुको महान पर्व तिहारलाई निर्धक्कका साथ उल्लासमय वातावरणमा मनाउन समेत अनुरोध गरेको छ । कुनै पनि समस्या परेमा वा आपत विपदमा परेका नागरिकहरुलाई सहयोगका लागि सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नम्बर १११४ र ९८५१२७२१२५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
दुई दिनअघि सशस्त्र प्रहरी बल, नेपालले भद्रपुरबाट २५ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको थियो ।