राजनीतिको मैदानमा सफलता र असफलता दुवै स्वाभाविक छन् । तर असफलताले कसैको आत्मविश्वास कति कमजोर बनाउँछ र कसैको आत्मबल कति बलियो बनाउँछ भन्ने कुरा व्यक्तिको सोच र संस्कारले निर्धारण गर्छ । दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई प्रसाईं त्यस्तै पात्र हुन्, जो राजनीतिक यात्रामा केही पीडा बोकेर पनि सम्भावनाका ढोकाहरू बन्द भएको ठान्दिनन् । जिम्मेवारीबाट पछि नहट्ने र अवसर फेरि आउने विश्वास राख्ने उनको स्वभावले उनलाई केवल राजनीतिज्ञका रूपमा मात्र होइन, बहुआयामिक महिलाका रूपमा चिनाउँछ ।
बिहानदेखि साँझसम्मका जिम्मेवारी एउटै व्यक्तिका लागि पनि कम हुँदैनन् । तर उनकालागि सार्वजनिक जिम्मेवारी, व्यावसायिक गतिविधि, अध्ययन र पारिवारिक दायित्व जीवनका अलग(अलग पाटा होइनन्, सँगसँगै अघि बढिरहेका यात्राहरू हुन् । स्थानीय सरकारको जिम्मेवारी सम्हाल्दै व्यवसायमार्फत रोजगारी सिर्जना गर्ने र उच्च शिक्षाको तयारीलाई निरन्तरता दिने उनको प्रयासले व्यस्तताबीच पनि आफ्नो लक्ष्य नछाड्ने महिलाको कथा प्रस्तुत गर्छ ।
राजनीतिलाई नजिकबाट बुझ्ने अवसर उनलाई विद्यार्थी जीवनदेखि नै मिल्यो । राजनीतिक परिवेशमा हुर्किएकी रेगीना भट्टराई प्रसाईका लागि उनका पिता केवल अभिभावक मात्र रहेनन्, राजनीतिक यात्राका प्रेरणास्रोत पनि बने । तर पारिवारिक राजनीतिक विरासतले मात्र उनको परिचय पूरा गर्दैन । नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा, व्यवसायमा संलग्नता, शिक्षा र दमक नगरपालिकाको उपप्रमुखका रूपमा निर्वाह गरिरहेको जिम्मेवारीले उनको आफ्नै पहिचान निर्माण गरेको छ ।
रेगिनाको परिचय एउटा जनप्रतिनिधिमा मात्र सीमित छैन । विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी शिक्षा, व्यवसाय, सामाजिक सेवा र पारिवारिक जिम्मेवारीलाई एकसाथ अघि बढाइरहेकी महिला हुन् । उनी विद्यावारिधि (पीएचडी) को अन्तिम तयारीमा समेत जुटिरहेकी छन् । तर, स्थानीय सरकारमा काम गर्ने क्रममा उनले अनुभूत गरेका चुनौती र कार्यान्वयन हुन नसकेका योजनाहरूले उनको कार्यकाललाई उपलब्धि र अधुरा सपनाको मिश्रित कथा बनाएका छन् ।
बुधबार बिहान उनको निवासमा चियाको चुस्कीसँगै भएको कुराकानीमा रेगिनाले आफ्नो कार्यकालका अनुभव, स्थानीय विकासका प्राथमिकता र आगामी नेतृत्वप्रतिको अपेक्षा खुलस्त राखिन् ।
संघीय संरचनामा स्थानीय तहले नागरिकका समस्या नजिकबाट समाधान गर्ने अवसर पाएको उनको बुझाइ छ । उपप्रमुखको संवैधानिक जिम्मेवारीले महिलाको सशक्तीकरण, न्यायिक निरूपण, राजस्व व्यवस्थापन र अनुगमनजस्ता क्षेत्रमा काम गर्ने अवसर दिएको छ । उनले आफ्नो जिम्मेवारीमा रहेका समितिहरूमार्फत काम गर्ने प्रयास गरिन् । तर, कार्यपालिकाभित्रको राजनीतिक समीकरण र समन्वयको अभावले आफूले सोचेजति काम गर्न नसकेको उनको गुनासो छ ।
“स्थानीय सरकार अल्पमत र बहुमतको आधारमा मात्रै चल्नु हुँदैन । समन्वय, सहमति, सहकार्य र एकअर्काको अस्तित्व स्वीकारेर अघि बढ्नुपर्छ,” उनी भन्छिन् ।
नगरप्रमुखसँग पारिवारिक सम्बन्धसमेत रहेकाले व्यक्तिगत सम्मान र संस्थागत जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्ने अवस्था आएको उनले बताइन् । आफूले अघि सारेका कतिपय योजना र कार्यक्रमले अपेक्षित सहयोग नपाएको उनको अनुभव छ । विषयगत समितिहरूमा पर्याप्त सहभागिता नपाएको र केही बैठकमा आफ्नो भूमिकालाई सीमित महसुस गरेपछि काम गर्ने उत्साहमा असर परेको उनी सुनाउँछिन् ।
