दमक/दमकलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडा नं. २ को हंसे दुम्से सामुदायिक वन क्षेत्रमा बहुउद्देश्यीय पार्क बनाउन प्रारम्भिक छलफल र गृहकार्य भइरहेको छ । बुधबार मात्र दमक नगरपालिकाले परामर्शदातृ संस्थाले तयार पारेको प्रतिवेदनमा स्थानीय सरोकारवालाहरुको राय सुझावका लागि संक्षिप्त छलफल तथा बैठक गरेको छ । बैठकले सो वन क्षेत्रको करिव ५० विगाह क्षेत्रफल जग्गामा वन मन्त्रालयको स्वीकृति लिएर पार्कका लागि विभिन्न संरचनाहरु बनाउनेगरी प्रतिवेदन तयार पार्न सुझाव दिएको छ ।
हंसे दुम्से सामुदायिक वन क्षेत्र एक हजार विगाह क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा दृश्यावलोकनका लागि मोनोरेलको समेत व्यवस्था गर्ने योजना रहेको छ । दमक नगरपालिकाका मेयर रामकुमार थापाले बहुउद्देश्यीय पार्क बनाउने कुराका लागि विगत केही वर्षदेखि विज्ञहरुसँग समेत सुझाव लिई प्रतिवेदन नेपाल सरकारलाई बुझाइएको जानकारी गराए । बैठकमा दमक उपमेयर रेगिना भट्टराई प्रसाईले सो पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन सहित संभाव्यता अध्ययन गरी अनुदान या सहुलियत ऋण जुटाउन नगर विकास कोष सँग पनि प्रारम्भिक कुराकानी भएको बताइन् । मेयर थापाले भने दमकको विकास र समृद्धिका लागि बहुउद्देश्यीय पार्कको सपना एउटा महत्वको वृहत योजना भएको र यसलाई पूरा गर्दा दमकलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए ।
बहुउद्देश्यीय पार्कमा भुटानी शरणार्थीको सम्पदा संरक्षण, रमाइलो पोखरी, संग्रहालय, चिडियाखाना, बालमैत्री उद्यान या पार्क, बगैंचा, गोर्खा स्मारक, शिव या पाथीभरा मन्दिर, वनभोज स्थल, खुला व्यायामशाला, साहसिक खेल, तालिम केन्द्र तथा गोष्ठी हल, क्याफे तथा रेष्टुरेन्ट, होमस्टेको व्यवस्था, सार्वजनिक शौचालय, मनोरञ्जन स्थल, खानेपानीको व्यवस्था, सडक बत्ती तथा बिजुलीको पर्याप्त व्यवस्था, जैविक विविधिताको संरक्षण गरिने योजना रहेको छ । हाल त्यहाँ प्रवेश द्वार, मौसमी पोखरी, मन्दिर र शौचालय लगायतका केही संरचनाहरु रहेका छन् ।
बहुउद्देश्यीय पार्क दमकको एउटा महत्वाकांक्षी योजनाका रुपमा रहेको र यसबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने भएकाले सरोकारवाला हरुले विशेष चासोका साथ हेरेका छन् । बुधबारको बैठकमा वडाध्यक्षहरु, स्थानीय टोल विकास समितिका प्रतिनिधि हरु, नगरपालिका कर्मचारी, राजनीतिकर्मी, पत्रकारहरु, इन्जिनियरहरु लगायताको सहभागिता रहेको थियो ।