तर, उनी दमकमा भएका विकासका कामलाई अस्वीकार गर्दिनन् । सामुदायिक विद्यालयका भौतिक संरचना, सडक, भवन तथा शिक्षा स्वास्थ्य क्षेत्रमा प्रगति भएको उनको स्वीकारोक्ति छ । यद्यपि, विकासलाई सडक र भवन निर्माणमा मात्रै सीमित राख्न नहुने उनको धारणा छ । करिब डेढ अर्ब रुपैयाँको बजेट रहेको दमकमा साना शीर्षकमा रकम छर्नेभन्दा दीर्घकालीन परिणाम दिने योजनामा बजेट केन्द्रित गर्नुपर्ने उनी बताउँछिन् ।
उनका योजनाहरूमा बालबालिकाको भविष्य सुरक्षित गर्ने सोच विशेष छ । दमकमा जन्मिने बालबालिकाको जन्मदर्तासँगै बैंक खाता खोलेर नगरपालिकाले प्रारम्भिक रकम जम्मा गरिदिने र परिवार, बैंक तथा बीमासँगको सहकार्यमा बचत बढाउँदै लैजाने उनको प्रस्ताव थियो । यसले बालबालिकालाई उच्च शिक्षा वा भविष्यमा स्वरोजगार बन्न सहयोग पु¥याउन सक्ने उनको विश्वास छ । योजना दस्तावेजमा समेटिए पनि कार्यान्वयनमा आउन नसकेकोमा उनलाई खिन्नता छ ।
त्यस्तै, महिलालाई चारदेखि छ महिनासम्म सीपमूलक तालिम दिएर रोजगारी र उद्यमसँग जोड्ने, बैंकसँग सहकार्य गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने र प्रारम्भिक ब्याज नगरपालिकाले व्यहोर्ने कार्यक्रम पनि उनको प्राथमिकतामा थिए । तालिम दिएर मात्रै नहुने, त्यसलाई आयआर्जनसँग जोड्नुपर्ने उनको तर्क छ ।
नगरवासीको दैनिक जीवन सहज बनाउने विषयमा पनि उनीसँग अनेक योजना छन् । टाढाका वडामा एम्बुलेन्स र शववाहनको व्यवस्था, ज्येष्ठ नागरिकका लागि भेटघाट तथा विश्रामस्थल, स्थानीय उत्पादन बिक्रीका लागि रैथाने बजार, नगरभित्र विद्युतीय सवारी सञ्चालन र सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने प्रस्ताव उनले अघि सारेकी छन् । नगरपालिकामा सेवाग्राहीमैत्री प्रतीक्षास्थल, खानेपानीको सहज व्यवस्था र डिजिटल माध्यमबाट छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकतासमेत उनले औँल्याएकी छन् ।
आफ्नो कार्यकालमा केही व्यवस्थापकीय सुधार गर्न सकेको उनी बताउँछिन् । नगरपालिकामा फिल्टर पानीको व्यवस्था गरेपछि पानीको बिलमा उल्लेख्य कमी आएको उनको अनुभव छ । यस्ता साना सुधारले पनि सार्वजनिक खर्च घटाउन र सेवा प्रभावकारी बनाउन सकिने उनको बुझाइ छ ।
यति धेरै योजना हुँदाहुँदै कार्यान्वयन गर्न नसकेको पीडा उनीसँग छ । तर, उनी त्यसलाई अन्तिम हार मान्न तयार छैनन् । राजनीतिक यात्रामा अपेक्षाअनुसार अवसर नपाए पनि अनुभवलाई आगामी दिनका लागि उपयोग गर्न सकिने उनको विश्वास छ ।
उपप्रमुखको जिम्मेवारीपछि नगरप्रमुख बन्ने आकांक्षा स्वाभाविक भएको स्वीकार गर्दै सुझबुझले मात्र अब नचल्ने बताउँछिन । उनी नेतृत्वमा योग्यता, क्षमता, अध्ययन, अनुभव र समर्पण आवश्यक रहेको बताउँछिन् । अबको नेतृत्वले भौतिक विकाससँगै मानव विकास, रोजगारी र प्रविधिमैत्री सेवामा ध्यान दिनुपर्ने उनको सुझाव छ । राजनीतिक यात्रामा चुनौती भोगे पनि रेगिनाको दृष्टि आगामी पुस्तातर्फ छ । “युवा पुस्ता आउनुपर्छ । उनीहरूले यस्ता विषयलाई ध्यान दिनुपर्छ । आवश्यक परे म सहयोग गर्न तयार छु,” उनी भन्छिन् ।
अधुरा योजनाको पीडा बोकेर पनि सम्भावनाको ढोका खुलै राख्ने उनको यही सोचले एउटा सन्देश दिन्छ(पदको अवधि सकिन सक्छ, तर समाजका लागि केही गर्ने हुटहुटी सकिनु हुँदैन ।
– प्रस्तुति ः खगेन्द्र कार्की